सामुदायिक विद्यालयको नतिजामा बहस



-रविन घिमिरे
माध्यमिक शिक्षा परीक्षाको नतिजा प्रकाशित भएको केही दिन मात्र भएको छ । यस नतिजालाई हेर्दा पहिलो वर्षको तुलनामा अहिलेको नतिजा ६ दशमलव ४६ प्रतिशतले खस्किएको पाइन्छ । गतवर्षको नतिजा पनि त्योभन्दा अगाडिको भन्दा खस्किएको थियो ।

अक्षरांकन पद्धतिबाट सबै उत्तीर्ण भइन्छ भन्ने भ्रम फैलँदा पनि नतिजामा असर परेको देखिन्छ । यसपालि गणितबाहेक सबै विषयमा २५ अंकको प्रयोगात्मक राखिएको भए पनि नतिजामा त्यसको असर खासै राम्रो देखिएको छैन । कक्षा ११ मा अध्ययन गर्न १ दशमलव ६ जीपीए ल्याउनै पर्ने प्रावधान भएकाले पनि उक्त जीपीए नल्याउनेहरु ग्रेडिङ वृद्धि नगरीकन उच्च शिक्षाबाट वञ्चित हुनुपर्छ । यसले गर्दा अनुत्तीर्ण हुनु र अध्ययन गर्न नपाउनुमा के फरक भयो र ? यो अहिले बहसको विषय भएको छ ।

सरकारले आर्थिक वर्ष २०७५।०७६ मा कुल बजेटको १० दशमलव २३ प्रतिशत अर्थात् १ खर्ब ३४ अर्ब ५० करोड ८७ लाख रुपियाँ शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा लागि विनियोजन गरेको छ । आर्थिक वर्ष २०७३ ।७४ को कुल रू. १० खर्ब ४८ अर्ब ९२ करोडको बजेटमा शिक्षातर्फ रू. १ खर्ब १६ अर्ब ३६ करोड छुट्याइएको थियो । यो कुल बजेटको ११ दशमलब २७ प्रतिशत अंश हो । यसअघि आव २०६८।६९ मा शिक्षामा कुल बजेटको १७ दशमलव १ प्रतिशत छुट्याइएको थियो । अहिलेसम्म त्यो नै उच्चतम प्रतिशत हो ।

त्यसपछिका वर्षमा शिक्षा बजेटको अनुपात निरन्तर घट्दो छ । यसरी नतिजा र बजेट दुवै शिक्षामा कम हुँदै जानु देशको समृद्धका लागि राम्रो पटक्कै होइन । समृद्धिको आधार भनेको नै शिक्षा पनि हो । शिक्षाको नै गुणस्तरमा वृद्धि नभए समृद्धि अवश्य हुन सक्दैन । अझ संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शिक्षण सिकाइको स्थिति पनि खस्कँदो छ । राज्यले शिक्षकलाई दिनुपर्ने सुविधा, शिक्षक तालिम, विद्यालयको पूर्वाधार विकासका साथै शिक्षण सामग्री त उपलब्ध गरायो तर त्यसअनुसारको प्रतिफल शिक्षामा देखिएको छैन ।

सामुदायिक विद्यालयका विद्यार्थीमा अंगे्रजी विषयमा तल्लो कक्षादेखि नै पढाइको आधार कमजोर र राम्रो नभएको कारण माध्यमिक तहमा उनीहरूलाई राम्रोसँग पढाएको विषयवस्तु बुझ्न, पढ्न र लेख्न बढी कठिन छ । धेरैजसो विद्यार्थी शिक्षकले पढाएको पाठ घर र विद्यालयमा पनि राम्रोसँग पढ्ने र अभ्यास गर्ने गर्दैनन्, लेख्न दिएको अभ्यास पनि निकै कम विद्यार्थीले मात्र गर्ने गर्छन् । विद्यालयमा प्रशस्त मात्रमा शैक्षिक सामग्री नभएको र भएका शैक्षिक सामग्री पनि सबै विषय र पाठमा प्रयोग गर्न उपयुक्त नभएकाले शिक्षण सिकाइ प्रभावकारीरूपमा गर्न समस्या परेको छ ।

सामुदायिक विद्यालयमा शिक्षक नियमित विद्यालयमा नआउने, आएको दिनमा पनि ठीक समयमा कक्षामा प्रवेश गरी पूरा समय नपढाउने, विद्यार्थीहरू पनि धेरै अनियमित हुने, अभिभावकले विद्यालय एवम् आफ्ना छोराछोरीप्रति खासै वास्ता नगर्ने भएकाले विद्यार्थीको पढाइ–लेखाइ कमजोर भई फेल हुने गरेका छन् । ग्रामीण भेगका विद्यार्थी घरको काम र आर्थिक अवस्था कमजोर भएकोले पढाइको खर्च जुटाउनको लागि अरूको ज्यालादारी काम गर्न र पर्म लगाउनसमेत जाने हुँदा वर्षमा धेरै दिन विद्यालयमा उपस्थित हुँदैनन् ।

विद्यार्थीमा अनुशासनको कमी भएको कारणले शिक्षण सिकाइमा समस्या परेको पाइन्छ । शिक्षण सिकाइ भएको बेला धेरै विद्यार्थी ध्यान दिएर नसुन्ने गफ र हल्ला गरेर बस्ने, आफू पनि नपढ्ने र अरूलाई पनि पढ्न, बुझ्न असर पार्ने गरेको पाइन्छ । अनुशासनमा नबस्ने विद्यार्थीलाई शिक्षकले मात्र तह लगाउन र कडा कारबाही गर्न नसक्ने, विद्यालय प्रशासनले पनि वास्ता नगर्ने भएकोले शिक्षण सिकाइमा असर परेको छ ।

विद्यार्थी संख्या धेरै भएको तर कक्षाकोठा र शिक्षक पर्याप्त नभएकाले एउटै कोठामा धेरै विद्यार्थी राखेर शिक्षण सिकाइ गर्दा गृहकार्य जाँच गर्न, कक्षा नियन्त्रण गर्न र सबै विद्यार्थीलाई ध्यान दिएर पढाउन समस्या परेको छ ।

यसै गरी विद्यालयमा विद्यार्थी संख्या बढी हुने गरेको तर विद्यार्थी संख्याअनुसार पर्याप्त कक्षाकोठा र शिक्षकको व्यवस्था विद्यालयले गर्न नसकेको कारण एउटै कोठामा धेरै जना विद्यार्थी राखेर शिक्षण गर्दा सबै विद्यार्थीलाई ध्यान दिएर गृहकार्य जाँच गर्न, कक्षा नियन्त्रण गरी शिक्षण गर्न सकिँदैन । विद्यार्थीमा प्रतिस्पर्धात्मक भावनाको कमीले गर्दा शिक्षण सिकाइमा सक्रियताको कमी भएको पाइन्छ । धेरैजसो विद्यार्थी परीक्षामा अरू साथीसँग सल्लाह गरेर लेख्ने, एउटाले अर्कोलाई सोध्ने र सिकाउने गर्दछन् ।

पढाएको बेलामा ध्यान दिएर पढ्ने, लेख्ने र सुन्ने गर्दैनन् । शिक्षक विद्यालयमा नियमित नहुने, मेहनत गरेर नपढाउने र कक्षामा समयमा प्रवेश नगर्दा पनि कुनै दण्ड÷सजाय हुँदैन । त्यसै गरी विद्यालयमा नियमित हुने, मेहनत गरेर पढाउने इमानदार र योग्य शिक्षकको पनि सही मूल्यांकन नहुने, प्रशंसा र पुरस्कारको व्यवस्था नभएकाले गर्दा उनीहरू निराश छन् । यसबाट शिक्षण सिकाइ कमजोर भएको पाइन्छ । कतिपय शिक्षक विद्यालयमा नियमित उपस्थित नहुने, विनासूचना अनुपस्थित हुने र समयमा कक्षामा प्रवेश नगर्दा पनि कतैबाट कुनै दण्ड सजाय हुँदैन भने नियमित विद्यालयमा उपस्थित हुने र मेहनत गरेर अध्यापन गर्ने शिक्षकको पनि सही मूल्यांकन हुँदैन ।

विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनले विद्यालयको प्रभावकारी व्यवस्थापनमा चासो नदिने, शिक्षक–विद्यार्थीलाई अनुशासनमा राख्न नसकेको र राम्रो काम गर्ने शिक्षक–विद्यार्थीको उचित मूल्यांकन नगर्दा शिक्षण सिकाइमा समस्या हुन्छ ।

विद्यालय व्यवस्थापन समिति र प्र.अ.ले विद्यालयको शैक्षिक, भौतिक व्यवस्था र शिक्षक–विद्यार्थीका समस्या सामाधानमा सक्रिय भएर नलाग्ने र प्र.अ.ले पनि विद्यार्थीलाई निर्देशन दिने र अनुशासनमा राख्न खासै चासो नदिने हुँदा प्रभावकारी शिक्षण सिकाइमा शिक्षकले मात्र चाहेर पनि गर्न सक्ने हुँदैन ।

सामुदायिक विद्यालयको नतिजामा सुधार ल्याउन तल्लो कक्षादेखि नै प्रभावकारी शिक्षण सिकाइ गरी विद्यार्थीको शिक्षाको आधार राम्रो र दरो बनाउनुपर्छ । आवश्यक शैक्षिक सामग्री र फर्निचरको उचित व्यवस्था गर्ने, शिक्षकलाई आवश्यकताअनुसार शिक्षण सिकाइसम्बन्धी तालिममा पठाउने र तालिमबाट फर्केपछि तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न लगाउने, नियमित विद्यालयमा उपस्थित भई तोकिएको जिम्मेवारी पूरा गराउनुुपर्छ ।

विद्यार्थीको नियमितता बढाउन उनीहरूका अभिभावकसँग छलफल गर्ने र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै घरमा गृहकार्य गर्ने समय मिलाउनसमेत अनुरोध गर्ने, नियमित हुने विद्यार्थीलाई प्रशंसा र पुरस्कारको व्यवस्था गर्ने परीपाटी बसाउनुपर्छ ।

सामुदायिक विद्यालयमा पनि परियोजना कार्य, एकाइ परीक्षा, मासिक परीक्षासमेत गरी निर्माणात्मक र निर्णयात्मक दुवै किसिमको परीक्षाको माध्यमबाट विद्यार्थी मूल्यांकन गर्ने व्यवस्था मिलाउने र शिक्षण सिकाइलाई प्रभावकारी बनाउन अभ्यास, छलफल, प्रश्नोत्तर र अन्तरक्रियाजस्ता विद्यार्थी केन्द्रित शिक्षण विधिबाट शिक्षण गर्न गराउन विद्यालय प्रशासकले सक्रिय भूमिका निर्वाह गर्नुपर्छ ।

विद्यार्थीलाई बढीभन्दा बढी अभ्यास गर्न लगाउनुपर्दछ । सामुदायिक विद्यालयको शिक्षण सिकाइमा सुधार गर्न विद्यालयको भवन, कक्षाकोठा विद्यार्थी संख्याअनुसार उपयुक्त बनाउनुपर्छ । विद्यालयमा नियमित उपस्थित नहुने शिक्षक–विद्यार्थीलाई दण्ड÷जरिवाना गर्नुपर्छ । विनासूचना अनुपस्थित हुने शिक्षकको तलब कटाउने व्यवस्था गर्नुपर्छ भने बढी नियमित हुने र राम्रो शिक्षण सिकाइ गर्ने शिक्षक–विद्यार्थीलाई उचित पुरस्कार र प्रशंसाको व्यवस्था गरी शिक्षक–विद्यार्थीको उपस्थिति बढी नियमित बनाउनुपर्दछ ।

विद्यार्थी संख्याअनुसार थप कक्षाकोठाको निर्माण र थप शिक्षकको व्यवस्था गर्नुपर्छ । विद्यार्थी संख्या बढी भएको कक्षामा सेक्सन कक्षाको व्यवस्था गरेर थोरै विद्यार्थी मात्र राखी शिक्षण गरेमा सबै विद्यार्थीलाई ध्यान दिई पढाउन र गृहकार्य जाँच गर्न सहज हुन्छ । विद्यालयको भवन र कक्षाकोठा शिक्षण सिकाइको लागि उपयुक्त बनाउन विद्यालय र सम्बन्धित पक्षले आवश्यक पहल गरी स्थायी भौतिक संरचना निर्माण गर्नको लागि सहयोग गरी व्यवस्था गर्नुपर्ने देखिन्छ । सफा भवन र कक्षाकोठा, रंगरोगन लगाएको र आर्कषक भएमा विद्यार्थी पढाइ लेखाइतिर बढी ध्यान दिने भई शिक्षण सिकाइ प्रभावकारी बनाउन सकिन्छ ।

विद्यालयमा प्रभावकारी शिक्षण सिकाइ गर्न÷गराउन सम्बन्धित पक्ष बढी सक्रिय हुनुपर्छ । शिक्षक, विद्यार्थी र अभिभावकसमेतको सहयोग लिई प्रभावकारी शिक्षण सिकाइका लागि आवश्यक शैक्षिक र भौतिक व्यवस्था मिलाउनुपर्छ । शिक्षक–विद्यार्थीलाई अनुशासनमा राख्ने, सक्रिय बनाउने, कक्षा अवलोकन गर्ने, आवश्यक निर्देशन दिने, आवश्यक कारवाहीसमेत गर्नुपर्ने पनि हुन्छ ।

सामुदायिक विद्यालयको शिक्षक पदमा नियुक्ति गर्दा शिक्षक सेवा आयोगबाट विज्ञापन गरी निष्पक्ष र स्वतन्त्ररूपमा परीक्षा लिई परीक्षामा उत्तीर्ण भएकालाई मात्र शिक्षक पदमा नियुक्ति दिने र अस्थायी शिक्षक नियुक्ति नगर्ने व्यवस्था मिलाउने, पाठ्क्रम विकास केन्द्रले विद्यार्थीको स्तर र आवश्यकताअनुसारको पाठ्यक्रम एवम् पाठ्यपुस्तकको निर्माण गर्ने व्यवस्था मिलाउन जरुरी छ ।

शिक्षा मन्त्रालयले विद्यार्थी संख्याअनुसार थप शिक्षकको व्यवस्था गरी सामुदायिक विद्यालयको गुणस्तर र पहुँचमा सुधार गर्दै लाने खालको नीति नियम बनाई शिक्षण सिकाइ प्रभावकारी बनाउने व्यवस्था गर्नुपर्छ । यस त्यसपछि मात्र सामुदायिक विद्यालयको खस्कँदै गएको नतिजामा सुधार ल्याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्