अमेरिकामा अपराध नेपालमा लुकिछिपी बसोबास



नेपाल समाचारपत्र विशेष संवाददाता, बोस्टन, अमेरिका ।
यहाँको एक अदालतले नेपाली मूलका अमेरिकी नागरिकले बालिकालाई वर्षौंसम्म पटक–पटक बलात्कार गरेको अभियोग लगाएको छ । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

उक्त मुद्दा हेर्ने सरकारी वकिलका अनुसार बोस्टनको एभरेट टाउनमा बस्ने ४६ वर्षीय अभियुक्त नवराज कोइरालाले एक बालिकालाई ९ देखि १४ वर्षको उमेरमा पटक–पटक बलात्कार गरी ज्यान मार्ने र यो कुरा अरुलाई भनेमा सबै परिवारलाई मारी आफू पनि मर्ने धम्की दिँदै आएका छन् ।

बोस्टनस्थित म्यासाच्युसेट्स सुपेरियर कोर्ट उबर्नमा बसेको तीनदिने ११ सदस्यीय जुरीले गत जुलाई ७ मा एक निर्णय गर्दै अभियुक्तलाई तुरुन्त कोर्टमा उपस्थित गराउन आदेश दिएको छ । तर यसअघि प्रहरीसँग आफ्नो कर्तुत पुगेको शंका पाउनासाथ अभियुक्त नेपाल भागेको बताइएको छ ।

अदालतबाट हालै जारी सार्वजनिक सूचना (जुन यहाँको समर्भिल विक्ली न्युज पपेरमा समेत प्रकाशित छ) का अनुसार कोइरालाले बालिकालाई कठोर यातनासहित जबरजस्ती बलात्कार गरेको, १४ वर्षभन्दा कम उमेरकी बालिकालाई संघातिक आक्रमण र हमला गरेको, कोर्टको आदेश उल्लंघन गरेकोजस्ता संगीन आरोप लगाइएको छ ।


प्रहरी अनुसन्धान, अदालती प्रक्रिया र जुरीको निर्णयजस्ता कुरालाई बोस्टनस्थित पीडित परिवारले पनि यो संवाददातासँग कुरा गर्दै स्वीकार गरेको छ । परिवारका सदस्यहरूले अभियुक्त भागे पनि एक दिन आफूहरूले न्याय पाउने आशा व्यक्त गरेका छन् । यो मुद्दाको सम्पूर्ण जिम्मा जिल्ला सरकारी अटरनीको कार्यालयले लिएको पारिवारिक स्रोतले जनाएको छ ।

हाम्रा विशेष संवाददाताले सरकारी अटरनी मेघन म्यकार्थीलाई सम्पर्क गर्दा घटनाको सत्यतालाई स्वीकार गर्दै अदालतको निर्णय र आरोपलाई इमेलमार्फत पुष्टि गरेकी छन् ।

सुपेरिअर कोर्ट र एभरेट प्रहरीले वारेन्ट जारी गर्नुभन्दा अगाडि नै आफ्नो जघन्य अपराधको अनुसन्धान हुँदै गरेको सुइँको पाउनासाथ गत नोभेम्बरको अन्त्यमा अभियुक्त न्युयोर्कदेखि दिल्ली उडेको प्रहरी अनुसन्धानमा देखिएको छ । अमेरिकी नागरिक निज अभियुक्त दिल्लीबाट स्थल मार्ग हुँदै बिनाभिसा नेपाल प्रवेश गरेको र करिब ११ महिना बिनाभिसा नेपालमा लुकेर बसेको बताइएको छ । निज अभियुक्तले नेपालमा पनि अन्य दुई जघन्य अपराध गरेको अनुसन्धानबाट देखिएको छ ।

लिखित रुपमै अपराध स्वीकार
२०१७ अक्टोरमा प्रहरीले अनुसन्धानका क्रममा निज कोइरालालाई एक वर्षसम्म पीडित र उनको परिवारलाई भेट्न नपाउने गरी अदालतले रिस्ट्रिनिङ अर्डर दिएको थियो ।

यो बेला उनले पीडित बालिकाको आमालाई एउटा लामो म्यासेज पठाउँदै आफ्नो गल्ती स्वीकारसहित जीवनदान माग्दै कोर्टमा मुद्दा नहाले १ लाख डलर नगद दिने र आफू नेपाल गएर बस्ने प्रलोभन दिएका थिए । यो पत्रको प्रतिलिपि नेपाल समाचारपत्रलाई प्राप्त भएको छ । म्यासेजको कुनै जवाफ नपाएपछि उनी २ हप्तामा नेपाल भागेको कुरालाई बोस्टन प्रहरीले गतिलो सबुत मानेको छ ।

नेपालमा अवैध बसाइ
नेपालमा अध्यागमन विभागका अनुसार उनी सन् २०१५ मा मात्र वैधानिक रुपमा नेपाल प्रवेश गरेको देखिन्छ । सन् २०१७ मा २ पटक नेपाल गए पनि स्थलमार्गबाट बिनाभिसा गएकाले कुनै अभिलेख देखिएको छैन । जबकि नेपाल जानासाथ एक हप्ताभित्र उनले धोकापूर्ण विवरण दिएर गत डिसेम्बरको पहिलो हप्ता आफूभन्दा २५ वर्ष कान्छी शर्मा थरकी एक महिलासँग मन्दिर गई विवाह गरेका थिए ।

उनको खोजी हुने र अवैध बसेको पाइए देशनिकाला हुने एक अध्यागमन अधिकारीले बताए । समाचार स्रोतका अनुसार न्युयोर्कस्थित एक वकिलले नेपाल सरकारसमक्ष निज कोइरालाको अध्यागमन र सुपुर्दगी प्रक्रियाका लागि दुवै देशका सरकारी निकायमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन लागिएको छ ।

धोकापूर्ण विवाह
अभियुक्त नवराज कोइरालाले अमेरिका लैजाने सर्तमा अपर्झट गरेको विवाह हाल धोका सावित भएको दुलही पक्षले ११ महिनापछि महसुस गरेको छ । उक्त विवाहको न त दर्ता भएको छ न त अमेरिकाका लागि भिसा निवेदन दिइएको छ । निज शर्मा हाल ८ महिनाकी गर्भवती छिन् ।

अमेरिकामा पूर्वपत्नी श्रीजा कोइरालाले दिएको सम्बन्धबिच्छेदको प्रक्रिया पूरा नहुँदै नेपालमा भएको यो विवाह कानुनी रुपमा अर्को दण्डनीय अपराध हो । श्रीजाका वकिलले नेपालमा बहुविवाहको मुद्दा दिन लागेको बताइएको छ । स्याङ्जा र बुटवलबाट आएको शर्माको परिवारसँग अभियुक्त काठमाडाँै बसेको समाचार स्रोतको दाबी छ ।

अब के हुन्छ ?
निज अभियुक्तले प्रहरीसित आत्मसमर्पण गरेर अदालतमा उपस्थित हुनुको विकल्प नभएको कानुनविद्हरू बताउँछन् । बलात्कारको मुद्दा नेपाली अदालतमा समेत दिने पीडित पक्षको भनाइ छ । महिला तथा बाल अधिकारकर्मीले दुवै देशका सरकार, प्रहरी र इन्टरपोलसमक्ष यो मुद्दा लैजान लागेको बुझिएको छ ।

अमेरिककाको मौजुदा कानुनअनुसार यो केश प्रथम डिग्रीको बाल बलात्कार हो, जसको सजाय आजन्म कैद हुन्छ । बलात्कार र पीडाका पटक गणना गरी यस्ता घटनामा आजन्ममा थप जोडी साठीदेखि असी वर्षसम्म सजाय हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

अर्को मुद्दा
अमेरिकाको सम्बन्धबिच्छेद, सम्पत्ति बाँडफाँड र बालबच्चाको भरणपोषण प्रक्रियाको टुंगो नलगाई भागेकाले पूर्वपत्नीले आधा सम्पत्तिका लागि क्याम्ब्रिज फेमिली कोर्टमा मुद्दा हालेकी छन् ।

सम्पत्ति खोजविनका क्रममा निजले पत्नी समेतको संयुक्त खातामा भएको बैंक ब्यालेन्स र शेयर किर्ते सही गरी एक एसियाली बैंकमार्फत भाइ सुरेन्द्रकुमार कोइरालाको नाममा १ लाख ८० हजार अमेरिकी डलर ट्रान्सफर गरेको देखिएको छ । सुरेन्द्र त्रिचन्द्र कलेज पढाउँछन् ।

वकिलका अनुसार अभियुक्तले परिवारलाई एक पैसा पनि छाडेका छैनन् । विराटनगर–११ मधुमारा र फत्तेपुर सप्तरीमा घर भएका निज अभियुक्त डीभी लटरीमा २००८ मा अमेरिका आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्