शान्तिको गहन गजल संग्रह



-ज्ञानमणि नेपाल कालोटोपी
साहित्यकार शान्ति शर्माको पहिलो साहित्यिक कृति ‘अम्लान फूल’ बजारमा आएको छ । मर्मस्पर्शी भावहरु समेटिएको यस गजल संग्रह अम्लान फूलभित्र ६० वटा गजल समावेश गरिएका छन् । समाजमा हुने गरेका यथार्थता, आफैंले भोगेका अनुभव तथा प्रेमपरक भावहरुलाई रोचक पारामा गजलको रुपमा प्रस्तुत गरिएको अम्लान फूल आकारका हिसाबले धेरै सानो भए पनि भावका हिसाबले गहन र ठूलो रहेको छ ।

दिनभन्दा किन प्यारो रात लागेको ?
टहटह जूनेलीको मात लागेको
पारिजातलाई सुस्त भन्यो जूनले
सहिदिन्छु बरु तिम्रो बात लागेको

उनका गजलहरु गीतिलयमा लेखिएका छन् । सरल भाषाशैलीमा सजिलै बुझ्न सकिने शब्दहरु भएकाले अम्लान फूलले पाठकहरुको मन सजिलै जित्न सक्छ । उत्कृष्ट कृति भएकैले हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवनले यस वर्ष गजल श्री पुरस्कार तथा सम्मान गजलकार शान्ति शर्माको यस गजलसंग्रह ‘अम्लान फूल’लाई दिने निर्णय गरेको छ । गजलप्रेमी साहित्यिक मनहरुलाई अम्लान फूलले पक्कै आनन्दित बनाउनेछ ।

तिमीसँग आँखा जुधे तीर लाग्यो मलाई
जब तिम्रा आँखा झुके पीर लाग्यो मलाई ।

मित्रलाल शर्मा स्मृति पुस्तकालय, सोलुखुम्बुले बजारमा ल्याएको यस गजल संग्रहको मूल्य रु. १९९ अंकित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्