भिमसेन मन्दिर पुनर्निर्माणको लागि समिति माथि समिति



नेपाल समाचारपत्र, ललितपुर ।

ललितपुरको भिमसेन मन्दिर पुनर्निर्माणका लागि अर्को समिति गठन गरिएको छ ।

यस अघि बृहतस्तरमा गठित भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिका सदस्यहरुलाई घटाएर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको अध्यक्ष ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन रहनुभएको छ ।

संघले भूकम्प गएको डेढ वर्षदेखि भिमसेन मन्दिर पुनर्निमाणको जिम्मेवारी दिन संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालय, पुरात्तत्व विभागसमक्ष ध्यानाकर्षण गर्दै आएको पृष्ठभूमीमा संघका अध्यक्ष महर्जनको अध्यक्षतामा सो समिति गठन गरिएको हो ।

पुनर्निर्माण कार्य शुरु गर्नका लागि संघले ‘सीड मनी’का रुपमा १० लाख राख्ने घोषणा गरिसकेको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आर्थिक सहयोग गर्ने प्रतिबद्धता पटक पटक व्यक्त गर्नुभएपनि सहयोगको रकम तोक्नुभएको छैन ।आर्थिक सहयोगका लागि संघले महानगरपालिकामा पत्राचार गरिसकेको छ ।

समितिको उपाध्यक्षमा किरणमान प्रधान, सदस्य सचिव मनोजबहादुर न्याच्छ्यो,कोषाध्यक्ष हरिनरसिंह अमात्य सदस्यहरु डा. रोहित रंञ्जितकार, दिलेन्द्रराज श्रेष्ठ र जितेन्द्रबहादुर राजभण्डारी रहनुभएको छ।बाँकीमा महिलाहरु राखेर समितिलाई पूर्णता दिने बुझिएको छ ।

मंगलबार ललितपुर उद्योग वाणिज्य संघमा आयोजित एक भेलामा अध्यक्ष महर्जनले तर्दथ समितिको घोषणा गर्नुभयो । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बोलाउनुभएको सो भेलामा पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, पुरातत्व विभागका कामु निर्देशक दामोदर गौतम, ललितपुर महानगरपालिका –१२ का वडाअध्यक्ष नारायणलाल अवाले र –१६ का वडाअध्यक्ष निर्मलरत्न शाक्य लगायतको उपस्थिति रहेको थियो ।

यस अघि ज्यापू समाज, ताम्रकार समाज, बौद्ध विहार संघ, स्यःस्यः समाज, ललितपुर महानगरपालिका–१२ र १६ का जनप्रतिनिधि, संघका पूर्वअध्यक्षहरु, उद्योगी व्यवसायी, सम्मिलित समिति गठन गरिएको थियो ।तदर्थ समिति घोषणामा यस अघिको समितिमा रहेका दुई जना वडाअध्यक्ष बाहेक अन्य सदस्यहरुलाई बोलाइएको थिएन । महानगरपालिकाले आहवान गरेको भनिएको भेलाबारे आफूलाई जानकारी नभएको ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले बताउनुभयो ।

‘काम गर्न सहज हुने गरी सचिवालयको रुपमा तर्दथ समिति गठन गरिएको हो ।बैकं खाता खोल्न, पत्र व्यवहार गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा दर्ता गर्नुपर्ने भएकोले पनि तर्दथ समिति गठन गरिएको हो ।’ अध्यक्ष महर्जनले भन्नुभयो ‘ त्यसैले यसलाई समिति माथि अर्को समिति गठन गरेको रुपमा बुझ्नुहुन्न ।तदर्थ समिति यस अघि गठन गरिएको समितिकै सानो रुप हो । यसबाट उहाँहरु अलग हुनुहुन्न ।’

प्रतिक्रिया दिनुहोस्