पाठेघर खस्ने समस्याले बिकराल रूप लिँदै



रामधन राई, खोटाङ
खोटाङका महिलाहरूमा पाठेघर खस्ने समस्याको बिकराल रूप पाइएको छ। पहाडी जिल्लाका ग्रामीण भेगमा बसोबास गर्ने महिलाहरूको पाठेघर खस्ने समस्याले बिकराल रूप पाइएको विशेषज्ञ डाक्टरहरूले जनाएका छन्।

शुक्रबार जिल्ला सदरमुकाम दिक्तेलबजारमा शुरु भएको दुई दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा पाठेघर खस्ने समस्या भएका अधिकांश महिलाहरू आएको बताइएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र मनमोहन मेमोरियल अस्पताल काठमाडौंको संयुक्त आयोजनमा सञ्चालित शिविरमा आउनुभएको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर मनोर दिन सैयदले जिल्लामा यो समस्याले बिकराल रूप लिएको पाइएको बताउनुभयो।

सानै उमेरमा विवाह गर्ने, कम समयको जन्मान्तर, उचित आहाराको कमीलगायतका कारण सानै उमेरका महिलाहरूमा पनि पाठेघर खस्ने समस्याबाट ग्रसित पाइएको डाक्टर सैयदको भनाइ छ। ३०–३२ वर्षको उमेरमै ४ देखि ५ जनासम्म बच्चा जन्माएका महिलाहरूसमेत उपचारका लागि आएकामा योनीबाट गन्हाउने पानी बग्ने समस्या पनि उल्लेख्य संख्यामा रहेका छन्।

चेतनाको अभावका कारण समयमै उपचार गराउन लजाउने, स्वास्थ्य संस्थामा प्रसूति नगराउने, आवश्यक प्रोटिन पर्याप्त नपाउने कारणसमेत महिलाहरूमा समस्या बढ्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

मनमोहन मेमोरियल शिक्षण अस्पतालका प्रबन्धक तथा डाक्टर धर्मदत्त सुवेदीले सोही नगरपालिकाकी–१ की ८० वर्षीया कर्मसरी राईकोे चेकजाँज गरेर शुरूआत गरिएको शिबिरको पहिलो दिन ७ सय ४२ जनाले निःशुल्क स्वास्थ्य सेवा पाएका छन्।

निःशुल्क शिबिरमा फेमिली मेडिसिन तथा पेट रोग, सामान्य चिकित्सा, स्त्री तथा प्रसूती रोग, शल्य चिकित्सा, बालरोग रोग, हाडजोर्नी सम्बन्धी उपचार भइरहेको जिल्ला अस्पतालले जनाएका छन्।

शिबिरमा पहिचान भएका पाठेघर सम्बन्धिका बिरामी र बिरामीका सहयोगीलाई आयोजकले सम्पूर्ण खर्चसहित थप उपचारका लागि राजधानी लैजाने व्यवस्थासमेत गरिने मेयर दिपनारायण रिजालले बताउनुभयो। यसअघि, जिल्लाकै दिप्रुङ गाउँपालिकाले आयोजना गरेको बृहत् स्वास्थ्य शिबिरमा पनि अधिकांश महिलाहरू पाठेघर खस्ने समस्या लिएर उपचार लिन आएका थिए।

प्रतिक्रिया दिनुहोस्