कार्यालयको काम चुस्त बनाऊ



दैनिक सयौं सवारीसधानका कागजातको काम गर्नुपर्ने यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभाव छ । सरुवा भएर गएका कर्मचारीको दरबन्दीमा यातायात व्यवस्था विभागले समयमा नयाँ कर्मचारी पठाउन नसक्दा सेवाग्राहीहरु मर्कामा छन् ।

कार्यालयका अन्य शाखामा कर्मचारी काम चलाउ हिसाबमा भए पनि प्राविधिक शाखामा काम गर्ने कर्मचारी छैनन् । प्रविधिक शाखामा काम गर्ने कर्मचारी नभएका कारण यातायातका साधनको दर्ता, नविकरण लगायतका काम प्रभावित भएका छन् । एकातर्फ समय सकिएलगत्तै ट्राफिक प्रहरीले म्याद नाघेका कागजात चलाएको खण्डमा राजस्व असुल्ने भएकाले समय पुगेका कागजात नविकरण गर्नुपर्ने बाध्यता व्यवसायीलाई छभने अर्कोतर्फ असार मसान्तको समय आएकाले बर्षभरि बाँकी रहेका कतिपय दर्ता नविकरण र राजस्व बुझाउनेको चाप कार्यालयमा छ ।

यातायात व्यवसायीले प्रविधिकको अभावकै कारण दैनिक सम्पादन हुने सेवा समेत लिन पाएका छैनन् । करिब तीन सातादेखि यातायात व्यवस्था कार्यालय धौलागिरीमा प्राविधिकबिहिन नै छ । दैनिक व्यवसायीको लाम लाग्ने कार्यालयमा लामो समय प्राविधिक कर्मचारी नहुँदा लाभग्राहीको संख्या समेत खप्टिंदै गएको छ ।

प्राविधिक ईन्जिनियर नहुँदा यातायातका साधनको जाँचपास हुन सक्दैन । सवारी जाँचपास नभएसम्म दर्ता र नविकरण लगायतका काम नहुने कानुनी बाध्यता छ । जाँचपास नपाएका कारण व्यवसायीले दर्ता र नविकरणको सेवाबाट त बन्चित हुन्छन् नै राज्यले प्राप्त गर्ने राजस्व संकलनमा समेत प्रभावित भएको छ ।

दैनिक सयौंको संख्यामा सेवाग्राही आउने कार्यालयको प्राविधिक कर्मचारी सरुवा गर्दा कार्यालय र सम्बन्धित विभागले समेत ध्यान दिनुपर्ने कुरा हो । यदि विभागले समयमा कर्मचारी पठाउन नसक्ने होभने लामो समय सेवा नै प्रभावित हुने गरी गराईएको सरुवाको विषयमा सम्बन्धित विभागले जवाफ दिनुपर्छ । समयमा राजस्व बुझाएर दर्ता तथा नविकरण गर्न गएका व्यवसायीलाई सेवा दिन नसकेका कारण समयसिमा सकिएर हर्जना तिर्नुपर्ने अवस्थामा पुगेमा त्यसको जवाफदेही को हुने ?

धौलागिरीमा कानुन अनुसार दर्ता भएका झण्डै ५ हजार यातायातका साधनहरु रहेका छन् । यि सबै यातायातका साधनका सबैखाले कानुनी प्रक्रियाहरु सम्पादन गर्नुपर्ने यातायात व्यवस्था कार्यालयले सम्बन्धित विभागलाई ताकेता गरेर तत्काल कर्मचारीको व्यवस्थापन गर्ने वा विभागले तत्कालै व्यवस्था गर्न नसकेको खण्डमा करारका कर्मचारी नियुक्ति गरेर भए पनि काम रोकीनु हुन्न । आज यातायात व्यवसायीको काम रोकिएका कारण भोली सार्वजनिक यातायातका साधन प्रयोग गर्ने सम्पुर्ण सर्वसाधारणमा यसको असर पर्ने सम्भावना रहन्छ ।

त्यसैले कार्यालयको कमजोरीका कारण समयमा दर्ता तथा नविकरण गर्न नपाएका व्यवसायीमा आएको आक्रोस कम गर्न र समयमा कार्य सम्पादन गर्नको लागि विभागलाई ध्यानाकर्षण गराएर तत्काल स्थानिय स्रोतको परिचालन गर्न आवश्यकता छ । सरकारी निकायमा भएको यो चरम लार्पवाही तल्लो तहबाट भएको नभई उपल्लो तह विभागबाट नै भएकाले यस्तो खालको लार्पवाही दोहोरिन नदिनको लागि सम्बन्धित निकायले ध्यानाकर्षण गराउन समेत आवश्यक छ ।
– सुरज कार्की, बाग्लुङ

प्रतिक्रिया दिनुहोस्