बहुविवाह बढ्दो: पीडितले नै ‘डिभोर्स’ माग्दा पीडकलाई उन्मुक्ति



हिक्मत नेपाली, दैलेख
जिल्लाको नारायण नगरपालिका–४ सोतकी २३ वर्षकी चन्द्रा सुनारको विवाह भएको ६ वर्ष पुग्यो । उनका ५ सन्तान जन्मिसके । विवाह भएको पछिल्लो वर्ष पहिलो छोरा, तेश्रो वर्षमा अर्को एक छोरा अनि पाँचौं वर्षमा चाहिँ जुम्ल्याहा २ छोरी भए ।

जुम्ल्याहा छोरीहरू गत चैतमा वर्ष दिनका भएका थिए, एक वर्षमै गत वैशाखमै पाँचौं सन्तान छोरा जन्मियो । छोरा जन्मेको पनि ४ महिना पुग्दै छ, यी भएकै छोराछोरी सम्हाल्न चन्द्रालाई हैरानी छ तर उनका पति वसन्त सुनारले २१ वर्षकी एक युवतीलाई दोस्रो पत्नीको रुपमा भित्र्याएका छन् । शुक्रबार नारायण नगरपालिका–१० भवानीकी संगीता विकलाई दोस्रो पत्नीका रुपमा भित्र्याएका हुन् तर संगीतालाई भारत लैजाँदै गर्दा सुर्खेतबाट पक्राउ गरी उनीहरूविरुद्ध कानुनी कारबाही चलाउन चन्द्राले जिल्ला प्रहरी कार्यालय दैलेख पुग्नुभएको छ । हुर्किएका २ सन्तान आफन्तको जिम्मा लगाएर तीन जना दूधेबालक बोकेर चन्द्रा जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा पुग्नुभएको हो ।

दैलेखकै महाबु गाउँपालिका–३ बाँसीकी विजया नेपाली पनि बहुविवाहको मारमा पर्नुभएको छ । संयोग शुक्रबारकै हो । उहाँक पति प्रेमबहादुर नेपाली शुक्रबारै अर्कै युवती लिएर भारत हिँडेको भन्दै प्रहरीमा उजुरी गर्न पुग्नुृभएको थियो ।

तेस्रो घटना पनि यी दुईभन्दा फरक छैन । गुराँस गाउँपालिका–४ तालपोखरीका २६ वर्षीय बिष्णुबहादुर शाही र नारायण नगरपालिका–३ प्युसेकी २१ वर्षीया गीता गुरुङले बहुविवाह गरेपछि जेठी पत्नी सुनिता मल्लले प्रहरीमा उजुरी दिनुभयो । शाही र गुरुङलाई प्रहरीले शुक्रवारै पक्राउ गरेको छ ।

दैलेखी महिलाहरु बहुविवाहको चपेटामा परेको कुरा एकै दिनका यी प्रतिनिधि घटनाहरुबाट प्रस्ट हुन्छ । यहाँका महिला कानुनले विवाह गर्न तोकेको उमेर २० वर्ष पुग्दा कम्तीमा १–२ बच्चा जन्माइसक्छन् । आर्थिक अभावमा पारिवारिक कलह सुरु हुन्छ । त्यसपछि अधिकांशले सम्वन्धबिच्छेद गर्छन् भने धेरै बहुविवाहको पीडा भोग्न बाध्य हुन्छन् ।

प्रहरीका अनुसार एकैदिन बहुविवाह भएको ठाडो निवेदन ३–४ वटा परे पनि प्रहरीले पक्रेपछि पीडित महिलाले नै सम्बन्धविच्छेद गरेर कान्छी हुन आउनेलाई सजिलो बनाइदिने गरेका छन् । यसकारण बहुविवाहका मुद्दा मुस्किलले वर्षभरि ८–१० वटा मात्र चल्ने गरेका छन् । बहुविवाह जस्ता सरकारवादी मुद्दामा समेत राजनीतिक हस्तक्षेप र सामाजिक दबाब सिर्जना गरिने भएकाले आर्थिक प्रलोभनमा केही मुद्दा चल्न नसकेको अधिवक्ता गोपाल बिराजी बताउनुहुन्छ । यसले कानुन कार्यान्वयनमा चुनौती थपेको उहाँको ठम्याइ छ ।

सानैमा विवाह गरेकै कारण बीचैमा अध्ययन रोकिने तथा शिक्षाको अभावमा रोजगार वा आत्मनिर्भर स्वरोजगारीका सीप, ज्ञान समेत नहुँदा आर्थिक कठिनाइले पारिवारिक कलह बढ्दा सम्वन्धविच्छेद वा बहुविवाहको अवस्था सिर्जना हुने गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सरोज पौडेल बताउनुहुन्छ ।

वैदेशिक रोजगारीले परिवार सँगसँगै बस्न नपाएकोले सम्बन्धविच्छेद वा बहुविवाहको क्रम बढेको महिला तथा बालबालिका कार्यालय दैलेखका निमित्त महिला विकास अधिकृत माधुरी न्यौपानेको विश्लेषण छ । यो बालविवाहकै उपज भएको उहाँको दाबी छ ।

महिलाहरु आत्मनिर्भर हुन नसक्नुले केही पुरुषले बहुविवाह गर्ने गरेको न्यायिक समितिमा सूचना आउने गरेका र त्यस्ता मुद्दा कानूनी प्रक्रियामा लैजान प्रहरीमार्फत अदालत पठाउने गरेको गुराँस गाउँपालिकाका उपाध्यक्ष दीपा बीसी बताउनुहुन्छ । सामाजिक सञ्जालको दुरुपयोगले यो विकृति फैलिएको उहाँको भनाइ छ ।

मदिराले घरेलु हिंसा बढाएको र यसैको कारण सम्वन्धविच्छेद र बहुविवाह बढाएको भैरबी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिष्टको बुझाइ छ । यी समस्याको उचित समाधानबारे उहाँ भन्नुहुन्छ– ‘कानुन कार्यान्वयन प्रभावकारी बनाइनुपर्छ ।’ अहिलेसम्म चलिरहेको मुलुकी ऐन २०२० को विवाहवारी महल १० नम्वरले बहुविवाह गर्नेलाई एक वर्षदेखि तीन वर्षसम्म कैद वा पाँच हजारदेखि २५ हजार रुर्पैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था छ ।

२०७५ भदौ १ गतेदेखि लागू हुने ‘मुलुकी अपराध सहिंता ऐन २०७४’को दफा १७५ मा बहुविवाह गर्ने कसूरदारलाई गरिने सजाय बढाएर एक वर्षदेखि पाँच वर्षसम्म कैद वा १० हजारदेखि ५० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्