सूचना, सञ्चार र पत्रकार संहिता



????????????????????????????????????

फणीन्द्र फुयाल ज्वाला
सञ्चार भन्नेबित्तिकै एक व्यक्ति वा समूहसम्म बोली, शब्द, संकेत, चिह्न, लिपि, अंक, इशारा वा अन्य कुनै प्रकारले विचार, धारणा एवम् जानकारी आदानप्रदान गरिने प्रक्रिया भन्ने बुझिन्छ । प्रस्टरुपमा भन्नुपर्दा सामाजिक परिवर्तन सञ्चारकै कारण सम्भव हुन्छ भन्ने बुझिन्छ । पुरातन युगबाट आधुनिक सूचनाको युगम्मको सामाजिक परिवर्तनको मुख्य कारण भनेकै सञ्चार हो । निरन्तररुपमा सञ्चार प्रक्रियाको विकास भएको कारणले नै आजको अवस्थामा मानवसमाज यो अवस्थासम्म आइपुगेको हो । सामाजिक परिवर्तन तथ्य, विचार, धारणा र सूचनाको विनिमयविना असम्भव हुन्छ ।

सञ्चारलाई विभिन्न दृष्टिबाट हेरिएको छ । यी सबै दृष्टिकोण कुनै न कुनै रुपमा सामाजिक परिवर्तनसँग सम्बन्धित छन् । सूचना साझेदारी वा सन्देश आदानप्रदान प्रक्रिया, मानव क्रियाकलाप, ज्ञानको एक विधा, एक पेसा, एक उद्योग आदि दृष्टिकोणहरु हुन् । सञ्चार एउटा प्रक्रिया हो । यो प्रक्रिया पूर्णतया सामाजिक परिवर्तनसँग सम्बन्धित छ, जसका आफ्नै पूर्वसर्तहरु विद्यमान् छन् । साझा सञ्चार वातावरण, प्रेषक र प्रापकबीच सहकार्य, माध्यमको चयन, सन्देश वा सूचनाको उपयुक्त संकेत वा अभिव्यञ्जन र प्रतिसंकेतन वा बोध, अपेक्षित प्रतिक्रियाको प्राप्ति यी आदि कारणले नै सामाजिक परिवर्तन हुनपुग्छ ।

एकठाउँको खबर अर्को ठाउँमा पु¥याउन तथा जनसमुदायलाई कुनै सूचना दिनका लागि प्राचीन कालमा कुनै व्यक्ति विशेषलाई जिम्मा दिइने कटुवाल प्रथा रहेको थियो । साथै मानिसहरुको ध्यानाकर्षण गर्नका लागि ढोल, दमाहा, नगरा, झ्याली बजाउने प्रचलन रहेको थियो । परेवा तथा घोडालाई तालिम दिई एकठाउँको खबर अर्को ठाउँमा पु¥याउने कार्यमा तिनीहरुको प्रयोगसमेत गरिन्थ्यो । हाम्रो देशमा पृथ्वीनारायण शाहले नेपालको एकीकरणको बेलामा गन्धर्व (गाइने) हरुको माध्यमबाट राष्ट्रिय एकताको सन्देश प्रभावकारी तवरले प्रवाह गरेका थिए । लोक सञ्चार माध्यमअन्तर्गत अझै पनि सत्यनारायणको पूजा, तीज आदि पर्वहरुमा गीत तथा श्लोकमार्फत सन्देश प्रवाह गरिँदै आएको छ ।

सूचना लेखी सार्वजनिक स्थलमा टाँसेर पनि जनसमुदायलाई सूचित गर्ने प्रयास गरिन्थ्यो । यसै गरी मठमन्दिरहरुमा काष्ठकलाको प्रयोग गरी, ढुंगामा शिलालेख लेखी सन्देश दिने हाम्रो पुरानै सञ्चार शैली हो । यी सबै सञ्चारका परम्परागत वा पुराना तरिकाहरु हुन् । आधुनिक मानवसमाजमा नयाँ–नयाँ प्रविधिसँगै सञ्चारका साधनहरु पनि विकसित हुँदै गए ।

आज हामीसँग सञ्चारका लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन, सामाजिक सञ्जालजस्ता साधन रहेका छन् । भूउपग्रह, उपग्रह, कम्प्युटर, अप्टिकल फाइबर आदिले गर्दा सञ्चार सुविधा पहिलेभन्दा अझ बढी छिटोछरितो र सहजसमेत बनेको छ । वास्तवमा मानिसले समय र दूरीको अवरोधलाई प्रविधिको उपयोगबाट जित्ने प्रयास गरिरहेको छ । विश्वभरका घटना विवरण तत्काल घरमै बसी–बसी हेर्न र सुन्न सकिएको छ ।

यति बेला संविधानको प्रस्तावनामा नै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता कायम गर्नका लागि र खोसिन लागेको सूचनाको हक जोगाउनका लागि आमनेपाली पत्रकारहरु आन्दोलित छन् ।

यसरी आपसी सम्पर्क व्यापक मात्रामा हुन सकेकाले विश्वबन्धुत्व भावनामा समेत वृद्धि भई विश्वग्राम (ग्लोबल भिलेज) को अवधारणालाई बल पुगेको छ र सार्थकता पनि भएको छ । सञ्चार क्षेत्रमा भएका नयाँ–नयाँ परिवर्तनले हरेक देशको संस्कृतिमाथि प्रभाव पारिरहेको छ । सञ्चारका साधनको उपलब्धताले मानिसको दिनचर्या नै बदलिएको छ । आजभन्दा केही वर्षअघि र अहिलेको मात्रा तुलना गर्ने हो भने पनि यो परिवर्तन स्पष्टसँग देखिन्छ । सञ्चारमाध्यमको व्यावसायिक पक्षले पनि आधुनिक मानवसमाजमा ठूलो महत्व पाएको छ । सञ्चारकै कारण असीमित रोजगार प्राप्त भएको छ । वर्तमान युगमा सूचना नै वास्तविक सम्पत्ति हो । सञ्चारलाई जीवनपद्धति नबनाई सुखै छैन ।

पत्रकारिता र आमसञ्चारमाध्यमको विकासक्रमसँगै विकास पत्रकारिताको पनि शुरुआत भयो । यालन चक्लीलाई विकास पत्रकारितको पिता मानिन्छ । उनले विकास पत्रकारितासम्बन्धी आफ्नो धारणा यसरी व्यक्त गरेका छन्, ‘विकासबारे आमसञ्चारका माध्यमहरुले लेख्ने प्रक्रिया प्रारम्भिक चरणमा छ । पत्रपत्रिका, रेडियो, टेलिभिजनमा विकासका गतिविधिले राजनीति, अपराध र यौनपछिको चौथो स्थान पाएको छ ।’ चक्लीको यो भनाइ नेपालका अधिकांश मिडियामा लागू हुन्छ । विकास सञ्चार नेपाली मिडियाको सबैभन्दा अन्तिम विकल्प भएको छ । ‘विकासका लागि सञ्चार’ भन्ने मूल नाराका साथ स्थापना भएको नेपाल टेलिभिजनले पनि जो सरकारमा जान्छ उसैको गुणगान गाउन छोडेको छैन ।

नेपालमा विकास सञ्चार शुरु भएको ठीक मिति यही हो भन्न त गाह्रो छ तर पनि वि.सं. २०४८ मा राष्ट्रिय सञ्चार योजना लागू भएपछि विकासको लागि सञ्चार भन्ने नारा घन्कियो । आमसञ्चारका माध्यमद्वारा सरकारका विकास गतिविधिको प्रचारप्रसार गर्ने उक्त सञ्चार योजनाको उद्देश्य रहेको थियो । भारतदत्त कोइरालाले गोरखापत्रमा आफू सम्पादक रहँदा विकास सञ्चारको अभ्यास गराएका थिए । गोरखापत्रको ‘गाउँघर’ स्तम्भ त्यति बेला निकै लोकप्रिय र चर्चित बनेको थियो । जसका लागि पत्रकार किशोर नेपाल राजधानीनजिकैको धादिङ जिल्लाका गाउँ–गाउँ घुमेर विकाससम्वन्धी समाचार खोजी गर्थे ।

नेपालमा सञ्चार कसका लागि भन्ने प्रश्न निकै उठ्ने गरेको छ । विकास प्रक्रियामा सञ्चार र सञ्चारकर्मीको भूमिका कस्तो हुने भन्ने स्पष्ट व्यवस्था छैन । प्रायः नेपालका सञ्चारमाध्यमहरु सुगम क्षेत्रका शहरी, बुद्धिजीवीहरु, शिक्षित एवम् धनिमानीहरुको पहुँचभित्र छ । अधिकांश विद्युतीय माध्यम शहर केन्द्रित छन् । काठमाडौंबाट प्रकाशन र प्रसारण हुने अधिकांश मिडियाको पहुँच गाउँसम्म छैन । स्थानीय मिडियाले स्थानीयका आवाज बोलिरहेका त छन् तर तिनीहरु पनि न्यून गुणस्तर तथा सामग्रीमा काठमाडौं केन्द्रित नै छन् । पत्रपत्रिका, रेडियो टिभी र अनलाइन ग्रामीण क्षेत्रको झलक दिने सामग्री अत्यन्त न्यून मात्रमा पाइन्छ ।

सामुदायिक भावनाबाट खुलेका अधिकांश नेपाली एफएम प्रसारणहरु व्यावसायिकजस्ता देखिन्छन् । तैपनि ग्रामीण सञ्चारलाई थेग्ने कामचाहिँ यिनै स्थानीय मिडियाले गर्दै आएका छन् ।
तर यति बेला संविधानको प्रस्तावनामा नै उल्लेख भएको पूर्ण प्रेस स्वतन्त्रता कायम गर्नका लागि र खोसिन लागेको सूचनाको हक जोगाउनका लागि आमनेपाली पत्रकारहरु आन्दोलित छन् ।

नेपाल पत्रकार महासंघलगायत देश–विदेशमा रहेका पत्रकारका विभिन्न संघ, संस्था, संगठन र पत्रकारहरु फौजदारी संहिताको स्वतन्त्र प्रेस विरोधी दफाहरु खारेज गर्नका लागि सरकारलाई ज्ञापनपत्र बुझाउँदै संघर्षका कार्यक्रम घोषणा गरी अघि बढिरहेका छन् । यद्यपि सरकारले संहितामा उल्लेख गरिएका बुँदा सच्याउन र पूर्ण प्रेस स्वतन्त्रता कार्यान्वयन गर्नका लागि पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा एक समिति गठन गरेको छ । उक्त समितिले गर्ने कार्य भने हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्