पुस्तक चर्चा: देविकाका यथार्थपरक कथाहरु



-किरण श्रेष्ठ
विगत चार दशकदेखि साहित्यिक फाँटमा राष्ट्रमा आफूलाई देखाउँदै आएका देविका तिमिल्सिना कथा विधामा सक्रिय रहँदै आएका कथाकार हुन् । कथालेखनमा मात्र नभई यिनी कविता, निबन्ध, संस्मरण आदि विधामा पनि सक्रिय छन् । वि.सं. २०११ सालमा चावहिल, काठमाडौंमा जन्मेका यिनी सम्पादन क्षेत्रमा पनि आफूलाई चिनाउँदै आएका साहित्यकार हुन् ।

यिनी विशेषतः कथाकारका रुप चिनाउन सफल छन् । मृत्यु दोस्रो पुस्ताको (२०४४) र सीमाहीन सीमा (२०५१) कथासङ्ग्रह प्रकाशित गराएर आफ्नो कथाकार पहिचानलाई पाठकसमक्ष देखाउन आइपुगेका छन् । कथा पारखीहरुका लागि यो खुशीको खबर हो ।

राजनीतिक चेतनाले व्याप्त कथाकार भएकै कारणले कथाकार देविकाले देशमा देखा परेका तीन खालका सत्ताका अनुहारहरुलाई यस कथासङ्ग्रहभित्र रहेका कथाहरुमा देखाउने प्रयत्न भएका छन् । पञ्चायती व्यवस्थाका दुःख लाग्दा निरंकुश कहरहरु, जनआन्दोलनमार्फत प्राप्त भएको प्रजातान्त्रिक सत्ताभित्रका नमिठो लाग्दो घटना–प्रसङ्गहरुका साथै लोकतान्त्रिक–गणतान्त्रिक सत्तासम्मका उराठ लाग्दो वातावरणका प्रसङ्गहरुसम्म कथामा समेट्न कथाकार सफल छन् ।

यस कथासङ्ग्रहमा १७ वटा कथा सङ्गृहीत छन् । सबैजसो कथामा समाजको यथार्थ चित्रण भएका छन् । कथामा देखाइएका र चित्रण गरिएका कथावस्तुहरु स्वाभाविक रहनुका साथै कथाका भाषा सरल रहनु कथाकारको आफ्नै वैशिष्ट्यता हो भन्नुपर्छ । अवसरवादी राजनीतिको अनुहार ठाउँ–ठाउँमा पात्रहरुमार्फत देखाइएको यस कथासङ्ग्रहमा अस्वाभाविकता कतै प्रस्तुत भएको देखिँदैन ।

धनीहरुप्रतिको सोच ‘योजना’ कथामा दुईजना वीरे र रामे उनीहरुकै भाषामा नोकर मोराहरुको गन्थन छ । आफूहरु धनी हुन नसक्नाका कारणहरुकै ‘पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ’ कथासङ्ग्रहको शीर्षक रहेको यस कथामा जुनसुकै शासनसत्ता आए पनि अवसरवादीहरुले अवसर छोप्ने कुराको पटाक्षेप गरिएको छ । ‘काले महतो’, ‘लुइँटेल मास्टर’, पिसिजीका गन्थनहरु यसमा समेटिएको छ । स्वाभिमान शिक्षक नरेन्द्र शर्माको अबको जीवनको कथा हो ‘फूलहरु झरिरहेछन्’ ।

‘अर्ति’ कथामा मुना र विजयको अनमेल जातिबीचको विवाहका प्रसङ्गहरु, ‘पसिनाको मूल्य’ मा पण्डित बाबुलाल शास्त्रीका जीवन कथाहरु, ‘अँधेरो अझै थपिइरहेछ’ रोल्पाको कथा–व्यथाहरु, ‘सम्बन्ध’ मा राजनीतिक व्यवस्था परिवर्तनपछिका राजनीतिज्ञहरुका पतनका कथाहरु, ‘सातबीस फाँटको शान्ति’, जनयुद्धकालीन कथाका अंशहरुकै कथाहरु हुन् ।

यसै गरी ‘गोमा’, ‘मूल्यहीन अस्मिता’, ‘मोह तरङ्ग’, ‘काशीराम अत’, ‘आँसु’, ‘आदेशभित्रका पीडा’, ‘नरेश दाइको चश्मा’, ‘एउटा प्रश्न’, ‘पर्दाभित्रका दृश्य’ सबै कथाहरुमा समसामयिक चित्रण, सामाजिक यथार्थ वर्णन, स्वाभाविक पात्र–पात्राको संवाद र व्यक्ति परिचय अनि लेखकको विचार–दृष्टि सबै कथाहरुमा छर्लङ्ग पारिएका छन् ।

सबैजसो कथाहरुले भन्छन्– देविका तिमिल्सिना प्रगतिशील–चेत व्याप्त समसामयिक कथाकार हुन् । कथाहरुमा गाउँले जनजीवनसँग गाँसिएका पात्रहरुको चयन हुनाका साथै सरल भाषाको प्रयोग हुनु यिनी कथाकारको वैशिष्ट्यता मान्न सकिन्छ । कथाकार देविका आफ्ना कथाहरुको सबै विम्बमा, अर्थमा र भावनामा सम्प्रेषित हुनाका कारणले सफल छन् ।

प्रतिक्रिया दिनुहोस्