खुसी छु म आज तिमीभन्दा धेरै



कमल ढकाल
कहिलेकाहीँ साना कथाले पनि ठूलै ज्ञान बोकेको हुन्छ। दन्त्य कथा होस् वा काल्पनिक वा सत्य घटना सन्देश लिन खोजेमा सब कथाले मान्छेले बोलेझंै बोल्छन्। यस्तै एउटा कथा यो हप्ता पढें। कथा यस्तो थियो–

एक अमेरिकी व्यापारी अफ्रिका गएका थिए। उनले चरोले १४ भाषा बोल्ने जानकारी पाए। हेरे मजाले बोल्छ। पैसा छँदै छ अनौठो यो चरा किनेर लैजान भनेर १ लाख डलरमा किने। व्यापारीको काम थियो त्यसैले पहिले चरालाई पार्सल गरी घर पठाइदिए। जब व्यापारी घर पुगे चरा देखेनन्। सोधे श्रीमतीलाई खोई चरो? श्रीमतीले भनिन्– ‘आज हजुर आउने भएपछि हजुरलाई मन परेको यही चराको मासु बनाएको छु, लौ तातो सुप लिनुस्।’

व्यापारी बौलाए। तैंले खत्तम पारिस्। त्यो त १४ भाषा बोल्ने चरा हो। १ लाख डलरमा किनेको। श्रीमती पनि एकछिन अवाक् भइन् र भनिन्– ‘मलाई के थाहा त काट्ने बेलामा एक भाषा बोलेन। १४ भाषा बोलेर के काम काट्ने बेलामा नबोलेपछि। बोले पो १ लाख डलरको चरो नबोलेपछि बिचरो।’

यसले मान्छेलाई बढो शिक्षा प्रदान गर्छ। मान्छे पनि निश्चित लक्ष्य बोकेन भने त्यही चराजस्तै हुन्छ, उसको भविष्य अन्धकार हुन्छ। के गर्ने नगर्नेको अन्यौलमा भौतारिँदा भौतारिँदै त्या दृश्यपटबाट चरा हराएझैं हराउँछ र बिचरो हुन्छ।

देशको झण्डालाई पनि विश्वका विभिन्न सम्मेलनमा देखाउन पाउँदा हर्षित छन् सुशील। खुसी वास्तवमै यही त हो। अरूलाई खुसी दिएर आफू खुसी हुन चाहने उनी अरू खुसी भएपछि भन्ने रहेछन्– ‘खुसी छु म आज तिमीभन्दा धेरै। तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै।’

डाक्टर सुशील कोइरालालाई यो कथा पढे नपढेको सोधिएन। कुराकानीका क्रममा थाहा लाग्यो परिवारले होस सम्हालेदेखि डाक्टर पढाउने सपना रटाएका कारण सुशीलको लक्ष्य डाक्टर बन्यो। जिन्दगीमा जम्मा २ पटक दोस्रा भएका कारण पनि सुशीलका बारेमा परिवारको सपना बढ्दै गयो। ४ वर्षमा बैंगलोरको एसजेएम डेन्टल कलेजमा पढाइ सकेपछि दाँतको डाक्टर बने। सर्जन र फिजिसियनजस्तो नभई आर्ट र साइन्सको फ्युजनजस्तो लाग्यो सुशीललाई डेन्टिस्टको पढाइ। सानो बेलामा चित्रकलामा रुचि राख्ने सुशीललाई डेन्टिस्ट पढ्दा मज्जा पनि आउँदै गयो। जब कुनै पनि काममा मज्जा आउन थाल्छ, तब प्रगति हातमै हुन्छ। पहिलो वर्ष त्यति प्रगति नगरेका सुशीलले दोस्रो वर्षमा कलेज टप गरे।

२०५०मै दाँतको डाक्टर पढाइ सके सुशीलले। लोकसेवामा गए पनि सुशीललाई बाटो खुल्ला थियो। बाबु बाजेले खाएको सरकारी जागिर देखेर सुशीललाई सरकारी जागिर खान मन लागेन। सुशीलले निजी काम रोजे। युवा अवस्थामैै डाक्टर सकेका सुशीलले काठमाडौं नर्सिङ होममा काम गरे।

नयाँ जुक्ति फुराइरहने सुशीलले क्लिनिक चलाउन नयाँ जुक्ति लगाए। जब मनोविज्ञान बुझेर काम गरिन्छ तब सफल नहुने कुरै रहँदैन। नेपालीको मनोविज्ञान छ, जहाँ प्याक हुन्छ त्यहीं जाने भन्ने बुझेर क्लिनिक खाली हुँदा नै शुरूका दिनमा डाक्टर साब बिजी हुनुहुन्छ भन्थे। आज बिरामी नलिई भोलिपल्ट लिने टेक्निक ६ महिनासम्म चल्यो। जसले सुशीलको कम्पनी राम्रै चल्यो।

अर्काको नर्सिङ होममा कति काम गर्ने भनेर आफंै उनले नेपाल दन्त सेवा केन्द्र प्रालि नामक कम्पनी पुतलीसडकमा खोले। दाँतको क्षेत्रमा काम गर्ने पहिला नेपाली कम्पनी हो सुशीलको कम्पनी। मनले एक ईच्छा पूरा गर्नेबित्तिकै अर्काे खोजिहाल्छ। दाँतकै एक अस्पताल किन नखोल्ने? सुशीलको मनमा यही कुराले अड्डा जमाएपछि खोलियो नेसनल डेन्टल अस्पताल। जुन नेपालकै पहिलो दन्त अस्पताल हो। १९९७ मा ७२ जनाको सेयरमा खोलिएको पब्लिक डेन्टल अस्पतालमा निकै वर्ष कार्यकारी निर्देशक भए सुशील।

जीवनजल किन्न नसकेर मान्छेको मृत्यु हुने देशमा दाँतको लागि पैसा खर्च गर्नु साह्रै कठिन काम हो। शिक्षित मान्छे पनि दाँतको बारेमा त्यति चेतनशील भएको पाईंदैन। अहिले पनि मान्छे दुईपटक ब्रस गर्नु भनेको पैसा खेर फाल्नुजस्तो गर्छन्। यस्तो गरीब देशमा दाँतको बारेमा मज्जाको भविष्य रहेको सुशील बताउँछन्। भन्छन् मलाई देखेर २५ जनाले पढे।

जहाँ काम गर्यो राम्रो मात्र गर्छु भन्ने भूत जब दिमागमा चढ्छ, मान्छेले जे पनि गर्न सक्छ। नेसनल डेन्टल अस्पताललाई राम्रो बनाएपछि सुशीलले कार्यकारी निर्देशक पद छाडे।

कामले काम सिकाउँछ तर सिक्नुपर्छ भन्ने दिमागमा हाल्नुपर्छ। सन् १९९९ मा सोल्टीमा भारतीय डेन्टिस्टले एक सम्मेलन गरे। जहा दाँतको रोग मात्र निको पार्ने होइन राम्रो हुन पनि दाँतको भूमिका छ भन्ने थियो। काम त सुशीलले पनि गरेका थिए तर डकुमेन्ट राखेका थिएनन्। त्यसैले सम्मेलन सकिएको पर्सिपल्ट सुशीलले क्यामरा किने ८५ हजारमा। पछि संस्था खोले नेपाली एकेडेमिक अफ कस्मेटिक एन्ड एस्थेटिक नामक। जसको फाउन्डिङ प्रेसिडेन्ट सुशील नै थिए।

अब सुशील दाँतको लागि हुने अन्तर्राष्ट्रिय सम्मलेनमा सजिलै जान सक्ने भए। कोरियामा नेपाली झण्डा लिएर गए। जसले देशको प्रतिनिधित्व गर्दै छु भनेर आत्मगौरव बढायो। दाँतको अन्तर्राष्ट्रिय सम्मलेनलाई सरकारले के पैसा देला र भनेर निजी पैसा खर्च गरेर गए। वैदिक स्माइलका बारेमा पेपर प्रिजेन्टेसन गरे, जसमा हाँसो प्राकृतिक चिज हो। वेदका कुरा ल्याएर हाँस्दा सुन्दर देखिनपर्छ भन्ने सार थियो।

२०१० देखि अन्तर्राष्ट्रियस्तरको ५ महादेशमा सुशील एसियाबाट छानिएका छन्। एक लेक्चरको ३ हजार डलर लिएर सिंगापुर र मलेसियाका डेन्टिस्टलाई आफ्नो लेक्चर सुनाउँछन् उनी।

बालुवाटारको वैदिक स्माइलमा प्रफुल्लताका साथ भेटिएका डाक्टर सुशीलले आफ्नो शुल्क निकै सस्तो राखेका छन्। दाँत किराले खाएर मात्र दुख्ने होइन रहेछ, स्टेस र मस्कुलर पेनले पनि दाँत दुख्छ भन्ने कुरा उनैले सिकाए। नेपालमा दाँतको डाक्टर २००० नाघे। अहिलेको पपुलेसन हेर्दा अझै ३५०० चाहिन्छ। राजधानीमा मात्र दाँतको डाक्टरको भिँड छ।

जर्मनबाट पनि सुशीलको किताब छापिएको छ। २००८ डाइरेक्ट कस्ेमेटिक रेस्टोरेसन नामक बुक चर्चित छ। दाँतकै बारेमा विदेशबाट निकालिने म्यागजिनका प्रधान सम्पादक पनि हुन सुशील।

कपाल तीलचाम्रे हुँदै छ। उमेरसँगै बढेको कपालभित्र ज्ञान पनि त्यत्तिकै बढेको छ। काममा खुसी छन् उनी, त्यही भएर प्रगति थपिँदो छ। छोरा युगेस्वर र युगोत्तमलाई जन्म दिने श्रीमती पुमोदिनी कोइराला पुल्चोकमा ईलेक्ट्रिक इन्जिनियर पढाउँछिन्। आफू दाँतको क्षेत्रबाट दिनप्रतिदिन प्रगति गर्दैछन्।

परिवार, क्यारियर राम्रो बनेको छ। देशको झण्डालाई पनि विश्वका विभिन्न सम्मेलनमा देखाउन पाउँदा हर्षित छन् सुशील। खुसी वास्तवमै यही त हो। अरूलाई खुसी दिएर आफू खुसी हुन चाहने उनी अरू खुसी भएपछि भन्ने रहेछन्– ‘खुसी छु म आज तिमीभन्दा धेरै। तिमी हाँस्दा लाग्छ यो खुसी हो मेरै।’

 

प्रतिक्रिया दिनुहोस्