मन बहलाउने पार्क चाहियो हजूर !



-गंगा बराल, काठमाडौँ ।
अब समाज बदलिन थालेको छ । शहरदेखि गाउँको इच्छा र आकांक्षा फेरिएको छ । पुगीसरी आए पनि नआए पनि मान्छेको जातलाई मनोरञ्जन नभइ नहुने आवश्यकता हो । साँच्चै भन्ने हो भने घर, कार्यालय, बैठक, काम ! काम ! अनेक कामको बोझले तनावको तह बढ्दा मान्छेलाई दुई मिनेट शान्त भएर एकान्तमा ‘रिफ्रेस’ हुने ठाउँ पनि छैन ।

 

प्रेमपार्क बनाउनुपर्ने कुरा धेरै अघिदेखि नै नउठेको पनि हैन, तर प्रेमलाई मान्छेहरू संकीर्ण रूपमा लिन्छन् । प्रेम गर्दैमा र प्रेमपे्रमिका सँगसगै भेट्दैमा विकृति बढ्छ भन्ने हाम्रो रुढिवादी सोचाइ छ । कतिपय स्थानमा त राज्यका संयन्त्रले नै स्वच्छ प्रेम गर्ने प्रेमप्रेमिकालाई नै दुःख दिने गरेको पाइन्छ तर प्रेमबिना संसार चल्दै चल्दैन भन्ने कुरा दुनियाँलाई थाहा छ ।

केही दिनअघि गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ को एउटा छलफलमा उठेको प्रसङ्ग सुन्दा अचम्म र सामान्य जस्तो लाग्छ तर त्यस प्रसङ्गभित्र गम्भीर मानव मनोविज्ञान लुकेको थाहा पाउन सकिन्छ । उक्त वडाको आर्थिक वर्ष २०७४÷०७५ को बजेट समीक्षा, शान्ति, सुरक्षा, विकास निर्माण तथा सेवा प्रवाहीकरण सम्बन्धमा छलफल गर्न आयोजित सार्वजनिक सुनुवाईमा स्थानीयबासीले खुलेर वडाध्यक्षसँग भने–मन बहलाउने पार्क चाहियो हजूर !’ प्रेमपार्क नै नभनिएको भए पनि यसको संकेत अलिकति त्यता पनि थियो ।

सुनुवाईमा वडाध्यक्षमाथि जनसरोकारसम्बन्धी विभिन्न खालका अन्य धेरै प्रश्न सोधिएका थिए ।
स्थानीय बासिन्दा उदय सापकोटाले ठाडै प्रश्न गर्नुभयो–भोट माग्न गाउँ आउँदा वृद्धभत्ता बढाउँछौँ भन्नुहुन्थ्यो, अहिले त कुरै गर्नुहुन्न, के बढेको भत्ता पाइन्छ कि पाइँदैन, केन्द्रीय सरकारले नदिए पनि वडामै थप्न पाइन्छ कि पाइदैँन ?’

सापकोटाले जनताले तिर्न नसक्ने गरी करको दर बढेकामा पनि स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो । अरुको भनाइ पनि सापकोटा जस्तै थियो ।
सरकारले कर बढाएकोमा तीव्र कटाक्ष गर्दै उनीहरूले आलोचना गरे–वडाले जनताका सामान्य भन्दा पनि सामान्य आवश्यकता पूरा गर्न सकेन, सडकनालाहरु अलपत्रै पारिरहेको छ, युवाहरु कुलतमा फसिरहे पनि कुनै मतलव छैन, रोजगारीमुखी कार्यक्रम ल्याउनै सकेन, धारा छ पानी आउँदैन, वातावरण स्वच्छ राख्न कुनै पहल नै गरिदैँन ।’
स्थानीयबासी सुरुमा मौन देखिए पनि अन्तिमचरणमा प्रश्न गर्न उत्साहित भएका थिए । उनीहरूले विभिन्न प्रश्न गर्दै वडाध्यक्षसँग जवाफ मागेका थिए ।

सुरुमा वडाध्यक्ष मनोज ढुंगानाले कर बढाउने र घटाउने विषय आफूले चाहेर मात्रै नहुने भन्दै बढी कर नलिएको दावी गर्नुभएको थियो ।
अनावश्यक कर उठाएर वडा चलाउनुपर्छ भन्ने आफ्नो सोच नभएको दावी गर्दै उहाँले भन्नुभयो–नागरिकबाट तिरिएको करको सदुपयोग गर्नेछु ।

कानुन व्यवसायीसमेत रहनुभएका स्थानीय केशव दाहालले पानीको शुल्क तिर्दा पटकैपिच्छे ढलको शुल्कका नाममा थप ५० प्रतिशत रकम तिर्नुपर्ने व्यवस्थाबारे प्रश्न गर्नुभयो । वडाध्यक्षले एकपटक शुल्क तिनुपर्ने व्यवस्था भए पनि पटकपटक तिर्नुपर्ने विषयमा आफूलाई जानकारी नभएको र भएको व्यवस्थाबारे बुझ्ने बताउनुभयो ।

सम्बन्धित नगरका प्रमुख, क्षेत्रका सांसदहरुको समेत उपस्थिति गराइएको भए केन्द्रीय आयोजनाको विषयमा पनि जानकारी पाइने भएकाले त्यो अवसर गुमेको भन्दै आगामी दिनमा त्यसतर्फ ध्यान दिन कार्यक्रमका आयोजकलाई वडाबासीले आग्रह गरेका थिए ।
फोहरमैलाले वडामात्र नभएर नगर नै दुर्गन्धित भएको भन्दै स्थानीयले वडाले फोहर जिम्मा लिएर त्यसबापत पैसा दिनुपर्ने बताएका थिए ।

‘कहिले कसको बन्द त कहिले के के हुन्छ त्यो हामीलाई मतलब छैन तर यस्तो अवस्थामा फोहर व्यवस्थापनको अन्य विकल्प पनि खोजिनुप¥यो’ स्थानीयले भने । उनीहरूले क्रियापुत्री कक्ष, जेष्ठ नागरिक भवन बनाउनका लागि पहल गर्न वडालाई आग्रह गरेका थिए ।
जया मल्टिपल क्याम्पसका प्रमुख भवानीप्रसाद पौडेलले वडामा जनताका गुनासा बढ्दै गएकाले जनप्रतिनिधि र जनताबीचको दुरी छोट्याउनु सार्वजनिक सुनुवाई कार्यक्रम राखेको बताउनुभयो ।

स्थानीयले वडाध्यक्षलाई मात्र प्रश्न सोधेपछि वडा सदस्यहरूले भने गुनासो गरेका थिए । आफूहरूलाई वेवास्ता गरिएको उनीहरूको पिरलो थियो ।
यो वडामा अध्यक्ष र १ सदस्य कांग्रेसका तर्फबाट निर्वाचित भएका हुन् । नगरपालिकाका ९ वटा वडामा ६ वटामा कांग्रेस, २ वटामा तत्कालीन नेकपा एमाले र एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वडाध्यक्ष निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्