स्पेन दूतावास अस्तव्यस्त, परराष्ट्रले लियो ‘एक्सन’



टीका बन्धन, काठमाडौं
यूरोपेली मुलुक स्पेनमा नेपाली दूतावास स्थापना भएको सात महिना वितिसकेको छ, तर दूतावासको अवस्था भने लथालिङ छ । मुख्य कार्यालय (चान्सरी) भवन र राजदूत निवास एकै ठाउँमा हुँदा दूतावासको काम कार्वाही अस्तव्यस्त बनेको हो ।

परराष्ट्र मन्त्रालयको आग्रहमा अर्थ मन्त्रालयले चान्सरी भवन र राजदूत निवासका लागि ९ हजार युरो पठाएको भएपनि कार्यालय राजदूत निवासमै खुम्चिएको छ । सो मुलुकका राजदूत भरत रायमाझीले निवासका लागि ५ हजार र चान्सरी भवनका लागि ४ हजार ५ सय यूरो माग गरेपनि कार्यालय भन्दा निवासको भाडा बढी नहुने अर्थ मन्त्रालयले अडान लिएको थियो ।
राजदूत निवासको भान्साको गन्ध (खार)ले कार्यालयको वातावरण प्रत्यक्ष प्रभावित बन्ने गरेको आगन्तुक कक्षमा पर्याप्त कुर्चि सेवा प्रवाहका पूर्वाधार नभएको गुनासो बढ्न थालेको परराष्ट्रले जनाएको छ ।

यससँगै म्याड्रिड दूतावासले कार्यालय प्रयोजनका लागि खरिद गरिएका सवारी बिमा नगरी चलाएको चर्चा चुलिन थालेपछि सवारी विगत एक महिनादेखि त्यसै थन्किएको म्याड्रिड निवासी शिवराज सिग्देलले बताउनुभयो । दूतावासले बिमा नगरी सिडि १०३००२ नम्बरको किया कम्पनीको गाडी खरिद गरेको छ ।

सवारी खरिद र दूतावासको आर्थिक अनियमिता भएको खबर सार्वजनिक हुन थालेपछि परराष्ट्रले चासो व्यक्त गर्दै पत्राचार गरेको छ । मन्त्रालयले दूतावासको कार्यअवस्था र प्रगति विवरण ३ दिनभित्र पठाउन ध्यानाकर्षण गराउँदै गत साउन २७ गते दूतावासलाई पत्राचार गरेको थियो । यस विषयमा जिज्ञासा राख्दा मन्त्रालयका सह–सचिव एवं सामान्य प्रशासन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले आफू स्पेन दूतावासको गतिविधीबारे अनविज्ञ रहेको बताउनुभयो ।

‘मन्त्रालयले हरेक दूतावास र नियोगहरुलाई कार्यअवस्था अवगत गराउन पत्राचार गर्छ, यो नियमित प्रकृया हो, स्पेनको विस्तृत विवरण मलाई जानकारी छैन’–उहाँले भन्नुभयो । परराष्ट्रले मुख्य कार्यालय (चान्सरी) भवन, राजदूत निवास तथा कुटनीतिक कर्मचारीको आवास बारेको प्रगति, राजदूत र अन्य कर्मचारीको कार्यकक्षको अवस्था, कार्यकक्षमा आवश्यक फर्निचर, मेसिनरी औजार तथा कार्यालयका अन्य सामानको अवस्था खुलाउन ध्यानाकर्षण गराएको थियो ।

त्यसैगरी नियोगको सवारी साधन खरिद, आर्थिक कुटनीति सञ्चालनमा भएको प्रगति, स्थानीय कर्मचारीको नियुक्ती, दूतावासको आर्थिक कार्यप्रणाली तथा बजेट खर्च गर्दा अवलम्बन गरिएको प्रकृया अवगत गराउन मन्त्रालयले पत्राचार गरेको हो । राहदानी, भिसा, ट्राभल डकुमेन्ट तथा कन्सुलर सेवासम्बन्धी कागजात जारी गर्ने जिम्मेवारी तोकिएको÷नतोकिएको जस्ता विषयमा चासो राख्दै मन्त्रालयले १३ बुँदे पत्र पठाएको थियो ।

तर पत्रको चित्तबुझ्दो जवाफ प्राप्त नभएको मन्त्रालय स्रोतले नेपाल समाचारपत्रलाई बतायो । दूतावास स्थापनाको लामो समयसम्म एउटै कोठाबाट कार्यालय सञ्चालन भएको खवर पाएपछि परराष्ट्रले राजदूत र अन्य कर्मचारीका लागि छुटाछुट्टै कोठा व्यवस्था गर्न पहल अघि बढाएको थियो । दूतावास प्रयोजनका लागि भाडामा घर लिँदा आफूहरु कोही पनि उपस्थित नभएको बताउँदै दूतावासका कर्मचारी भन्छन्–‘यसबारेमा नियोग प्रमुखसँगै बुझ्नुस ।’ राजदूतकै कारण दूतावासका लागि आवश्यक स्थानीय कर्मचारी समेत नियुक्त हुन नसकेको ती कर्मचारीले बताए ।

गत महिना एक नेपाली व्यवसायीले आयोजना गरेको पार्टीमा सहभागी हुन जाँदा राजदूत रायमाझी पहिलो र तेस्रो पक्षको बिमा नभएको गाडी चढेर पुग्नु भएको दूतावासका एक कर्मचारीले बताए । सो पार्टीमा सहभागी भएका दूतावासका कर्मचारीले भने सार्वजनिक सवारी प्रयोग गरेका थिए ।

 

दूतावासको प्रयोजनका लागि दुई वटा किया ब्रान्ड र राजदुतको लागि मर्सिडिज कम्पनीको ५ सिटे सवारी खरिद गरिएको बताइएको छ । राजदूत रायमाझीको प्रयोजनका लागि खरिद गरिएको गाडीको रकम बुझाइ सकेपनि बिमा नभएकाले सोरुमबाट नियाल्न नमिल्ने दूतावासमा आइनसकेको कर्मचारी बताउँछन् ।

नेपाली सेनाका पूर्व जर्नेल समेत रहनु भएका रायमाझी तत्कालिन राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट राजदूत सिफारिस हुनु भएको थियो । रायमाझीको कार्यशैली चित्त बुझ्दो नभएपछि तत्कालिन नेकपा एमालेको जनवर्गिय संगठन प्रवासी नेपाली मञ्चले समेत सरकारको ध्यानाकर्षण गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्