हाम्रा राजनीतिक शीर्ष नेता र पापचेतना



-मुक्तिवन्धु
(अपराधको अर्को नाउँ पाप हो । पाप पौराणिक शव्द हो । जस्तै “अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम् । परोपकारः पुण्याय पापाय परपीडनम् । अर्थात् अठार पुराणमा व्यासले मात्र दुईटा कुरा भनेका छन्– (१) अर्काको उपकार गर्नु पुण्य हो, (२) अर्कालाई पीडा दिनु पाप हो ।)

यस लेखको प्रसङ्ग भ्रष्टाचारबाट शुरु हुन्छ । कर्मचारीले सेवाग्राहीबाट घुस लिनु, कमिसन लिनु, उपहार लिनु मात्र भ्रष्टाचार होइन । विभिन्न बहानामा सांसद र मन्त्रीहरुले वर्सेनी राष्टिय ढुकुटीको अर्बौं रकम भागशान्ति बाँडीचुँडी खानु पनि भ्रष्टाचार हो । सांसद, मन्त्री, प्रधानमन्त्रीले आफुसँग अर्बौंैं सम्पत्ति हुँदाहुँदै वेला वेला उपचार खर्चका नाममा करोडौं रुपया अनुदान कुम्ल्याउनु पनि भ्रष्टाचार हो । तर यी कानुनले शिष्टाचार मानेका भ्रष्टाचारहरु हुन् । भ्रष्ट आचरण नै भ्रष्टाचार हो भने यसका आयाम अरु पनि धेरै हुन सक्छन् । यहाँनिर एउटै प्रश्न छ– कुनै पनि भ्रष्टाचार पाप हो कि होइन ? पाप होइन भने भ्रष्टाचार पुण्य हो त ?

मुलुकमा शासक प्रशासकहरुको आफ्नै व्यवहार भ्रष्टाचारमय छ । यसैले सम्विधान एवम् विधानका विधाता ती सम्विधायक, विधायकहरुले भ्रष्टाचारको चित्त बुझ्दो परिभाषा बनाएको र जनतालाई सुनाएको अद्यावधि जानकारी छैन । नियम कानुनका ठेली पल्टाउँदा र कुनै एक नामधारी राणाका दरवारकै नाममा चिनिने एउटा टोलमा नाम फेर्दै फेर्दै उभिने एक सरकारी आयोगका निधारमा झुण्डाइएको नामपाटीलाई आधार बनाएर जान्न खोज्दा भ्रष्टाचारको एउटा अर्थ अख्तियार दुरुपयोग पनि हो कि जस्तो बुझिन्छ, तथापि व्यवहारका आधारमा बुझ्दै जाँदा के पनि बुझिन्छ भने मुलुकका शासन प्रशासनमा बढ्दो भ्रष्टहरुकोे संख्यालाई ध्यानमा राखेर सरकारी स्तरमा विधिवत् निर्मित यी यस्ता नामधारी आयोगगृहहरु यथार्थमा नवीन शैलीमा विकसित विश्रामगृहहरु मात्र हुन् जहाँ आमन्त्रित भएर प्रवेश पाएपछि प्रवेशी व्यक्तित्वका सम्मानित कलेवरमा लागेका दाग र जमेका मयलहरु मेसैसित धुन पखाल्न राम्रो र पर्याप्त साबुनपानीको व्यवस्था उपलव्ध रहन्छ ।

विश्रामगृहहरुले प्रवेशी व्यक्तित्वका दाग मयल आफैले मात्र धुन पखाल्न नसक्दा तिनलाई अन्तिम गंगास्नानका लागि सरकारी लाबालस्करका साथ अझ ठुलो विश्रामगृहतिर सवारी चलाइदिने व्यवस्था पनि उपलव्ध छ । गङ्गोत्री यमुनोत्रीका पवित्र जलस्नानबाट महामहिम व्यक्तित्वहरु सफा शुभ्र बनेर मुस्कुराउँदै घाटबाहिर निस्केका र घाटको ढोकाकै संघारनिर सडकमा नारासहित जुटेका आफ्ना भक्तजनहरुको फूलमाला काँधभरी थापेका दृश्य बेलाबखत देखिँदै आएका छन् ।

यस्ता सरसफाइमूलक विश्रामगृह र पवित्र गंगाजल सहितका स्नानगृहहरु अस्तिको पन्चायतकालमा थिए, हिजोको सम्वैधानिक राजतन्त्रकालमा थिए, अहिलेको गणतन्त्रकालको छक्कालमा पनि छन् । शासनका नाम फेरिए पनि शासक प्रशासकहरुका नितान्त स्वार्थसन्नद्ध ‘लोकतान्त्रिक’ एवम् ‘प्रगतिशील’ प्रवृत्ति फेरिएको छैन । वृत्तिविधान फेरिएको छैन । यसैमा हाम्रो राजनीति र शासन प्रशासन नीतिको मौलिकता एवम् महानता छ । यसै पृष्ठभूमिमा फलिफापका पापहरु मौलाएका छन् ।

यसैबीच हालै एक सार्वजनिक भाषणमा कमरेड प्रचण्डबाट पार्टी एकीकरणपछि नेता कार्यकर्ताहरुको पाप पखालिएको र यसै गरी मिलेर काम गर्दै जाँदा अरु पाप पनि पखालिने तर्क राखिएको सुनियो । राजपाका नेता राजेन्द्र महतोले उनको प्रस्ताव अनुसार नेपालको सम्विधान संशोधन नगरिए सरकारलाई पाप लाग्ने उद्घोषण सुनाए । पापका बारेमा बुझ्नै पर्ने र बोल्नै पर्नेमध्येका राजनीतिक शीर्ष व्यक्तित्वहरुले साबिती बयानकै भाषामा पाप पखाल्ने कुरा उठाउनु अव सवै रत्नाकरहरु वाल्मीकि बन्ने, सवै अङ्गुलीमालहरु सन्त बन्ने महान अभियानको सूचक पनि हुन सक्छ । फौजदारी अपराधका रङ्गेहात अभियुक्त बन्न सफल सांसदहरु पनि अन्तिम फसेला नलेखिँदासम्म सत्ता एवम् तलवभत्तका साथै माननीय सम्वोधन र सुरक्षाकर्मीको सलाम पाइरहने नियम कानुनको तर्जुमा पनि सम्भावित वाल्मीकीकरण तथा सन्तकरण अभियानकै एउटा शृङ्खला हुन सक्छ ।
लाग्छ, अहिले सत्तासीनहरुबाट जे भइरहेको छ उल्लिखित पापचेतनाकै उज्ज्वल प्रकाशमा भइरहेको छ । अव हाम्रा सवै शीर्ष नेताहरु बडे बडे सन्त बन्ने अभियानमा उत्रेका छन् । सोच्दै जाँदा कहिले त कस्तो पनि लाग्छ भने हाम्रा महान् महान् राष्टिय पार्टीका महान् महान् शीर्ष नेताहरु हाम्रो लोककथामा वर्णित पापको बाउ पत्ता लगाउने अभियानमा दगुरेका विद्वान् जोगीहरु पनि हुन् । जसका थाप्लोमा महान् अभियानको नाम्लो र कुम्लोमा नगरवधूबाट प्राप्त स्वर्णमुद्राहरु छन् ।

संस्कृत भाषामा पुराना एकजना रत्नाकरको साविती–बयान श्लोक छ– “किमकारि न कार्पण्यम् ? कस्यालङ्घि न देहली ? अस्य पापोदरस्यार्थे किमकारि न नाटकम् ? अर्थात् जिन्दगीमा यस पापी पेटका लागि कुन कपट्याइँ गरिएन ? कसको ढोका कुर्न पुगिएन ? र कुन नौटङ्की नाटक गरिएन ?” यो तत्कालीन माननीय रत्नाकरहरुको साविती बयान मात्र होइन, पापचेतनाको सक्कली उद्गार पनि हो । संस्कृत भाषामा देहलीको अर्थ ढोका हो । भारतको राजधानी दिल्ली पनि यसै देहली शव्दबाटै बनेको छ । त्यो पनि एउटा ढोका नै हो ।

अहिले शीर्ष नेतामध्येका माननीय उपेन्द्र यादव बोल्नुभएको छैन । माननीय शेरबहादुर देउवा पनि बोल्नुभएको छैन । सम्माननीय केपी शर्मा ओलीलाई त अहिले बोल्न फुर्सत् पनि छैन । विभिन्न पार्टीका अन्य अभिन्न शीषर््ा नेताहरुले पनि मुख फोर्न बाँकी नै छ । पूर्व सम्माननीय पराजुली पनि बोल्नुभएको छैन । नबोल्दैमा वहाँहरुमा पापचेतना उम्रेको नहोला भन्न सकिँदैन । माननीय प्रचण्ड र माननीय राजेन्द्र महतोले त आफनो अभिनव चेतना प्रदर्शन गरिसक्नु भएको छ । यो नेपालको संसदीय राजनीतिमा नेताहरुका पापचेतना र पापमोचनका अनेकौं छलाङ्ग्मय एवम् क्रमभङ्गकारी सुन्दर सम्भावनाहरुको शुभसङ्केत हो ।

हाम्रा पूर्वजहरुले भनेका छन् प्रत्येक कालो बादलमा चाँदीको घेरा हुन्छ । औँसीका रातमा पनि प्रकाशका रेखा भेटिन्छन् । हरेक रत्नाकरमा वाल्मीकि–ग्रन्थि हुन्छ । हरेक अङ्गुलीमालमा बोधिसत्व हुन्छ । हरेक निर्मम योद्धामा अशोकको करुणाभाव लुकेको हुन्छ । मानवहृदय कुनै बन्जर मरुभूमि होइन त्यहाँ आज नभए भोलि नयाँ चेतनाको मूल फुट्न सक्छ । प्रेम र करुणाका अजस्र धारा बहन सक्छन् । असीम सम्भावनाहरुको मुहान हो मानिस । मानिस यथास्थितिबाट सरक्क माथि उठ्न सक्छ, नयाँ नयाँ सपनालाई काँधमा बोकेर दगुर्न सक्छ । यसैमा त मानिसको महानता छ । महाभारतमा पितामह भीष्मले उहिल्यै दृढताका साथ भनेका थिए—“न मानुषात् श्रेष्ठतरं हि किन्चित् ! अर्थातु सृष्टिमा मानिसभन्दा श्रेष्ठ अरु कुनै केही छैन ।”

भीष्मले भनेजस्तै श्रेष्ठतर मानिस नेपालका राजनेताहरुमा त सन्तकरणपछि क्रमशः देखिएलान् । जनतामा हिजो थिए, आज छन् र भोलि पनि रहने छन् । इतिहासकारहरुले कागतमा लेख्न हिम्मत नगरेर अलपत्र छाडेका इतिहासलाई पनि जनताले आफ्ना मनमस्तिष्कमा लेखिआएका छन् । आफ्नै जनशैलीले पुस्तान्तरमा हस्तान्तरण पनि गरिआएका छन् । यसैले त संसारमा वेद बाँकी छ । महाभारत बाँकी छ । पुराकथा, प्रथा, अनुश्रुति र असल परम्पराहरु बाँकी छन् । महावौद्ध र असनका जनताले ०४८सालमा त्यहाँ बर्सेका तत्कालीन गृहमन्त्रीका प्रजातान्त्रिक गोलीहरु बिर्सेका छैनन् ।

बालक अनिश शाक्यको हत्या बिर्सेका छैनन् । द्वन्द्वकालमा जुन परिवारका बालबालिका युवायुवति र प्रौढप्रौढाहरु बेपत्ता पारिएका थिए र अद्यावधि मरे बाँचेको यथातथ्य थाहा छैन ती परिवारका अथाह पीडा बिर्सिनसक्नुका छन्, बिर्सेका छैनन् । त्यस्तै रौतहटका जनताले नेताहरुबाट त्यहाँ घटाइएको क्रूर नृशंस हत्याकाण्ड बिर्सेको छैन । टीकापुरको आततायी हत्यानृत्य त प्रत्यक्षदर्शी जनताका दिलदिमागमा अझ ताजै छ । घटना मात्र होइन ती घटनाका चर्चित सूत्रधारहरुलाई पनि जनताले बिर्सेका छैनन् । कुरा कति मात्र हो भने नेपाली जनता सहनशील छन् । क्षमाशील छन् ।

संस्कृत भाषाका आदिकवि र नेपालका विभूति महर्षि वाल्मीकिले आफ्नो महाकाव्य रामायणमा चित्रण गरेको आदर्श राजनेताको चरित्र नेपाली नेताहरुमा फिटिक्कै नभए पनि नेपाली जनतामा प्रसस्तै छ । “समुद्र इव गाम्भीर्ये धैर्येण हिमवानिव । कालाग्निसदृशः क्रोधे क्षमया पुथिवीसमः अर्थात् गम्भीरतामा समुद्रजस्तै, धैर्यमा सगरमाथाजस्तै, रिसाएर आन्दोलनमा उत्रनु पर्दा प्रलयकालको आगोजस्तै र क्षमा गर्नुपर्दा पृथिवीजस्तै”छन् नेपाली जनता । यसैले त नेपालमा मानवताको मुक्ति र प्रगतिको उज्ज्वल सम्भावना बाँकी छ ।

साँच्चै नेपाली जनता गम्भीर छन्, बहादुर छन् । बहादुर छन् र नै धैर्यशील छन्, अदम्य क्रान्तिकारी छन् । क्रान्तिकारी छन् र नै नेपाली जनता क्षमाशील छन् । नेता र कर्मचारीका अनगिन्ती अपराध क्षमा गरेकाछन् नेपाली जनताले । यो पनि तपस्याजस्तै प्रतीक्षा हो नेताहरुमा पापचेतना उमार्न । वनवासको अत्यन्त उकालो र उराठ लाग्दो समयमा महाभारतका युधिष्ठिरले द्रौपदीसँग भनेका थिए ‘सहनशीलता पनि एउटा प्रभावकारी साधन हो । कुनै समयखण्डमा प्रतीक्षा र सहनशीलताले पनि युद्धले भन्दा ठुलो काम गर्छ—न तितीक्षा सममस्ति साधनम् ।’ नेपाली जनता आज त्यसै सहनशीलता र प्रतीक्षाको साधनामा छ ।

दश बाह्र वर्ष बित्दासम्म पनि सरकारले बेपत्ताका परिवारहरुको पीडा नबुझ्नु र उचित उपचार नगर्नु जनअपमानको पराकाष्टा हो । भयङ्कर पाप हो । रौतहटकाण्ड मानवता र मानवीय सम्वेदनाविरुद्धको अर्को भयङ्कर पापकाण्ड थियो । क्रूरकर्मको पराकाष्टा थियो । यो कुनै युद्धकालको घटना पनि थिएन । यत्रो क्रूर हत्याकाण्डले सरकारी कुनै रजिष्टरमा अपराधका रुपमा दर्ता हुने अवसरसम्म पनि पाएन । बरु यसका नायकहरुले सत्ताबाट एकपछि अर्को अग्लो पद र प्रतिष्ठा पाए । पाइरहेकै छन् । तै पनि नेपाली जनता सहनशीलताकै योगसाधनामा छन् । ‘राजनीतिका शीर्ष महापुरुषहरुमा पनि पापचेतना उम्रला ! प्रतीक्षामा छन् नेपाली जनता । टीकापुरमा नरसंहारकारी आन्दोलन चर्काउन पचास लाख रकमको प्रलोभन दिएर आन्दोलनकारीलाई उकास्ने नायकहरुले पनि ढिलोचाँडो पापचेतनाको अनुभूति गर्लान् ।

नेपालमाथि महिनौंसम्म चलाइएको नाकाबन्दी युद्धमा छिमेकी मुलुक भारतलाई सघाएर आम नेपालीे जनजीवनको घाँटी रेटेको घटनाका सम्झनाले हाम्रा ती लम्पसारप्रेमी राजनेताहरुका मनमथिङ्गलमा पनि कुनै दिन पापचेतना पलाउला । परोपदेशविधामा कुशल ती नेताहरुले यदाकदा अरुलाई उपदेश दिँदा तिनीहरु आफैभित्र पनि पापचेतनाको झिल्का निस्कला !’ जनता भन्छन्– ‘अहिले माननीय प्रचण्ड र माननीय राजेन्द्र महतोले फरक प्रसङ्गमा पापको कुरा झिक्नु द्रविड प्राणायामकै शैलीबाट भए पनि राजनेताहरुमा पापचेतना उद्गमको आश लाग्दो सङ्केत हो । जङ्गल बिमाख भएका बेला कतै एउटा अलिँडको बोट हुर्केको देख्न पाइयो भने पनि सतीसालको रुख देखेजस्तै लाग्छ । निरस्त पादपे देशे एरण्डो पि द्रुमायते !’

प्रतिक्रिया दिनुहोस्