टेकु ट्रान्सफर स्टेशन भरियो: सिसडोल ल्याण्डफिलमा समस्या, नयाँ विकल्प खोजिदै



ईश्वरराज ढकाल, काठमाडौं ।
फोहोर संकलन गर्ने टेकुस्थित ट्रान्फर स्टेशन भरिएपछि दुर्गन्ध फैलिन थालेको छ । दुर्गन्ध फैलिएका कारण स्थानीयवासीले मंगलबार उक्त स्टेसनमा फोहर खसाल्न अवरोध गरेका थिए । राजधानीबाट संकलित फोहोर उक्त स्टेशनमा राखी सिसडोल लैजाने गरिएको छ ।
अहिले सबै स्थानीय निकायको गल्ली, सडकमा फोहोर थुप्रिएको देखिन्छ । काठमाडौँ र ललितपुर महानगर नै फोहोर उठाउन असमर्थ बनेका छन् ।

लगातार वर्षा परेर फोहोर व्यवस्थापन गर्न समस्या आएपछि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख हरी कुवरसहितको टोली मंगलबार नुवाकोटको सिसडोल पुगेको थियो । तर फोहोरकै पहिरो जाने खतरा देखिएकाले छिट्टै विकल्प खोजिनुपर्ने कामपाले जनाएको छ ।
‘विकल्प नखोजे २२ वटा स्थानीय निकायको फोहोर बाटोमै थुप्रिनेछ’–कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख कँुवरले भन्नुभयो । उहाँले राज्यको कमजोरीको कारण समस्या आएको आरोप लगाउनुभयो ।

तर कामनपाको समन्वयमा सिसडोल ल्याण्डफिल साइटको अल्पकालिन तथा दीर्घकालिन समस्या समाधान गरी राय सुझाव पेश गर्न गठित कार्यदलले पनि सिसडोलको विकल्प खोज्न सुझाएको छ ।

कार्यदलका संयोजक एवं कामपाका सहसचिव ईश्वरचन्द्र मरहठ्ठाले केही दिनभित्रै वैकल्पिक ल्याण्डफिल साइट खोजिने बताउनुभयो । उहाँका अनुसार कार्यदलको बैठक बस्नुअघि पुरानै स्थान आलेटार, खाल्डे खोल्चा र सिटे खोल्चामा फोहोर व्यवस्थापन गर्ने गरी तीनवटा नयाँ विकल्प खोजेको छ ।

तर तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र प्रधानमन्त्री शुसील कोइरालाको कार्यकालमा भएको सहमति पुरा नभई नया वैकल्पिक ल्याण्डफिल साइट बनाउन नदिने स्थानीयको भनाई छ । स्थानीय श्रीराम ढुंगानाले नयाँ स्थानमा वैकल्पिक ल्याण्डफिल साइट बनाउँदा स्थानीयसंग सहमति गर्नुपर्ने बताउँदै भन्नुभयो– यसका लागि करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ , सो स्थानबाट स्थानीयलाई टाढै राख्नुपर्छ ।

संयोजक मरहठ्ठाले स्थानीयसंगै छलफल गरी वैकल्पिक ल्याण्डफिल साइट खोजिने स्पष्ट पार्नुभयो । तर उहाँले अन्तिम विकल्प बञ्चरे डाडा नै भएको बताउनुभयो । कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पनि बञ्चरे डाडाको पूर्वाधार विकासमा सरकारले सहयोग नगरेको आरोप लगाउँदै यसैलाई अन्तिम विकल्प बनाइनुपर्ने बताउनुभयो ।

अहिले सिसडोलमा उपत्यकाका तीनसहित धादिङ, काभ्रे र नुवाकोटको फाल्ने गरिएको छ । त्यहाँ कामपाबाट मात्र २० र अन्य जिल्ला तथा निजी क्षेत्र समेतकाले गरी दैनिक १ सय ५० वटा सवारी साधनले दैनिक फोहोर ओसार्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्