मालपोत कर्मचारीको मिलेमतोमा करोडौँको जग्गा किर्ते



विमल विष्ट, काठमाडौं
मालपोत कार्यालय चावहिलका कर्मचारीको मिलेमतोमा नक्कली व्यक्ति खडा गरी अर्काको जग्गा दर्ता गरेको आरोप पिडीत पक्षले लगाएको छ । साबिकको चपली भद्रकाली गाविस–७ को कित्ता नम्बर २६ को जग्गाधनी गणेशलाल मानन्धरको नाममा जग्गा पास हुनुपर्नेमा मालपोतका कर्मचारीको मिलेमतोमा अर्कै व्यक्तिको नाममा जग्गा धनी प्रमाण पुर्जा बनाइएको आरोप पीडित पक्षले लगाएको छ ।

चावहिल मालपोत कार्यालयका कार्यालय प्रमुख पदमप्रसाद अर्याल, नायब सब्बा सुरेन्द्र तामाङ तथा खरिदार लक्ष्मण बस्नेतले २५ लाख रकम घूस लिएर श्रेता नै सच्चाएर अर्को नक्कली व्यक्ति खडा गरी जग्गा दर्ता गराएको उजुरी समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको छ ।

यसरी नक्कली व्यक्ति खडा गरी जग्गा हडपेको भन्दै सक्कली जग्गा धनीले आयोगमा उजुरी दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यही पुस ८ गते दर्ता भएको दर्ता नं. ११७१५ को उजुरीमा मालपोत कार्यालय चावहिलका तीन जना कर्मचारीले नक्कली व्यक्ति खडा गरी लालपुर्जा बनाएकाले कारबाहीको माग गरिएको छ ।

साविकको चपली भद्रकाली गाविस–७ को कित्ता नम्बर २६ को जग्गामा सर्वोच्च अदालतबाट गएको साउन ३० गते भएको फैसलाबामेजिम जग्गा दर्ता गराउनुपर्नेमा सम्बन्धित व्यक्तिले छानविन गरेर मात्रै जग्गा दर्ता प्रक्रिया अघि बढाउन निवेदन दर्ता गरिसकेको अवस्थामा मालपोत कार्यालयका तीन जना कर्मचारीको विशेष पहलमा गैरकानुनी काम भएको उजुरीमा उल्लेख गरिएको छ ।

चावहिल मालपोतका कार्यालय प्रमुख अर्याल, नासु तामाङ तथा खरिदार बस्नेतले २५ लाख रकम घूस लिएर श्रेस्ता नै सच्चाएर अर्को व्यक्तिको नाममा उक्त जग्गा दर्ता गरेको उजुरीमा उल्लेख गरिएको छ ।

यसरी मिलेमतोमा कार्यालयको श्रेस्ता नै सच्चाएर दुई तीन महिना बेपत्ता पारिएको तथा व्यहोराहरु कोतरेर मेटाई नक्कली व्यक्ति खडा गरी उनीहरुले बनाएको कीर्ते जग्गाधनी पुर्जा अनुसार मिलाएर कुनै छानविन नगरी वास्तविक जग्गाधनी गणेशलाल मानन्धरको नाममा हुनुपर्नेमा काठमाडौं महानगरपालिका–२३ झोछेंका जितबहादुर मानन्धर र उमा मानन्धरका नाममा दर्ता गरिएको आरोप लगाइएको छ ।

उमा मानन्धर र जितबहादुर मानन्धरका नाममा बनाइएको जग्गाधनी प्रमाण पुर्जा र जग्गाको मोेठ पाना छानविन गर्न माग गर्दै उजुरी गरेको पीडित जग्गा धनीका तर्फबाट वारेस बसेकी पार्वती सिंह ठकुरीले निवेदन दर्ता गराउनुभएको छ ।
पैसाकै भरमा रातारात मालपोत कार्यालयका कर्मचारी तीनै जनाको मिलेमतोमा करोडौं मूल्य पर्ने उक्त जग्गा जितबहादुर र उमा मानन्धरका नाममा दर्ता गराएको ठकुरीले आरोप लगाउनुभयो ।

‘जग्गा गणेश मानन्धरको हो भन्दा भन्दै पनि नक्कली व्यक्ति खडा गरेर कर्मचारीले अर्कोको नाममा लालपुर्जा बनाए’, उहाँले भन्नुभयो– ‘पीडित जग्गाधनीलाई न्याय कसले दिने ।’ नक्कली व्यक्ति खडा गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने मालपोत कार्यालयका कर्मचारीलाई कारबाहीका लागि विभिन्न निकायमा पुग्दा समेत आफूहरुलाई न्यान नमिलेको र छानविन पनि नभएको पीडित भनिएका पक्षले आरोप लगाएको छ ।

यस विषयमा मालपोत कार्यालय चावहिलका कार्यालय प्रमुख अर्यालसँग सम्पर्क गर्दा उहाँले आफूहरुले रकम खाएको भन्ने सरासर गलत भएको र सर्वोच्च अदालतले जसको पक्षमा भारी प्रमाण भेटिन्छ उसैका नाममा दर्ता गर्नु भन्ने आदेश दिएकाले प्रमाण भारी भएकाको पक्षमा जग्गाधनी प्रमाण पुर्जा बनाइएको दाबी गर्नुभयो ।

‘उक्त जग्गाका विषयमा तीनै पक्षलाई कार्यालयमा बोलाई छलफल गरेर पुर्जा बनाएका छांै’, उहाँले भन्नुभयो– ‘हाम्रो निर्णय मात्रै अन्तिम फैसला होइन चित्त नबुझे ३५ दिनभित्र अदालत जानु भनेर प्रस्ट लेखेका छांै, चित्त नबुझे अदालत गए हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्