प्रमको फलदायी चीन भ्रमण



प्रधानमन्त्री केपी शर्मा ओली १२० सदस्यीय प्रतिनिधिमण्डलको जम्बो टोलीसहित ६ दिने चीन भ्रमण गरेका छन् । चीनप्रति बढ्दो लगाव र चासो बढिरहेको सन्दर्भमा ओलीको भ्रमणले नेपालको विकासमा फड्को मार्ने अवसरका रुपमा प्रचार गरिएको छ ।

भारत सरकारको हेपाहा र मिचाहा व्यवहारका कारण नेपाली समाजमा वितृष्णा अझै पनि कायमै रहेको पाइन्छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको धार्मिक भ्रमणले केही हदसम्म वितृष्णा हटेको बताइए पनि सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रिया नकारात्मक नै बढी देखिएबाट नेपाली समाज चीनका हकमा बढी आशावादी देखिन्छ ।

ओलीको चीन भ्रमणका क्रममा सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा आर्थिक क्षेत्र उत्साहित भइरहेको छ । चीन भ्रमणमा ऊर्जा, जलस्रोत, सिमेन्टजस्ता उद्योग स्थापनालगायतका परियोजना निर्माण गर्ने विषयमा सम्झौता भइसकेको छ । यस्तै, रेलमार्गदेखि तेल भण्डारसम्मका परियोजनाका विषयमा समेत सहमति हुने अपेक्षा गरिएको छ ।

विगतदेखि नै नेपाल चीनको सबैभन्दा भरपर्दो मित्र रहिआएको वास्तविकतालाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीले विकास परियोजनामा ‘ब्रेक थ्रु’ गर्न विश्वासको वातावरण सिर्जना गर्ने अपेक्षा धेरैले गरिरहेका छन् ।

नेपालले दक्षिण एसियाली शक्तिका रुपमा विकसित भारत र विश्व शक्तिका रुपमा उदाएको चीनसँग समदूरीको सम्बन्ध कायम राख्नु उचित देखिन्छ । यी दुवै मुलुकसँग असल मित्रका रुपमा आफूलाई प्रस्तुत गर्नुपर्छ । चीन उदीयमान विश्व अर्थतन्त्र र सामरिक शक्ति भएकाले हिमालपारिको नेपाल चीनका लागि दक्षिण एसिया प्रवेश गर्ने सहज ढोका बन्न सक्नुपर्छ । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने र राज्यसँग सम्बन्ध नबिगार्ने चिनियाँ नीतिले नै नेपाल–चीनबीच मैत्रीपूर्ण सम्बन्ध कायम रहिआएको हो ।

चीनले नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतालाई सदैव सम्मान गर्दै आएको छ । चीन नेपालमा समृद्धि, विकास र स्थायित्व चाहेकै कारण दुई देशको सम्बन्धका आयामहरु फराकिलो बन्दै आएको छ । विश्वकै शक्तिशाली मुलुकमा उभिइसकेको सफल छिमेकी चीनसँग नेपालले लिनसक्ने अथाह सेवासुविधा छन् । तर, कूटनीतिकरुपमा नेपालले अपेक्षित लाभ भने लिन सकेको देखिँदैन । भारतीय नाकाबन्दीको समयमा चीनसँग जोडिएका सातवटा नाका खोल्ने विषयमा पनि विगतमा सरकार उदासीन नै रह्यो । चीनसँग इन्धन सम्झौता, नाकाहरु सञ्चालन तथा जलविद्युत्मा लगानीको वातावरण सिर्जना गर्न चासो देखाएको खण्डमा नेपालले एउटै देशसँग परनिर्भर हुनुपर्ने परम्पराको अन्त्य गर्न सक्ने देखिन्छ ।

ओलीको जम्बो भ्रमण फलदायी हुने प्रचार गरिरहँदा विगतमा सम्झौता गर्ने र कार्यान्वयन नगर्ने परम्पराको अन्त्य गर्ने विश्वास चीनलाई दिलाउन सक्नुपर्छ । नेपाल र नेपालीको हितलाई केन्द्र भागमा राखेर चीनसँग स्वतन्त्र व्यापारिक सम्झौता गर्न सकिएमात्र भ्रमण उपलब्धिमूलक बन्न सक्छ । नेपालले एक चीन नीति अपनाउँदै आएको छ । चीनको एकमात्र अपेक्षा नेपालमा कुनै पनि चीनविरोधी गतिविधि नहोस् भन्ने रहेको छ । नेपालले भारतलाई देखाएर चीनबाट फाइदा लिने रणनीति बनायो भने त्यो निकै प्रत्युत्पादक हुनेछ ।

नेपाली भूमिबाट चीनविरूद्ध कुनै क्रियाकलाप हुन नदिने र भारतसँग सम्बन्ध सुधार्नु चीनसँग टाढिनु होइन भन्ने सन्देश ओलीले दिन सक्नुपर्छ । नेपाल विकास र समृद्धितर्फ अघि बढिसकेको सन्दर्भमा नेपालमा लगानीमैत्री वातावरण रहेको विश्वास प्रधानमन्त्री ओलीले चिनियाँ पक्षलाई दिलाउन सक्नुपर्छ । चीनसँगको सम्बन्धलाई राजनीतिक लाभका रुपमा प्रचार गरेरमात्र हुँदैन, चिनियाँ सहयोगमा कार्यान्वयन हुने परियोजना सञ्चालन गर्न संयुक्त संयन्त्र निर्माण गरी संयन्त्रलाई पारदर्शी र जवाफदेही बनाउन पनि उत्तिकै भूमिका निर्वाह गर्नु जरूरी देखिन्छ । शुभकामना ।
– मञ्जु कार्की, काठमाडौं

प्रतिक्रिया दिनुहोस्