डा. केसीको अबको बाटो (विशेष सम्पादकीय )



सत्याग्रही डा. गोविन्द केसीको २७ दिन लामो अनशन सुखद परिणामसहित अन्त्य भएको छ । चिकित्सा क्षेत्रको सुधार तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वायत्तताका लागि लामो समयदेखि संघर्षरत् डा. केसीको यो सफलतालाई उहाँको व्यक्तिगत जित र सरकारको हारको रुपमा भने लिनुहुँदैन । बिहीबार राति डा. केसीले सरकारसँग गरेको सम्झौता नेपाली जनता र सरकार दुवैको जित हो । यो सम्झौतालाई इमानदारिताका साथ सरकारले पालना गर्ने हो भने यसले एकातिर गरिब नेपाली जनताको गुणस्तरीय स्वास्थ्य र चिकित्सा शिक्षामा सुलभ पहँुच हुन्छ भने अर्कोतिर सरकारको समाजवादको अवधारणाले पनि सार्थक रुप लिन सक्छ ।

 

जनताका लागि निःशुल्क शिक्षा र स्वास्थ्य समाजवादको पहिलो प्राथमिकतामा पर्छ । संसारका प्रायः सबै समाजवादी मुलुकमा जनताले सबैभन्दा पहिले पाउने सुविधा भनेकै निःशुल्क शिक्षा र स्वास्थ्य सेवा हो । भर्खरै सम्पन्न चुनावमा घोषणापत्रमै समाजवादलाई प्राथमिकतामा राखेकै कारण पनि नेकपा पार्टीलाई दुई तिहाइ मत दिएर नेपाली जनताले सरकारमा विराजमान गराएकोे कुरालाई यो सरकारले बिर्सनुहुँदैन । बरु सरकारबाट अझै यस क्षेत्रलाई उचित व्यवस्थापन गर्दै पाँच वर्षभित्र शिक्षा र स्वास्थ्यमा नेपाली जनतालाई निःशुल्क सेवा दिलाउन सकियो भने अर्को चुनावमा नेकपाले जनताको भोटका लागि धेरै माथापच्छी गरिरहनै पर्दैन ।

 

जनताको भावनासँग गाँसिएका कुनै पनि शान्तिपूर्ण आन्दोलनलाई सरकारसँग भएको दुई तिहाइको दम्भ र घमण्डले मात्र पराजित गर्न नसकिने रहेछ भन्ने कुराको ठूलो उदाहरण बनेको छ डा. गोविन्द केसीको सत्याग्रह । तसर्थ सरकारले डा. केसीसँग गरिएका सबै सम्झौतालाई जति सक्दो चाँडो इमानदारिताका साथ अक्षरशः पालना गराउन सके अहिले ह्रास हुँदै गइरहेको सरकारको विश्वसनीयतामा पूर्णविराम लगाउन मद्दत गर्छ । अघिल्ला सरकारहरुले जस्तै खाली अनशन तोडाउनकै लागि मात्र यो कृत्रिम सम्झौता गरिएको ठहरिए भविष्यमा यो सरकारका लागि ठूलो प्रत्युत्पादक हुने कुरामा सरकार गभ्मीर हुनु जरुरी छ ।

 

यसै गरी डा. गोविन्द केसीको अभियानमा निकट भएर साथ दिने र स्वयम् डा. केसी पनि आपूmसँग भएको सम्झौतालाई पालना गराउन आजैदेखि इमानदारितापूर्वक दिलोज्यानले लागिपर्नु जरुरी छ । विगतमा भैंm सरकारसँग सम्झौता भई नै सकेको छ भनेर त्यत्तिकै चुप लागेर बस्दा हिजोजस्तै नराम्ररी धोका पाएर फेरि अनशन बस्नुपर्ने अवस्था नआउला भन्न सकिँदैन । डा. केसीले पनि अब के कुरामा हेक्का राख्नु जरुरी छ भने, पटक¬¬–पटकको अनशनबाट आपूmलाई मात्र सास्ती नभई अनशनका कारण अस्पतालहरुमा सिर्जना भएको अवरोधले विगतमा झैँ धेरै बिरामीले अनाहकमा ज्यान गुमाउनुपर्ने हुन्छ ।

 

जतिसुकै राम्रो उद्देश्य भए पनि धारावाहिक टेली फिल्मजस्तै पटक–पटकको अनशनले एकातिर उहाँको विश्वसनीयता पनि क्रमशः घट्दै जाने सम्भावना हुन्छ भने अर्कोतिर सरकारले आरोप लगाएजस्तै उहाँ कुनै राजनीतिक पार्टीको गोटी भएको कुरालाई प्रमाणित गर्न सघाउ पु¥याउँछ । अर्को कुरा, लामो समयदेखि उहाँ स्वयम् कार्यरत त्रिवि शिक्षण अस्पताल पूरै अस्तव्यस्त छ । केही समयअघि मात्र मृगौला दलालहरुका कारण यो अस्पताल पूरै बदनाम भइसकेको कुराबाट स्वयम् डा. केसी पनि अनभिज्ञ हुनुहुन्न होला । यो अस्पतालमा देखिने गरेका बेथितिहरुका कारण ‘आफ्नो जीउमा भैंसी हिँडेको नदेख्ने डाक्टरले अर्काको टाउकोमा भने जुम्रा हिँडेको पनि देख्छ’ भन्दै डा. केसीमाथि औंला उठाउनेहरुको संख्या पनि कम छैनन् । अतः डा. केसीले आगामी दिनमा त्रिवि शिक्षण अस्पतालको सुधारलाई प्राथमिकता दिँदै सरकारसँग आफूले गरेका सम्झौताहरुलाई मूर्तरुप दिने बाटो पहिल्याउन सके नेपाली चिकित्सा क्षेत्रमा डा. केसीको नाम स्वर्णिम अक्षरले कुँदिने कुरामा कसैले शंका नगरे हुन्छ ।

प्रतिक्रिया दिनुहोस्