संस्मरण: प्रगतिवादी साहित्यकार अग्निशिखा



-मोहन दुवाल
शुकदेव नेपालसँग मेरो परिचय भएको पनि धेरै भयो । शायद २०३२ सालतिर हो उनीसँग मेरो सम्पर्क भएको । म चपलीस्थित गणेश निमाविका शिक्षक, उनी शिक्षा मन्त्रालयअन्तर्गतका कर्मचारी । हिमाञ्चल भट्टराई, बैङ्कका कर्मचारी । के.बी. महर्जन अंग्रेजी विषयका शिक्षक । लक्ष्मी महर्जन, के.बी.का श्रीमती मेरो बी.एड. पढ्दाका कक्षा–साथी ।

हप्तामा एकपल्ट हामी पाँचजनाको जम्काभेट हुने थलो के.बी. महर्जनको महाराजगन्जस्थित घर । निकै रमाइलो हुन्थ्यो त्यसताका । हामी पाँचजना साहित्य र विचारका सहपाठीहरू । विचारमा दह्रो अडान, वामपन्थी विचार रुचाउने भएकै कारणले शोषणका पक्ष विरोधी शिक्षक म । माक्र्सवादका थुप्रै सैद्धान्तिक कुरा हामी गथ्र्यौं । माथि उल्लेख भएका यी मित्रहरूले सम्मानपूर्वक मेरो विचारलाई सहमति दिनुहुन्थ्यो । अध्ययन कक्षाजस्तै चलाइएका कक्षाहरूमा हामी सैद्धान्तिक छलफल गरेर रमाउँथ्यौं ।

विचारका कुराहरू, समाज रूपान्तरणका सन्दर्भहरू, साहित्यका विविध विषयहरूमा हामी कुराकानी चलाउँथ्यौं । शुकदेव नेपाल गम्भीर प्रकृतिका एकजना युवा, जो चिन्तनशील, अध्ययनशील हुनाका साथै तर्कशील कुराहरू राख्न र पोख्न सिपालु थिए । वर्षौं दिनको उठबसपछि उनले पनि माक्र्सवादलाई आत्मासात् गरे । चपलीमा शिक्षक हुँदासम्म सम्बन्ध अटुट रह्यो । करिब दुई वर्ष हाम्रो उठबस स्मरणलायकका छन् । उनले एकपल्ट कुनै पत्रिकामार्फत प्रगतिशील बाटोमा हिँडाउने प्रथम गुरुका रूपमा मलाई स्वीकारेका सन्दर्भका कुराहरू बिर्सिनसक्नु छ ।

थानकोटमा सरुवा भएपछि सम्पर्कमा निरन्तरता कायम भएन । तर पनि म सम्झिरहन्छु, शुकदेव नेपाललाई । उनी नै हुन् पत्रिकारिता क्षेत्रका र प्रगतिशील साहित्य समाजका अग्निशिखा । मैले सङ्गत गर्दा जस्तो थियो जीवनपर्यन्तसम्म नै उनी आफ्नो आस्था र अडानमा कायम रहेर आफूलाई चिनाइरहे । पत्रकारितामा आफ्नो छविलाई राष्ट्रिय रूपमा देखाउन सफल पत्रकार, स्तम्भ लेखनमा आफ्नो कलमलाई मजबुत ढंगले देखाइरहन सक्षम स्तम्भकार, साहित्य लेखनमा प्रगतिशील भावदृष्ट्रि पोख्न सिपालु प्रगतिशील साहित्यकार अग्निशिखाको अचानक अवसान भयो । उमेर छँदै उनले मृत्युवरण गरे ।

महाराजगन्जमा हुने भेटघाटमा उनले आफ्नो शालीनतामार्फत हामीलाई प्रभावित तुल्याएको दृश्य हिजोजस्तै आज पनि चम्किरहेछ । थोरै बोल्ने तर तर्क गर्न माहिर इमानदार मित्र अग्निशिखा मैले सङ्गत गर्न पाएका धेरैजसो मित्रहरूमध्ये शालीन मित्रहरूझैं असल र गम्भीर प्रकृतिका मित्र हुन् । जसलाई भुल्न गाह्रो भइरहेछ । अग्निशिखा पछिल्लो कालक्रममा आफूलाई प्रगतिवादी नेपाली साहित्य र पत्रकारिता जगत्मा अग्निशिखाका रूपमा चिनाउन सफल देखिन्छन् । निरन्तर प्रयत्न र प्रयासका प्रतिरूप हुन्– अग्निशिखा ।

२०३४÷३५ सालदेखि नाटक र कविताका माध्यमबाट लेखन क्षेत्रमा सक्रिय रहेका यिनले रक्तबीज, इज्जत, ऊ फेरि आउनेछ, शहीदकी आमा, देश तपाईंहरूको जिम्मा नाटक÷कविताका कृतिहरु प्रकाशन गरेर आफूलाई सफल लेखकका रूपमा चिनाएका हुन् । छलफलमार्फत दृष्टि चलाएर प्रतिपक्षमा रहन मन गरेर सम्बोधनका प्रवक्त–पत्रकार भए यिनी । लहर यिनको साहित्यिक रहर बन्यो । एक्काइसौं शताब्दीका व्याख्याकार रहेका यिनी प्राचीका सम्पादक रहेर नवयुगका बान्की देखाउन सफल पत्रकार बने ।

अन्तर्राष्ट्रिय मामिला रोचक ढङ्गले विश्लेषण गर्न सिपालु भएकै कारणले यिनीद्वारा लेखिएका लेखहरू मन पराएर सबैले पढ्ने गर्छन् । ऐतिहासिक तथ्यसहितका यिनका विश्लेषण उच्च बौद्धिक कोटीका छन् । विश्वका प्रख्यात व्यक्तिहरूको जीवनी लेख्ने विश्लेषकका रूपमा चिनाउन सक्षम यिनी साहित्य र राजनीतिलाई जनताका पक्षमा ऊर्जाशील बनाउन चाहन्छन् ।

यस खालका लेखकहरू देश र समाजका लागि अत्यन्त आदर गर्नलायकका पात्रहरू हुन् । कलमलाई गद्दारहरूका समर्थनमा, देशघाती शासकहरूका पक्षमा ननिहु¥याएको कारणले पनि यिनको गरिमा उच्च र उल्लेखयोग्य छन् । देशभक्त चिहान, सलाम मुक्ति योद्धा, वधशाला विरुद्ध, भोल्गाले बिर्सने छैन, जोया, आस्थापुञ्ज, रोजाहरूले रोजेको जीवन प्रकाशित छन् । यी सबै कृतिहरुले विश्वजगत् र विश्वका इतिहास, साहित्यलाई चिनाउन उनी सफल छन् ।

शुकदेव नेपालको जन्म २०१२ असार १८ गते बौद्ध महाङ्काल, काठमाडौंमा भएको हो । एक छोरा र एक छोरीका पिता भएर जीवन सङ्घर्षमा लाग्दालाग्दै २०६५ असोज ५ गते सोमबार ५३ वर्षको उमेरमा राति अचानक अप्ठेरो परेर हस्पिटल भर्ना गराइएका यिनी पछि शहीद गंगालाल हृदयरोग केन्द्रमा पुगेर औषधि गर्दागर्दै बिहान २ बजे हृदयाघातबाट मृत्यु भएको हो । साहित्यमा मन दिएर पत्रकारितामा तन भुलेर, राजनीतिमा आस्था जनाएर कर्तव्यपथमा लम्किरहेका यिनी एमाले प्रचार विभागका सदस्य पनि हुन् । बहुमुखी प्रतिभाका धनी व्यक्तित्व अग्निशिखा ०६४ को हृदयचन्द् पत्रकारिता पुरस्कारबाट सम्मानित पत्रकार हुन् । थोरै वर्षमा धेरै गरेर गएका अग्निशिखा यस समाजका इमानदार व्यक्तित्व हुन् । अँध्यारो समाजवृत्तका आगोको बत्ती हुन्–अग्निशिखा । कवितामा पनि अग्निशिखा यसरी प्रतीक र विम्बमा बोल्ने गर्छन्–
हज्जारौं वर्षअघि
शायद
मानव सभ्यताको शुरूवातसँगै
धरतीलाई कालो फूलले ढाक्ने
कुचेष्टाविरुद्ध
रोपिएको रातो फूल
आज
दक्षिण अफ्रिकामा मात्र होइन,
उत्तरी आयरल्यान्डदेखि
नेपाली धरतीसम्म पनि
राताम्य भै फुलेको छ
रातो फूल ।
(फूल/उत्साह–२०४२ साउनबाट)
कवितामा मात्र होइन नाटक, लेख–रचना, विश्वघटना प्रसङ्ग चर्चामा आफ्नो स्पष्ट दृष्टि र अडान गर्न सिपालु यिनले अमेरिकी साम्राज्यवादका विरुद्ध लेखिगएका प्रसङ्गका हरफहरू चर्चा र उल्लेख गर्न लायकका छन् । उनी यससम्बन्धमा यसरी लेख्छन्– विश्वभरका न्यायप्रेमी जनताको रगतमा चुना घोलेर पोतिएको त्यस भवनको नाम हो– ह्वाइट हाउस । यो उनको स्पष्ट विश्व–दृष्टि हो ।

पछिल्लोपल्ट नयाँ पत्रिकामा कार्यरत अग्निशिखाले आफूलाई कहिल्यै पद र पैसामा बिक्न दिएनन् । शक्तिपीठहरूमा घुँडा धसेर राजनीतिक नियुक्तिमा पर्न ¥याल चुहाएनन् । आफ्नै आस्था र गन्तव्यमा घस्रिरहे तर बढी महत्वाकाङ्क्षा देखाएर आफूलाई गिर्न दिएनन् । धेरैले धेरै थोकको किनबेच गरे, आफूलाई धरौडीमा राखे तर यिनले आफूलाई स्वाभिमानका विम्ब बन्नबाट तल सरेर जी–हजूरी र समर्पण गरेनन् । यसैले त भन्न सकिन्छ– यिनी अग्निशिखा भएर नै गए ।

पत्रकारिता र साहित्य लेखनमा समर्पित भएकै कारणले यिनी सबका प्रिय बने । सरल, इमानदार र चरित्रवान् रहेकै कारणले यिनलाई घर, समाज, देश र आफू समर्पित पार्टीले असल मित्र ठाने । धेरैथोक गरेर आफूलाई समर्पित तुल्याएकै कारणले अग्निशिखा इतिहासको गर्तभित्र सधैँ रहने एउटा नाम बनेर गए । म भनिरहेछु शुकदेव नेपालभित्र उठेको अर्थात् दनदनी बलेको अग्निशिखालाई हेरेर यसरी–
आगो हो बल्छ
बल्नु उसको कर्म हो
बल्न नसक्दा आगोको के अर्थ
बलिरहेकै कारणले आगो बत्तिझैँ चम्किरह्यो
अर्थात्
ऊ बलिरह्यो–
बलिरह्यो, त्यसैले त बने– अग्निशिखा ।

प्रतिक्रिया दिनुहोस्