डा. देवकोटाको आत्माले नेताहरुलाई के भन्यो होला ?



-पुष्करलाल श्रेष्ठ

-पुष्करलाल श्रेष्ठ
प्रख्यात न्यूरोसर्जक डा. उपेन्द्र देवकोटालाई राजकीय सम्मान दिने निर्णय गरेर चीन गएका मितव्ययिताको नारा दिने प्रधानमन्त्री केपी ओली ११९ जनाको जम्बो टोली बोकेर स्वदेश फर्किसकेका छन् ।

बाँचुन्जेल आफ्नै पार्टीको षड्यन्त्रका सिकार बनाइएका नेपाली चिकित्सा क्षेत्रका हीरा मानिने डा. देवकोटालाई मरेपछि गर्न खोजिएको यो सम्मान पनि कतै ओलीको सस्तो लोकप्रियता कमाउने नियमित चाल मात्र त होइन ? भन्ने कुरा मर्नुअघि डा. देवकोटाले आफ्नो अनुभव र अनुभूतिलाई संगालेर व्यक्त गरेका ‘मेरो माटो, मेरो चन्दन’ को शृङ्खला–२८ पढ्ने जो–कोही पाठकलाई सजिलै अनुभूति हुन्छ । किनभने लामो समयदेखि मृत्युलाई कुरेका र ‘राष्ट्रिय नायक’ मानिएका डा. देवकोटालाई जोगाउन राज्यबाट अन्तिम समयसम्म के–कस्ता उपायहरु अवलम्बन गरिएका थिए भन्ने बारे एउटा पनि समाचार पढ्न पाइएको थिएन ।

राष्ट्रका लागि अविस्मरणीय योगदान दिने स्वाभिमानी व्यक्तित्वहरुलाई बाँचुन्जेल पीडा दिने र मरेपछि गोहीको आँसु बगाउने हाम्रा नेताहरुको द्वैधचरित्र स्वर्गीय डा. देवकोटाले यो शृङ्खलामा व्यक्त गरेका मार्मिक अभिव्यक्तिहरु पढेपछि घामजत्तिकै छर्लङ्ग हुन्छ । जीवनमा मर्नुअघि उनले एउटा ठूलै सपना बोकेका रहेछन्– नेपालमा न्यूरोलोजीको छुट्टै अस्पताल बनाउने, न्यूरो सर्जरीको सेवा स्थापित गर्ने, न्यूरो सर्जरीको तालिम देशभित्र नै सञ्चालन गरी आफ्नै मुलुकमा न्यूरोसर्जकहरु उत्पादन गर्ने र न्यूरो सर्जरी एवम् न्यूरोलोजीको विशाल इन्स्टिच्युट बनाई इन्स्टिच्युट अफ न्यूरो साइन्स स्थापना गर्ने ।

यी चारवटा महान् उद्देश्यहरु बोकेर लागेका डा. देवकोटालाई प्रधानमन्त्री अध्यक्ष भएको तत्कालीन नेकपा एमालेका नेताहरुले गरेका षड्यन्त्र मर्नुअघिसम्म पनि खप्न नसकेपछि उनले यो २८ औं शृङ्खलाको शीर्षक नै ‘मविरुद्ध षड्यन्त्रकारीहरुले ठूलो षड्यन्त्र गरे’ भनी राखेको कुराबाट पनि माथिको कुरा पुष्टि हुन्छ ।

स्वर्गीय देवकोटाले वरिष्ठ पत्रकार युवराज घिमिरेमार्पmत यो शृङ्खलामा व्यक्त गरेका केही मार्मिक अंशहरुलाई देश सञ्चार अनलाइनबाट यहाँ जस्तातस्तै साभार गर्ने प्रयास गरेको छु । पढौं अब उनकै शब्दमा–

न्यूरोलोजीलाई, न्यूरोसर्जरीलाई कसरी बाइपास गर्ने भनेर धेरै तल्लो लेबलको पोलिटिक्स खेलियो । म पछि पनि आउँछु त्यसमा, त्यो मेरो लागि एकदमै तीतो अनुभव हो । त्यसलाई म मीठो बनाएर भन्न सक्दिनँ । किनभने मेरो जिन्दगीको धेरै बहुमूल्य समय बर्बाद भएको छ । अन्तिममा ठूलो षड्यन्त्रमूलक तरिकाले न्यूरो सर्जरी, न्यूरोलोजीलाई त्यो दौडबाट ‘आउट’ गरियो । त्यसलाई मैले धेरै सहज तरिकाले लिएको छैन । एउटा मान्छेको जिन्दगी त्यहाँ व्यतीत गर्न लगाइयो । मेरो कन्सेप्ट पहिलादेखि नै क्लियर थियो ।

यी चारवटा विषयमा केन्द्रीय लेबलमा ठूला इन्स्टिच्युट चाहिन्छ । अनि त्यसका शाखा–प्रशाखाहरु अन्त लैजाने हो । यिनीहरु हरेक अस्पतालमा खोल्न सकिँदैन । बेलायत सरकारले सकेन, अमेरिकाले सकेन भने नेपालले सक्दैन । अहिले जे भइरहेको छ, हरेक नर्सिङ होममा एउटा एउटा डिपार्टमेन्ट सबै विषयको, त्यो गलत हो । उनीहरुले स्तरीय सेवा दिन सक्दैनन् । यी चारवटा विशेषज्ञ सेवाहरु केन्द्रीय स्तरमा या केन्द्रीकृतरुपमा हुन्छ । अरु सेवाहरु विकेन्द्रीकृत गरिन्छ । तर हाइली स्पेसलाइज अथवा कार्डियोलोजी, न्यूरो सर्जरी, न्यूरोलोजीको, क्यान्सर र बच्चाका सेवाहरु जहिले पनि केन्द्रीकृत हुन्छन् ।

त्यो इन्स्टलमेन्टमा हुन्छ, पहिला रिसर्च हुन्छ, तालिम हुन्छ अनि सेवा पनि उपल्लो स्तरको हुन्छ । त्यो उद्देश्य लिएर आएको म केही महिनापछिदेखि नै अब इन्स्टिच्युट खोल्नुप¥यो भनेर दौडिन थालें । त्यो बेलामा अहिले कार्डियोलोजी इस्टिच्युटका डाइरेक्टर हुने व्यक्तिले मेडिसिन पनि पढ्न थाल्नुभएको थिएन होला । क्यान्सरका विशेषज्ञ यो देशमा जन्मेका पनि थिएनन् । उनीहरुभन्दा पहिला म इन्स्टिच्युट चाहिन्छ भनेको मान्छे । नबुझेर होइन, बुझेर ।

तर दुर्भाग्य के भने, मैले भित्रभन्दा धेरै शत्रु या एड्भर्सरीहरु कमाएको रहेछु । पेसागतरुपमा मलाई सहयोग गर्न धेरै मान्छेहरु अगाडि आउनुभएन । तर कहिलेकाहीँ आपत् पनि अवसर लिएर आउँछ । पूर्वमन्त्री रवीन्द्रनाथ शर्माजीको छोराको एक्सिडेन्ट भएर वीर हस्पिटलमा भर्ना भएको बिहान ५ बजे फोन आयो । मैले बिहान ५ बजे नै गएर तत्काल अप्रेसन गरें ।

टाउकोमा रगत जमेको रहेछ । राति कतै दुर्घटना भएर सडकमा लडिरहेको । नाजुक अवस्था थियो । मैले बिहान साढे ८ बजे अप्रेसन सकें र बल्ल–बल्ल उहाँलाई बचाएँ । त्यो बेलामा मैले गरेको काम देखेर, त्यहाँको शैली देखेर रवीन्द्रनाथ शर्माजी असाध्यै प्रभावित पनि हुनुभएछ । मैले केही गरौं भन्दा उहाँ प्रतिबद्ध पनि हुनुभयो । मैले मेरो सपना बताएँ ।

मेरो यस्तो न्यूरोलोजिकल इन्स्टिच्युट बनाउने उद्देश्य छ, देशको लागि राम्रो हुन्छ । ‘ल शुरु गरिहालौं । सरकारले गर्दैन, पैसा छैन भने यसलाई हामीले एउटा नन गभर्मेन्टल अर्गनाइजेसनमार्पmत चलाऊँ’ भन्नुभयो उहाँले । एउटा कमिटी पनि बनाऊँ भनेर कमिटी पनि बनाइयो । त्योचाहिँ म फर्केर आएको वर्ष नै हो, २०४६।४७ सालतिर । कमिटी बनाइयो धेरै सोचेर । डाक्टर भेषबहादुर थापालाई पनि राखियो । उहाँ भएमा अन्तर्राष्ट्रिय सहयोग उठाउन पनि सजिलो हुन्छ । अमेरिकामा राजदूत भइसक्नुभएको मान्छे ।

यसपछि बिजनेस कम्युनिटीलाई मोबिलाइज गर्न पियूषबहादुर अमात्यलाई राखियो कमिटीमा । यसरी प्रतिष्ठित मान्छेहरु राखेर हामीले कमिटी बनायौं । उहाँको पियोर उद्देश्य यो प्रोजेक्टले टेकअफ गरोस् भन्ने नै थियो । अनि मैले आर्किटेक्चर लगाएर, नक्सासक्सा बनाएर, आफ्नो रिक्वायरमेन्टहरुको विवरणसहित राखेर, एउटा ठूलो ढड्डा बोकेर हिँड्न थालेँ झोलामा ।

पहिला हामीले संस्था दर्ता ग¥यौं, त्यसपछि जग्गा खोज्नतिर लाग्यौं । मैले विभिन्न क्षेत्रको विशेषज्ञ चाहिन्छ भनेर मेरो साथी तथा भागवत नेपाल आँखाको डाक्टरलाई पनि राखेको थिएँ कमिटीमा । ऊ पनि असाध्यै कटिबद्ध मान्छे । अवनिभूषण डाक्टरसाब् पनि लाग्नुभो । रवीन्द्रनाथ शर्माजीको छोरा उहाँको ज्वाइँ । उहाँसहित हामी तीनजना डाक्टर कहिल्यै पनि शनिबार घर बसेनौं । काठमाडौं भ्यालीभित्र कहाँ जग्गा छ, खोज्दै हिँड्यौं ।

सार्वजनिक जग्गा फेला पर्नेबित्तिकै ‘ल यसमा न्यूरोलोजिकल सेन्टर बनाउने भन्थ्यौं । भ्यालीभित्र मैले नहेरेको जग्गा छैन । ५० रोपनीभन्दा बढी भएको जग्गा सबै मेरो रेकर्डमा थियो । तीलगंगा आँखा प्रतिष्ठान भएको ठाउँमा पनि अस्पताल बन्नुभन्दा अगाडि नै हामीले आँखा लगाएको हो । टोखामा सबै ठाउँमा हामीले जग्गा हेरेका थियौं । अहिले क्रिकेटको मैदान बनिरहेको गोठाटारमा हे¥यौं, हामीलाई लिन पनि आए । यहाँ हुन्छ भनेर गोठाटारका जनताले हामीलाई अफर गरेका हुन् ।

तर, नेपाल अनौठो ठाउँ रहेछ । पहिला यहाँ हुन्छ भनेर बोलाउने र पछि के देख्छन् कुन्नि, एउटा–एउटा झ्याङ्ग्रो थाप्ने । जग्गा पाउन हामीलाई असाध्यै गाह्रो भो । अन्तिममा टोखामा ७० रोपनी जग्गामा आँखा लाग्यो । धेरै अगाडि गयौं । पाउने भयौं र मन्त्रालयमा हामीले त्यसको लागि दरखास्त दिँदाखेरि मन्त्रालयका एकजना त्यस्तै बुझक्कडले ७० रोपनीलाई काटेर १५ रोपनी बनाइदिनुभयो । अब यहाँदेखि टोखा पुग्नु छ, स्टाफ क्वाटर पनि बनाउनुप¥यो, विशाल अस्पताल बनाउनु छ । इन्स्टिच्युट बनाउनु छ ।

१५ रोपनी जग्गा दिएर डेढ मिटर कपडामा सुट सिलाऊ भनेजस्तो भयो । यो सबै मन्त्रालयले कोअपरेट गर्न नखोज्या भन्ने बुझ्यौं । त्यो पनि काम लागेन । मनमोहन अधिकारीजी मेरो छिमेकी, उहाँले मैले दौडधुप गरिरहेको देखिरहनुभएको थियो । उहाँ अपोजिसनको नेता हुनुहुन्थ्यो । मैले घर बनाउन थालेदेखि नै शनिबार उहाँ आउनुहुन्थ्यो । हामी कहिलेकाहीँ मेरो घर बनाउने साइडमा मासु–चिउरा खाजा खाने गथ्र्यौं ।

मेरो सपनाको अस्पतालको जग्गाको लागि म दौडधुप गरेको उहाँलाई थाहा थियो । मलाई डाक्टर भन्नुहुन्थ्यो उहाँ । ‘पख डाक्टर’ भन्नुभयो । उहाँले राम्रो अंग्रेजीमा भन्नुभयो, उहाँले जति राम्रो अंग्रेजी बोल्ने नेपाली नेता मैले भेटेको छैन ।

‘पर्ख डाक्टर, हाम्रो एमालेको सरकार बनेपछि तिमीलाई बजेट पनि निकासा गराउँछु । तिमीले मेहनत गरेको पनि देखेको छु, र हामी राम्रो जग्गा नि दिलाउँछौं ।’ त्यसको केही समयपछि मध्यावधि चुनाव भयो, सबैभन्दा पहिले मनमोहनजीको नै रिजल्ट डिक्लियर भयो, उहाँले जित्नुभयो । उहाँले अघिल्लो दिन जित्नुभएको, म भोलिपल्ट बिहान बधाई दिन पसें उहाँको घरमा । म छिमेकी, अस्पताल जाने बेलामा पसें । त्यो बेलामा धेरै रिजल्ट आएको थिएन, मनमोहनजी राति अबिर यात्रा गरी आएर सुत्नुभएको रहेछ ।

अबिरको धूलोले उहाँको अलि–अलि स्वास बढेको, दम बढेको । कात्तिकको महिना नुहाउन नसकेर त्यत्तिकै सुत्नुभएको रहेछ । बिहान उठेर माटोको हिटरमा ‘डाक्टर म चिया बनाउँछु खाएर जाऊ’ भन्नुभयो । त्यो बडा स्नेहको आग्रह थियो । केही दिनपछि प्रधानमन्त्री हुने मान्छेले मलाई एउटा ससम्मान माटोको हिटरमा पानी उमाली चिया बनाएर खुवाउँछ । त्यसमा आनन्द र आदर दुबै महसुस गरें मैले । हामी दुबैजनाले खायौं ।

‘तपाईंलाई रुघा लाग्न लागेको छ, अबिरको धूलोले दुःख दिएको छ, घाम लागेपछि नुहाउनुस्, म अस्पताल जान्छु’ भनें र निस्किएँ । दिनभरि म अस्पतालमा । काम सक्दा धेरै रिजल्ट आइसकेको थियो । अनि साँझमा फर्कंदाखेरि मेरो टोलमा ट्राफिक जाम । अब मनमोहनजीलाई घेर्न अरु नै मानिसहरु आइसकेका थिए ।

अब डाक्टरले एक्सेस पाउने कुनै सम्भावना थिएन, तर मलाई थाहा थियो, उहाँ त्यस्तो शक्तिले उन्माद हुने मानिस होइन, उहाँले त्यो प्रतिबद्धता बिर्सनुभएको थिएन । यतातिर हामी एनजीओ बनाएर लागिपरिरहेको, मनमोहनजीले त्यो भन्नुभएको र मनमोहनजी प्रधानमन्त्री हुनुभएको अवस्था ।

एकदिन उहाँले फोन गर्नुभयो– ‘डाक्टर मैले तपाईंलाई भनेको बिर्सेको छैन, एउटा राम्रो सम्भावना यहाँ देखाप¥यो ।’
मैले सोधेँ, ‘के हो ?’
‘हामीले छाला जुत्ता कारखाना बन्द गर्दै छौं बाँसबारीको । त्यो जग्गा तपाईंको अस्पतालका लागि म उपलब्ध गराउँछु ।’ उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो, माधवकुमार नेपाल उपप्रधानमन्त्री ।

 

म जे भन्दै छु, रेकर्डमा जाओस् । यो इतिहासमा जानुपर्छ । नेपाल भनेको षड्यन्त्रै षड्यन्त्रले बनेको देश हो, त्यो बेलासम्म कार्डियाक इन्स्टिच्युटको कुनै सम्भाव्यता, सम्भावना कसैले देखेकै थिएन, पछि आएका कुराहरु हुन् सबै । आउँदा त्यो सबैभन्दा चाँडै आयो । तर के हो भने, त्यो बेलासम्म कुनै पनि कार्डियाक सर्जन, छँदै थिएनन् नेपालमा । उनीहरु वीर अस्पतालकै दुई–चारवटा बेड, टिचिङ अस्पतालकै दुई–चारवटा बेडमा मख्ख परेर बसिरहेका थिए ।

मनमोहनजीले जुत्ता कारखानामा तपाईंको अस्पताल बनाउनुपर्छ भन्नुभयो । मख्ख परें । तब न मनमोहन, आपूmले गरेको कुरा नबिर्सने । अनि त्यही अनुसार त्यहाँ म मुभ गर्दै थिएँ, दुई दिन भित्रमा यति ठूलो षड्यन्त्र भयो, अहिले पनि यो षड्यन्त्र गर्नेलाई ‘फरगिभ’ गर्न सक्दिनँ म । म अहिले जुन अवस्थामा छु, स्वास्थ्यको दृष्टिले, मैले सबैलाई क्षमा दिनुपर्छ । तर दुई–चारजना यस्ता व्यक्ति छन्, जसले यति ठूलो षड्यन्त्र गरे, उनीहरुलाई म क्षमा दिन सक्दिनँ । म भन्न चाहन्न, उनीहरुले बुभ्mछन्, त्यति तल पुगेर षड्यन्त्र गरेको भनेर ।

प्रधानमन्त्री मनमोहन अधिकारीले न्यूरोलोजिकल इन्स्टिच्युटको लागि तोकेको जगा हो त्यो बाँसबारीको छाला जुत्ताको जमिन, त्यसपछि उहाँका पार्टीका लाउकेहरु निस्किएर कहाँ–कहाँबाट कार्डियोलोजी इन्स्टिच्युटको योजना उफार्न थाले । भेलिपल्टदेखि त त्यही जमिनमा कार्डियो र न्यूरो दुबै बनाउने भन्न थाले ।

त्यसपछि म माधवकुमार नेपाललाई भेट्न गएँ । ‘यो के षड्यन्त्र भयो ?’ भन्दाखेरि उनले भने, ‘त्यसो भए दुईवटै बनाउने,’ ‘कार्डियाक र न्यूरो’ दुईवटै बनाउने भन्ने भयो । चौथो दिनमा जाँदा त न्यूरो आउट, कार्डियाक मात्र, त्यसमा दुई–चारजना खलनायकहरु छन् । तिनीहरुको नाम लिएर म तिनीहरुलाई ठूलो बनाउन चाहन्न । एमालेको कार्यकर्ता पनि हुने, उतातिरचाहिँ पूर्वाग्रही तरिकाले न्यूरो सर्जरीको विरुद्धमा लाग्ने । यसमा एक–दुईजना डाक्टरहरु पनि छन् । तिनीहरुले पनि भूमिका खेलेका छन् ।


त्यो बेलामा न्यूरोलोजी, न्यूरो सर्जरीमा लागेका मान्छे पनि मेरा पक्षमा आएनन्, त्यो अप्ठेरो घडीमा । मैले देशको लागि गर्न खोजेको, मसँग कन्सेप्ट पनि थियो, आइडिया थियो र एक्सपिरियन्स पनि, यो पेनफुल स्टोरी मैले भन्नै पर्छ ।


त्यसपछि न्यूरो सर्जरी कम्प्लिट्ली आउट । उनीहरुले कार्डियाक इन्स्टिच्युट बनाउने निर्णय गरे । त्यही बेलामा मनमोहनजी हेलिकप्टर क्र्यास भएर टिचिङमा भर्ना हुनुभएको थियो । उहाँको ढाडमा लागेको चोट मैले हे¥या हो । अनि मैले गएर मनमोहनजीलाई त्यो सबै कुरा बताएँ । पद्मरत्न तुलाधरजी स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो, त्यो बेलामा ।

पद्मरत्न तुलाधरजीलाई यसरी उहाँका वरिपरिका मान्छेहरुले दिमाग भुटेका थिए कि उहाँले अरुको कुरा सुन्दै सुन्नुभएन, उहाँले धेरै पछि रियलाइज गर्नुभयो, ममाथि अन्याय गरेका थिए भनेर, त्यसपछि उहाँले कहिल्यै मतिर सीधा हेर्न सक्नुभएन । मनमोहनजीले अस्पतालको बेडबाट पद्मरत्न तुलाधरलाई फोन गर्नुभो, तर स्वास्थ्यमन्त्रीको आफ्नै राजनीति, सबै कुरा यति छिटो मुभ भयो कि कार्डियाक सेन्टर बनाउने भनेर उद्घाटन गर्नतिर लागे उनी ।

प्रधानमन्त्रीले न्यूरोलाई दिएको जग्गा जाने भो, म त तयार थिएँ, मास्टर प्लान लिएर बसिरहेको थिएँ । उनीहरुले डाक्टर देवकोटाले घर घडेरी बनाउँछ भन्ने सम्झे । व्यक्तिगत सम्पत्ति बनाउन लाग्या जस्तो गरे ।

रातारात एकजुट भएर लागेका र भोलि गएर न्यूरोलोजी इन्स्टिच्युट खोल्न भनी लागेका मेरा भाइहरुको पनि बुद्धि भुटियो । शायद उनीहरुलाई भनियो होला कि देवकोटा यति सिनियर छ, त्यहाँ तिमीहरुको केही भूमिका हुँदैन, त्यसैले तिमी त्यसमा नलाग, कार्डियाक सर्जरी, कार्डियोलोजी ल्याउन सहयोग गर, पछि केही तरिकाले सहयोग गरौंला भनेर शायद त्यहाँ बार्गेनिङ भएको हुनुपर्छ । त्यो बेलामा न्यूरोलोजी, न्यूरो सर्जरीमा लागेका मान्छे पनि मेरा पक्षमा आएनन्, त्यो अप्ठेरो घडीमा । मैले देशको लागि गर्न खोजेको, मसँग कन्सेप्ट पनि थियो, आइडिया थियो र एक्सपिरियन्स पनि, यो पेनफुल स्टोरी मैले भन्नै पर्छ । किनभने यहाँबाट बिदा हुने बेलामा कसैसँग डराउनु छैन मैले । यो षड्यन्त्रकारीहरुले गरेको षड्यन्त्र मैले भन्नै पर्छ । हुन त तिनीहरु कोही पनि त्यहाँ काम गर्दैनन् । लेखनाथ पौडेलले पिँजडाको सुगामा भन्नुभएको जस्तै, ‘गुणको बैरी मानिस जाति,’ मेरो योग्यता र प्रतिबद्धता मेरो बैरी बन्यो ।


डा. देवकोटाले निजी प्रयासमा बनाएको अस्पतालमा राखिएको उनको शवमा श्रद्धाञ्जली दिन गोहीको आँसु बगाउँदै पुगेका प्रधानमन्त्री केपी ओलीदेखि सबैभन्दा बढी संख्यामा पुगेका तत्कालीन नेकपा एमालेकै नेताहरुलाई डा. देवकोटाको आत्माले के भनिरहेको होला ?


एनिवे, त्यो घटना विस्तृतरुपमा भन्छु म । भोलिपल्ट उद्घाटन हुनेवाला थियो । मनमोहनजी स्पाइनल फ्याक्चर भएर सुतिराख्नुभएको छ । उहाँका स्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरले बाँसबारी छाला जुत्ता कारखानामा कार्डियाक सेन्टर बन्छ भनेर डिक्लियर गर्दैै हुनुहुन्छ । मनमोहनजीले अस्पतालको बेडबाटै भन्नुभयो, पद्मरत्न तुलाधरज्यूलाई– ‘गएर केही पनि धेरै नबोल, त्यो कार्डियाक सेन्टरका लागि मात्र हैन ।’ उहाँले चेतावनी दिँदादिँदै उहाँको मातहतका स्वास्थ्यमन्त्रीले कस–कसको उक्साहटमा उहाँको कोटरी क्लब र त्यसको सदस्यको बहकाउमा जानाजान प्रधानमन्त्रीको आदेशको उल्लंघन गरेर कार्डियाक सेन्टर बनाउने भनेर डिक्लियर गर्नुभयो ।

बाँसबारीबाट हामी कम्प्लिट्ली आउट भयौं । यसरी न्यूरोलोजिकल इन्स्टिच्युट सरकारी संस्थाबाट बनाउने मेरो सपना, अथवा मैले बोकेको सपना चकनाचुर भयो, ध्वस्त भयो । यो ठूलो षड्यन्त्रपछि मैले रियलाइज गरेँ, ‘अब केही गर्ने हो भने गैरसरकारी पनि होइन, सरकारी पनि होइन, मजासँग ट्याक्स तिर्ने, लोन लिने, प्रोफिट धेरै नकमाउने, कमाएको प्रोफिटले संस्था नै अगाडि बढाउने, यो विवशता र परिस्थितिमा प्राइभेट संस्था खोल्ने’ निर्णय गरें ।

हो, यही निर्णयपछि डा. देवकोटाले निजी प्रयासमा बनाएको अस्पतालमा राखिएको उनको शवमा श्रद्धाञ्जली दिन गोहीको आँसु बगाउँदै पुगेका प्रधानमन्त्री केपी ओलीदेखि सबैभन्दा बढी संख्यामा पुगेका तत्कालीन नेकपा एमालेकै नेताहरुलाई डा. देवकोटाको आत्माले के भनिरहेको होला ?

 

प्रतिक्रिया दिनुहोस्