महिला सशक्तीकरणको वकालत गर्दै कलाकार



नेपाल समाचारपत्र, धादिङ ।
विभिन्न राष्ट्रिय कलाकारहरूले नेपाली महिलाले सदियौंदेखि भोग्दै आएका व्यथालाई आफ्ना प्रस्तुतिमार्फत् अभिव्यक्त गरेका छन् ।

धादिङमा आयोजित कार्यक्रममा कलाकारहरु शिवहरि पौडेल, जितु नेपाल, निरज नेपाल, सविता गुरुङ, गायिका मेलिना राईलगायतले महिला–पुरुषबीच समान हक स्थापित हुनुपर्नेमा जोड दिए ।

महिलाको योगदानलाई व्यवहारमा पनि कदर गरिनुपर्ने उनीहरुको सन्देश थियो । ‘जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवता पनि खुशी हुन्छन् भन्ने वैदिक मान्यता अवलम्बन गर्न उनीहरूले सबैलाई आग्रह गरे ।

महिला सशक्तिकरण र लैंगिक समानताका लागि सामुदायिक मेलाको रुपमा आयोजना गरिएको कार्यक्रममा धादिङका ग्रामीण क्षेत्रका महिला, बालबालिकाहरूको उल्लेख्य सहभागिता थियो । ‘सहि हो मेरो समर्थन उनलाई’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो ।

एक्वेल एक्सेस नेपाल, सामुदायिक सारथी र युएन ओमनको सहकार्यमा मेला आयोजना गरिएको हो । मेलाको प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकग्राम जमरकट्टेलले उद्घाटन गरेका थिए । संविधानले महिलालाई पर्याप्त हक दिएकाले तिनको पूर्ण कार्यान्वन गर्ने प्रतिबद्धता उनले जनाए ।

महिला–पुरुषबीच विभेद हटाएमा मात्र देश समृद्ध बन्नसक्छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको एक्वेल एक्सेस नेपालका सञ्चार अधिकृत नवोदिता सुवेदीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्