प्रधानमन्त्री केपी ओलीलाई जोगाउने २६ वर्षअघि मृगौला फेरेका हरि श्रेष्ठको कथा



अनवरतरूपमा एउटै पेशामा लागि परेर जीवन नै फोटोग्राफीमा बिताएका अग्रज फोटग्राफर हरि श्रेष्ठ फोटोग्राफीमा मात्र नभएर विश्व विज्ञानलाई समेत चुनौती दिँदै स्वस्थ जीवन जीउन सफल व्यक्तित्व हुनुहुन्छ। विश्वप्रसिद्ध नर्स मदर टेरेसाको हातले खुवाएको २ चम्चा अमृत जल र श्रीमान्बाट लखेटिएकी एउटी महिलाबाट लिएको मृगौलाको सहारामा नयाँ जीवन पाएका हरि श्रेष्ठ अहिले पनि आप्mनो पेशामा त्यतिकै सक्रिय हुनुहुन्छ भन्दा जो कोहीलाई पत्याउन गाह्रो हुन्छ। जीवनमा कल्पनै गर्न नसकिने समस्या आउँदा भगवानको प्रार्थना गरेर आफूलाई स्थिर राख्न सफल श्रेष्ठको कथा निकै मार्मिक र मननयोग्य छ। मृगौला प्रत्यारोपणपछि १० वर्षभन्दा बढी बाँचिदैन कि भन्ने चिन्ताबाट मुक्त हुन हरि श्रेष्ठको अनुभव सबैका लागि प्रेरणादायी हुनसक्छ। प्रस्तुत छ, नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनासँग हरि श्रेष्ठको वार्तालाप:

कति वर्षदेखि फोटोग्राफरको पेशा गर्दै हुनुहुन्छ ?

पहिला १० वर्ष भारतको मुम्बईस्थित बलिउड फिल्म लाइनमा फोटोग्राफी गरें। ०४६ सालपछि नेपालमा आएर नेपाली फिल्म लाइनमा फोटोग्राफी गर्न थालें। अहिले पनि मेरो पेशा भनेको फोटोग्राफी नै हो। ३० वर्षदेखि फोटाग्राफीको प्रशिक्षण दिने काम गरिरहेको छु।

मृगौलाको समस्या भएको कसरी थाहा पाउनुभयो?

बिरामी भएको २ वर्षसम्म नेपालका डाक्टरले रोग नै पत्ता लगाउन सकेनन्। जहिले पनि उच्च रक्तचाप छ मात्र भनिरहन्थे।

कसरी पत्ता लाग्यो त?

नेपालमा पत्ता नलागेपछि परीक्षणका लागि मुम्बई गएँ। मेरो भान्जा पनि भारतमै चिकित्सा विज्ञान पढेका चिकित्सक भएकाले मामाको किड्नी खराब भएजस्तो छ यतै आउनुस भनी परीक्षणका लागि भान्जाले मुम्बई बोलाएर गएको हुँ। मुम्बई पुगेपछि भान्जाले नेफ्रोलोजिस्ट स्पेसलिस्टकोमा लगेर परीक्षण गराएपछि मात्र मेरो दुवै किड्नी खराब भइसकेको थाहा पाएँ। मलाई जाँच्ने डाक्टरले भान्जालाई कुनामा लगेर यस्तो जानकारी गराएका थिए। सँगै उहाँले मृगौला तत्कालै प्रत्यारोपण गर्नुपर्ने र यसका लागि १२ लाख भारतीय रुपियाँ लाग्ने जानकारी गराएपछि मेरो ओठमुख पुरै सुकेर हातगोडासमेत काँप्न थालेको थियोे। सानै उमेरमा बुबा आमा बितिसक्नुभएको थियो भने विवाह गरेको पनि धेरै भएको थिएन। त्यस्तो अवस्थामा त्यति ठूलो रकम कहाँबाट ल्याउने? चिन्ता लाग्नु स्वभाविक थियो।

तत्काल मृगौला प्रत्यारोपण गर्न नसकिए विकल्पका लागि हप्तामा ३ पल्ट डायलाइसिस गर्नुपर्ने बताइयो। १ पटक डायलाइसिस गर्न ९ हजार आइसी लाग्छ भन्यो। त्यो पनि मेरा लागि सम्भव थिएन। हुन त भान्जाले चिन्ता नगर्नुस हामी कोसिस गर्छांै भनी सान्त्वना दिन त नखोजेका होइनन्। तैपनि भान्जासँग जिद्धि गरेर अब म बाँच्दिन भन्दै नेपाल फर्कें।

ट्रेनमा फर्किदा आफ्ना अगाडि ३ महिनाकी सुत्केरी श्रीमती र छोरा झलझली देख्थें र आफ्नो मृत्यु सुनिश्चित भएको सम्झेर एक्लै रुँदैरुँदै नेपाल पुगें। ३७ घन्टाको यात्रा मेरो जीवनको कहालीलाग्दो क्षण थियो। भोक, निन्द्रा, प्यास, बाटो केहीको पत्तो भएन। मसँग थियो त केबल आँसु र पीडा। गोडा सुन्निएर हिँड्नै नसक्ने भइसकेको थियो। घरमा पुग्दा सुत्केरी श्रीमतीलाई तेल घसिरहेको देखें। मेरो पीडा श्रीमतीलाई कसरी सुनाउने? रोग र उपचारका लागि पैसो अभावको कुरा भर्खरकी सुत्केरी श्रीमतीलाई सुनाएर पीडा दिनु उचित नहुने भएकाले सरासर बाथरुम पसेर नुहाईं धुवाईं गरें।

त्यसपछि के गर्नुभयो?

नुहाईं धुवाईं गरेपछि साइकल लिएर सरासर पशुपतितर्फ हानिएँ। पशुपतिको मन्दिर अगाडि घँुडा टेकेर आँसु बगाउँदै रुन थालें। अब मेरो जीवन भगवानले मात्र बचाउन सकिने भन्दै घन्टौं भगवानसँग प्रार्थना गर्दै रोइरहें। रुँदारुँदै थाकेपछि यही नै पशुपतिनाथको अन्तिम दर्शन भन्दै घर फर्किएँ। घरमा पुग्न पाएको छैन श्रीमतीले भान्जाले के भने भनी जिज्ञासा प्रकट गरिन्। मेरो हातखुट्टा सुनिएको देखेपछि झन् आत्तिएकी श्रीमतीलाई थप पीडा नहोस् भनेर पेट दुखेको बहाना गर्दै वैद्यको पाचक खाएपछि ठीक हुन्छ भने। त्यसपछि श्रीमतीले औषधि किन्न गइहालौं भन्दै तत्काल महाबौद्धतर्फ लिएर गइन्। वैद्यले ३ डोज पाचकका लागि ३६ सय रुपियाँ लियो।

३ हप्तापछि समस्या झन्झन् बढ्दै गयो। फेरि श्रीमतीले औषधिले भएन अब डाक्टरकामा जानुपर्छ तपार्इंलाई ठूलै समस्या भएको छ भन्दै कराउन थालिन्। सबै कुरा थाहा भएर पनि श्रीमतीलाई भन्न सकिरहेको थिएन। आफू बाँच्ने आस नभए पनि श्रीमतीको मन राख्न वीर अस्पतालका नेफ्रोलोजी विभागका प्रमुख डा. पुष्कर सत्यालकोमा गयौं।

सबै परीक्षणपछि डा. सत्यालको कुरा पनि मुम्बईकै चिकित्सककै जस्तो थियो। दुईटै किड्नी खराब भइसकेकाले श्रीमान्लाई जोगाउने भए एउटा किड्नी तपाईंले नै दिनु राम्रो हुने भन्दै श्रीमतीलाई डाक्टरले सबै कुरा बताइदिए। मृगौला प्रत्यारोपणका लागि भारत जानुपर्छ भनेपछि श्रीमती निकै आत्तिइन्। शुरूमा त १० पटकसम्म वीर अस्पतालमै डाइलासिस गरियो। कुनै सुधार नदेखिएपछि अन्तिम विकल्प मृगौला प्रत्यारोपण भन्दै अस्पतालबाट डिस्चार्ज गरिदियो। घरमा पुग्नासाथै श्रीमतीसहित सबै आफन्तको रुवाबासी चल्यो। नातागोता, आफन्त सबै भेला भएपछि भगवानको कृपाले मृगौला प्रत्यारोपणका लागि एकै दिनमा ५ लाख भारु जम्मा भयो।

यही पैसा लिएर मृगौला प्रत्यारोपणका लागि मद्रास पुगें।मद्रासको तामिलनाडु अस्पतालमा पुग्दा भर्खर विशेषज्ञ हासिल गरेर विदेशबाट फर्किएका डाक्टर जर्जी अब्राम भेटिए। पछि गएर उनै मेरो जीवनदाता भगवान बने। उनले तत्काल मेरो आर्थिक अवस्थादेखि सबै विवरण माग गरे। मैले आफ्नो पेशा, आर्थिक अवस्था र आफूसँग भएको पैसाका बारेमा सबै बताएँ। तत्काल भर्ना गरेर उपचारको थालनी गरिहाले। साथै उनकै प्रयासमा स्थानीय पत्रिकामा मृगौलाको आ≈वान गर्दै विज्ञापन प्रकाशित भयो। तत्काल मृगौला दिने मान्छे आए पनि। १ जना महिलाको म्याच भयो।

ती महिला श्रीमान्बाट पीडित भएर बालबच्चा हुर्काउनै कठिन अवस्थामा पुगेकी रहिछन्। उनी किड्नी बेचेर बालबच्चालाई पढाउने र हुर्काउने उद्देश्यले आएकी रहिछन्। किड्नी बेचेर २२ हजारको टेम्पो किनेर चलाउने र बालबालिका पाल्ने उनको योजना रहेछ। त्यसबेला किड्नी बेच्दा ३५ देखि ४० हजार आउँदो रहेछ। उनको स्वास्थ्य बिमा गर्नुपर्ने रहेछ। मैले मृगौलाको र स्वास्थ्य बिमा गरी ६० हजार आईसी खर्च गरें। चिकित्सकले ती महिलाको श्रीमान्को पनि स्वीकृति चाहिन्छ नत्र मुद्दा लाग्छ भने। महिलाले श्रीमान्लाई ल्याएर सहीछाप गराई मृगौला दिएपछि मेरो ज्यान बच्यो।

तपाईंलाई जीवन दिने महिलालाई चिन्नुहुन्छ त?

पहिले नचिने पनि म उनलाई जीवनभर बिर्सन सक्तिन। मृगौला प्रत्यारोपण गरेको ९ दिनपछि मैले उनलाई बोलाएर उनलाई कालो ट्याम्पु किन्नुपर्दैन म नेपालमै लगेर मेरो जीवन रहेसम्म सम्मानपूर्वक पाल्छु, तिमीले मलाई नयाँ जीवन दिएकी छौ भने। सायद बच्चाको कारणले होला, उनी आउन मानिनन्।

त्यति छिटो सबै व्यवस्था तत्काल कसरी सम्भव भयो त?

अस्पताल भर्ना हुनासाथ मृगौला दान दिने व्यक्ति पाइएन। त्यहीबेला मलाई जंडिस भयो। औषधिले छोएन, पैसा सबै सकियो। डाक्टर आजित भए। ७ दिन ७ रात हिकअप आएको आएै भयो। पानीसम्म निल्न नसक्ने भइसकेको थियो। डाक्टरले पनि आशै मारे। ९ वर्ष क्यानाडामा पढेर आएको डाक्टर नै निरास भए। उनले २४सैं घन्टा साथमा बसेर उपचार गर्दा पनि कुनै उपाय लागेन।

शरीरको मासु पुरै सुकेपछि छातीमा सुइ लगाउनुपरेको थियो। यसका बाबजुद अकस्मात् बेहोस भएपछि ८ जना डाक्टरले बेड नै उचालेर मलाई आईसीयूमा लगेर उपचार शुरू गरेछन्। मेरो यो अवस्था देखेर श्रीमती अस्पताल बाहिर बसेर रुँदारुँदै अचेत भएर लडिछन्। त्यति नै बेला संयोगवश भगवानको रूप लिएर मदर टेरेसा मेरो श्रीमतीको सामुन्ने आइपुग्नुभएछ। उहाँले सोधखोज गर्दा काठमाडांैबाट श्रीमान्को मृगौला प्रत्यारोपण गराउन लिएर आएकी महिला भनी थाहा पाउनुभएछ। श्रीमतीलाई उठाएर होसमा ल्याएपछि चिन्ता नगर्न आश्वासन दिएर मदर टेरेसा मलाई भेटन आउनुभयो।

नेपालमा एउटा इतिहासनै भएको छु। मेरो अनुभवले हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बचाउन सफल भएको छु। पछिल्लो समय केपी ओलीलाई बचाएको पनि मैले नै भन्दा हुन्छ।

मदर टेरेसा भित्र आएपछि डाक्टरले उहाँलाई बिरामीको अवस्थाबारे सबै जानकारी गराए। त्यसपछि उहाँले बिस्तारै मेरो हात समातेर टाउकोमा हात राखेर प्रार्थना गर्नुभयो। एउटा बाक्साबाट सानो गिलासमा पानी निकाल्नुभयो। चाँदीको चम्चा निकाल्नुभयो र मुख खोलेर २ चम्चा पानी मुखभित्र हालिदिनुभयो। कस्तो अचम्म? त्यसपछि मेरो ७ दिन ७ रातदेखि नरोकिएको हिकअप रोकियो। डाक्टर अचम्मित भए। विस्तारै औषधिले पनि छुँदै गयो।

तपाईंले मदर टेरेसालाई कसरी हेर्नुभयो त?

पहिलो भगवान अनि जीवन दिने आमाको रूपमा हेरे। संसारमा दुइटा आमा हुन्छन्, एउटा जन्म दिने आमा र एउटा जीवन दिने आमा। मदर टेरेसालाई मैले जीवन दिने आमाको रूपमा मान्छु। उहाँले मेरो मृगौला प्रत्यारोपणको बेला पूरै समय बसेर प्रार्थना गर्नुभयो। मदर टेरेसालाई मलाई बचाउनकैै लागि दूतका रूपमा भगवान पशुपतिनाथले खटाएर पठाएका हुन्। मेरा लागि रातदिन नभनी साथ दिनुभयो। उहाँ मेरा लागि साक्षात भगवान नै हो। मैले मदर टेरेसालाई आमा नै भनेर सम्बोधन गरें र उहाँले पनि मलाई आफ्नो छोरा नै सम्झेर माया गर्ने, सुम्सुम्याउने, चुम्बन गर्ने गरेर बचाउनुभयो। उहाँ मेरो जीवनदाता हो।

तपार्इंको मृगौला प्रत्यारोपण भएको साल याद छ?

किन नहुनु? मेरो मृगौला प्रत्यारोपण २०४९ सालमा भएकोे हो।

मृगौला प्रत्यारोपणपछि पनि औषधि खानका लागि धेरै खर्च लाग्छ रे, तपार्इंले कसरी धान्नुभएको छ?

मृगौला प्रत्यारोपण गर्ने मद्रासस्थित तामिलनाडु अस्पतालका डा. जर्जी अब्राम र नेफ्रोलोजिस्ट डा. ऋषिकुमार काफ्लेले पनि मलाई औषधि नखाए मरिन्छ। अकालमा ज्यान नफाल भनेका थिए। तर मैले औषधि किन्ने पैसा जुटाउनै नसकेर औषधि छोडेको हुँ। भगवानकै कृपाले होला आजसम्म बिना समस्या बाँचेको छु।

औषधि नै नखाई जीवनलाई सहज बनाउन कसरी सम्भव भयो त?

डाक्टरले १ दिन मात्र छुटाएपनि जीवन नै खतरा हुन्छ भनेका थिए। महिनाको १५ हजारको औषधि खानुपथ्र्यो। मृगौला प्रत्यारोपणका लागि ९ लाख भारु खर्च भइसकेको थियो। त्यसैले मासिक १५ हजार खर्च गरेर औषधि खान सक्ने अवस्था थिएन। मैले औषधि किन्न नसकेरै भगवान पशुपतिनाथको प्रार्थना गरेर मन्दिर परिसरमै आँसु बगाउँदै भगवानसँग जीवनको भिख मागेर औषधि खान छोडेको हुँ। त्यतिबेला मेरो उपचारका क्रममा लागेको खर्च र घर चलाउनका लागि पुतलीसडकमा रहेको जीपज्याप स्टुडियोको आम्दानी र श्रीमतीको तलबले धान्नै नसक्ने अवस्था थियो। सारै गाह्रो भयो औषधि किन्नै नसक्ने नाजुक अवस्थामा पुगें। औषधि खान बचेको एउटा बास नै बेच्नुपर्ने अवस्था आएपछि परिवारका लागि मैले आप्mनो ज्यान दाउमा लगाएँ।

किन तपाईंको ज्यानभन्दा ठूलो घर हो र?

म भगवानको भक्त थिएँ। भगवानप्रति ठूलो आस्था र विश्वास राख्थें। जीवनभरी ब्र≈मचारी बस्ने सोच थियो। अकस्मात् विवाह गरें। जतिबेला मेरो मृगौलाले काम नगरेको कुरा डाक्टरले सुनाउँदा मेरी श्रीमती ३ महिनाकी सुत्केरी थिइन्। मैले श्रीमती र बच्चालाई सम्झेर घर बेच्ने आँट गरिन। श्रीमतीले नदेख्ने र थाहा नपाउने गरी धेरै रोएँ, कराएँ, विरक्तिएँ र अन्तमा आपूmलाई सम्हाल्दै मन बाँधेर खानपानमा मुख बार्ने, नियमित व्यायम गर्ने, योग ध्यान गर्ने र मनलाई आध्यात्मतर्फ केन्द्रित गर्दै गएँ। आज म र मेरो परिवार खुसी र सुखी भएर एकसाथ बसेका छौं। यो मलाई भगवानले दिएको बोनस जीवन हो।

औषधि छोडेपछि नियमित स्वास्थ्य परीक्षण गराउनुभएको छ कि छैन?

हरेक २ महिनामा नियमित परीक्षण गर्दै आएको छुँ। भगवानको कृपाले अहिलेसम्म सबै राम्रै छ। अर्काको मृगौला औषधिको सहायताले अड्याउनुपर्ने जीवन बिना औषधि बाँच्नु भनेको भगवानको कृपा नभए के हुन्छ? नेपालमा एउटा इतिहास नै भएको छु। मेरो अनुभवले हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बचाउन सफल भएको छु। पछिल्लो समय केपी ओलीलाई बचाएको पनि मैले नै भन्दा हुन्छ।

तपाईंले त गजबको कुरा गर्नुभयो कसरी बचाउनुभयो केपी ओलीलाई?

मेरो बारेमा थाहा पाएर उहाँले मलाई बालकोट घरमा बोलाउनुभयो। डेढ वर्षसम्म उहाँलाई कुनै समस्या भयो कि म जहाँ भए पनि त्यही अवस्थामा उहाँको घरमा जान्थें र उहाँका लागि आवश्यक परामर्श दिएर आउँथे। खानपान र दैनिक जीवनतालिकाका बारेमा मात्र नभई चिकित्सकसम्म पु¥याउने विषयमा पनि मैले धेरै सहयोग गरें। उहाँलाई मात्र होइन, धेरै मृगौलाका रोगीलाई व्यावहारिक सल्लाह र सुझावका आधारमा सहयोग गरेको छु। तपाईंका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठको बुबा स्वर्गीय भरतलाल श्रेष्ठको मृगौला फेल हुँदा मद्रासको तामिलनाडु अस्पताल लैजान पुष्कर दाइलाई मैले नै सल्लाह दिएको थिएँ। मृगौला प्रत्यारोपणपछि उहाँको बुबा पनि १८ वर्ष बाँच्नुभो। सुगरको बिरामी उहाँले पनि मैलेजस्तै मुख बारेर गुलियो बार्नुभएको भए सायद मजस्तै उहाँ पनि बाँचिरहनुहुन्थ्यो होला भन्ने लाग्छ।

तपाईंले हाल खाना र अन्य कुरालाई कसरी समायोजन गर्दै आउनुभएको छ?

मद्रासमा गएर मृगौला प्रत्यारोपण गरेर फर्कने क्रममा डाक्टरले भन्नुभएको थियो– ‘दिनमा साढे ३ देखि ४ लिटर पानी पिउनुपर्छ। मर्निङवाक जानू, काँचो चीज नखानू, हेभी खाना नखानू, जहाँ पायो त्यहाँ नखानू, जाँडरक्सी नखानू, हुलमुलमा नजानू, सरुवा रोग लागेका बिरामी भएको ठाउँमा नजानू, गहं्रुगो सामान नउठाउनू, कडा काम नगर्नू, काम र खाना दुवै हल्का होस्। डाक्टरको भनाइलाई पूर्णरूपमा पालना गरी शरीरलाई सहज बनाउन पहिला खाएका अहिले खान नहुने सबै कुरा छोडें। यतिसम्म कि बाहिर जाँदा पानीसमेत साथमै बोकेर हिँड्छु। त्याग नै सबैभन्दा ठूलो कुरा हो जस्तो लाग्छ। मेरो मृगौला प्रत्यारोपण गरेको २६ वर्ष भो २५ वर्षदेखि मृगौला प्रत्यारोपणपछि खानुपर्ने कुनै औषधि खाएको छैन।

मदर टेरेसा भित्र आएपछि डाक्टरले उहाँलाई बिरामीको अवस्थाबारे सबै जानकारी गराए। त्यसपछि उहाँले बिस्तारै मेरो हात समातेर टाउकोमा हात राखेर प्रार्थना गर्नुभयो। एउटा बाक्साबाट सानो गिलासमा पानी निकाल्नुभयो। चाँदीको चम्चा निकाल्नुभयो र मुख खोलेर २ चम्चा पानी मुखभित्र हालिदिनुभयो। कस्तो अचम्म? त्यसपछि मेरो ७ दिन ७ रातदेखि नरोकिएको हिकअप रोकियो।

तपाईंको विचारमा मृगौलाका बिरामीले ध्यान दिनुपर्ने अन्य कुरा के–के हुन् जस्तो लाग्छ?
पहिलो कुरा बिरामीमा भित्रैदेखि आत्मबल हुनुपर्छ। म बिरामी हो भनेर सोच्नु हुन्न। मेरो मृगौला प्रत्यारोपण गरेको २६ वर्ष भयो मैले म बिरामी हो भनेर सोच्ने गरेकै छैन। दोस्रो कुरा खान नहुने कुरा जीवनमा छुनै हुन्न। स्वस्थ खाना, थोरै र घरमै पवित्र खाना खाएर पानी प्रशस्त खाने, मेडिटेसन गर्ने, भगवानप्रति विश्वास गर्ने र मनलाई शान्ति राख्ने हो भने त्यसै कल्याण हुन्छ। त्याग र आध्यात्म नै मृगौला रोगीको अचुक औषधि हो। पहिलाजस्तै खानपान र व्यवहार गरे मृगौलाले काम गर्ने सक्दैन। हल्का फुल्का खाए मृगौलाले राम्रो काम गर्छ र मान्छे स्वस्थ जीवन बाँच्न सक्छ।

बाहिर गएर कतै खाँदै खान्न भन्ने कुरा सम्भव हुन्छ त?

किन सम्भव नहुनु? मृगौलाको बिरामीले बाहिर रेस्टुरेन्ट, होटल, आफन्तगोता, साथीभाइकोमा खाने नै होइन। आफैंले बनाएको नियमित रुटिनअनुसार खानुपर्छ। पानी पनि उमालेर सफा भाँडोमा बोकेर हिँड्नुपर्छ। कहिल्यै चिन्ता लिनुहुँदैन।

हाल तपाईंको जीवन कसरी चलिरहेको छ?

म अहिले पनि मोटरसाइकलमा यात्रा गर्छु। साथमा श्रीमती, छोरालाई राखेर हिँड्छु। घरमा चाहिने चामल, ग्यास, पानी त्यही मोटरसाइकलमा राखेर घरमा लान्छु। झिकेर भान्सासम्म लैजान्छु, मलाई केही भएको छैन। यतिमात्र नभई जीपज्याप स्टुडियोमा फोटोग्राफी सिकाउँछु। डाक्टरले भनेको अनुसार खानपान, रहनसहनमा बारेको छु, अरूजस्तै स्वस्थ जीवन बाँचेको छु। मलाई देख्ने कसैले पनि म किड्नीको बिरामी भनेर अनुमान लगाउन सत्तैmनन्। पछि थाहा पाएपछि जिब्रो टोक्छन्।

मृगौलाका बिरामीलाई तपाईं कस्तो सन्देश दिन चाहनुहुन्छ?

पथ परहेजमा रहन सकियो भने मृगौला प्रत्यारोपण गरेको मानिस ४० वर्षसम्म पनि बाँच्न सकिन्छ। खुसी भावना पैदा गर्ने, चिन्ताबाट मुक्त हुन सकिए मृगौला रोगीले घर परिवारलाई मात्र नभई समाज र देशकै लागि धेरै योगदान दिन सकिन्छ।

विश्वमा मृगौला प्रत्यारोपणपछिको जीवन कति लामो देख्नुभएको छ वा सुन्नुभएको छ?

म नै २६ वर्ष बाँचिसकेको छु। चिकित्सकको भनाइअनुसार ३० देखि ३५ वर्षसम्म पनि बाँचेको सुनेको छु। अहिलेसम्म मृगौला प्रत्यारोपितमध्ये लामो समय स्वस्थ जीवन जिउनेमा म नेपालको जिउँदो जाग्दो उदाहरणका रूपमा उभिएर स्वस्थ जीवन बाँचिरहन सफल भएकाले आपूmलाई अनुशासित बनाएर मजस्ता अरू बिरामीले पनि यसरी नै आप्mनो जीवनलाई दीर्घायू बनाउन सकिने मेरो धारणा छ।

नोटः हरि श्रेष्ठको यो अन्तर्वार्ता पढेर मृगौला प्रत्यारोपण गरिसकेका बिरामीले चिकित्सकको सल्लाह बिना औषधि छोड्न नहुने हाम्रो सल्लाह छ। सम्पादक।
प्रतिक्रिया दिनुहोस्