गोलाप्रथाबाट आज ५९ सांसदको भाग्य परीक्षा



गंगा बराल, काठमाडौं
सुन्दा अचम्म लाग्न सक्छ गोलाप्रथाबाट नै संसद्को पद जान्छ भन्दा तर सत्य हो राष्ट्रिय सभाका ५९ सांसदको कार्यकालको विषयमा आज गोलाप्रथा हुँदै छ ।

राष्ट्रिय सभामा रहेका ५९ सांसद्मध्ये १९ जनाको २ वर्ष, बाँकी ४० मध्ये २० जनाको ४ वर्ष र रहेका थप २० जनाको कार्यकाल ६ वर्षको हुन्छ । जुन प्रक्रियाबाट पद रिक्त हुन्छ त्यही प्रक्रियाबाट निर्वाचन आयोगले रिक्त सदस्यको निर्वाचन गर्नेछ ।

राष्ट्रिय सभाको पहिलो बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यको पदावधि गणना गरिनेछ । पहिलो बैठक २०७४ साल फागुन २१ गते बसेको थियो । राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद २७ को नियम २०८ देखि २१६ सम्म गोलाप्रथासम्बन्धी व्यवस्था छ । नियमावलीको नियम २०९ मा रहेको ‘समूह विभाजन’ मा ५ वटा समूह छुट्याइएको छ ।

प्रत्येक प्रदेशबाट निर्वाचित ३ जना महिला सदस्यको समूह, सबै प्रदेशबाट निर्वाचित ७ जना दलित सदस्यको समूह, सबै प्रदेशबाट निर्वाचित ७ जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्यको समूह, माथि उल्लेखितबाहेक प्रत्येक प्रदेशबाट निर्वाचित ३ जनाको सदस्यको समूह र राष्ट्रपतिबाट मनोनीत ३ जना सदस्यको समूह विभाजन गरिएको छ, यसैलाई आधार मानी पदावधि कायम हुनेछ । पहिलो समूहका ३ मध्ये १ जनाको २, १ जनाको ४ र अर्का १ जनाको ६ वर्षको कार्यकाल हुनेछ ।

दोस्रो समूहका ७ जना दलित सदस्यमध्ये २/२ जनाको २, ४ र ६ वर्ष हुनेछ भने १ जनाको शून्य वर्षको कार्यकाल रहनेछ । राष्ट्रिय सभाका मनोनीत सांसदसमेत रहनुभएका कानुनका जानकार रामनारायण बिडारीले शून्य वर्ष भन्नाले ६ वर्षको कार्यकाल भन्ने बुझिने बताउनुभयो । सबै प्रदेशबाट निर्वाचित ७ जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्यको समूहमध्येबाट पनि २÷२ जनाको दरले २, ४ र ६ वर्ष, प्रदेशबाट निर्वाचित ३ जनाको सदस्यको समूहमध्येबाट पनि पनि २÷२ जनाको दरले २, ४ र ६ वर्षको कार्यकाल रहनेछ ।

बाँकी अर्को सदस्यले ६ वर्ष नै सांसद हुने अवसर पाउनेछन् । दोस्रो र तेस्रो समूहमा शून्य वर्षको कार्यकाल (६ वर्ष) रहेका २ जनामध्ये पनि १ जनाको ४ र अर्काको ६ वर्षको हुनेछ ।
राष्ट्रपतिबाट मनोनीत ३ जना सदस्यको समूहको कार्यकाल प्रत्येकको २, ४ र ६ वर्षको हुने गोलाप्रथा विधिमा उल्लेख छ । राष्ट्रिय सभा नियमावली, २०७५ जेठ २७ गते बहुमतले पारित भएको थियो ।

कुनै सदस्य विशेष कारणवश उपस्थित हुन नसक्ने अवस्था आएमा अन्य कुनै सदस्यलाई अख्तियारी दिन सक्नेछ, तर उपस्थित नभए वा अख्तियारी नदिए पनि आएको परिणामउपर कुनै प्रश्न उठाउन नपाइने व्यवस्था छ । नियमावलीअनुसार संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले ५ दिनअघि (बुधबार) गोलाप्रथासम्बन्धी सूचना गर्नुभएको थियो ।

सांसद सदस्य वा अख्तियारी प्राप्त व्यक्तिले कम्प्युटर प्रिन्ट गरिएको समान आकार र रंगको कागजलाई कुनै भाँडोभित्र राखी समूहअनुसार तान्न लगाइन्छ र त्यो गोला संसद् सचिवालयका महासचिवलाई दिनुपर्नेछ, गोलाप्रथामा भएको पदावधिलाई महासचिव वा निजले तोकेको अधिकृतले पढेर सुनाउनेछन् । यो अभिलेख सचिवालयले राख्नेछ ।

पदावधि कायम भएको जानकारी महासचिवले नेपाल सरकार मन्त्रिपरिषद् तथा निर्वाचन आयोगलाई दिनुपर्ने हुन्छ । यो सूचना नेपाल राजपत्रमा प्रकाशित हुनेछ ।

संविधानको धारा ८६ मा ‘राष्ट्रिय सभाको गठन र सदस्यहरुको पदावधि’ सम्बन्धी व्यवस्था छ । यो धाराको उपधारा (३) मा लेखिएको छ– ‘राष्ट्रिय सभाका सदस्यहरुको पदावधि ६ वर्षको हुनेछ । यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिनेछ ।’ प्रतिनिधि सभाको कार्यकाल भने ५ वर्षको मात्र हुनेछ ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त रुपलाई संघीय संसद् भनिन्छ । प्रतिनिधि सभा तल्लो र राष्ट्रिय सभा माथिल्लो सदन हो ।

५९ सदस्यीय राष्ट्रियसभामा तत्कालीन नेकपा एमालेका २९, नेपाली कांग्रेसले १३, तल्कालीन नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका २÷२ सदस्य रहेका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट ३ जना मनोनीत भएका छन् जसमध्ये डा. युवराज खतिवडा अर्थमन्त्री हुनुहुन्छ । राष्ट्रिय सभाको निर्वाचन माघ २४ गते भएको थियो ।

प्रतिक्रिया दिनुहोस्