गोरे पक्राउ पर्दा क–कसको भयो निद हराम ?



फाइल फोटो

काठमाडौं । सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीका मुख्य आरोपी ‘गोल्ड डन’ चूडामणि उप्रेती उर्फ गोरेलाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले पक्राउ गरेसँगै धेरै विशिष्ठ व्यक्तिहरुको निद हराम भएको छ । गोरेले आफू सुन तस्कर नभई मुख्य व्यवस्थापकमात्र भएको र सुन तस्कर अरु नै भएको बताएसँगै प्रहरी र एयरपोर्टका हाकिम तथा ठूला सुन व्यापारीहरुको भागाभाग भइसकेको बताइएको छ ।
समितिले विशेष सूचनाको आधारमा आज बिहान ५ः३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको पक्रकार सम्मेलनको आयोजना गरी जानकारी गराए पनि भित्री रहस्य भने अझै खोलेको छैन । गोरे पक्राउसँगै प्ररहीका पूर्व तथा वहालवाला हाकिमहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका मथिल्लो तहका कर्मचारी तथा ठूला भनिएका सुन व्यापारीहरुको समेत नाम आउने भएपछि समितिले अहिले भित्री रहस्य खुलाएको छैन ।

सुन तस्करी र सनम शाक्यको हत्याको अनुशन्धान गर्न गठन भएको समितिले मंगलबार गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै गोरेलाई सार्वजनिक गरेको हो।

छानबिन समितिसँगको बयानमा गोरेले पनि आफूले विमानस्थलमा प्रहरी र एयरलाइन्सका कर्मचारीसँग सेटिङ मिलाएर सुन ल्याउने गरेको स्वीकारेका छन्। तर, आफू मुख्य तस्कर नभई मुख्य व्यवस्थापक भएको बताएका छन्। त्यसैले पनि प्रहरीका धेरै विशिष्ठ व्यक्तिहरु नै सुन काण्डमा तानिने प्रष्ट छ । मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा छानबिन समितिका सहसचिव ईश्वरराज पौडेलले गोरे पक्राउ परेपछि थप तथ्यहरु खुलेको र त्यससँगै अनुसन्धानले थप गति लिने बताएपनि सबै कुरा भने खोलेनन् ।

गोरेले प्रहरी र विमानस्थलका कर्मचारीलाई पैसा दिएको स्वीकारेका छन्। स्रोतका अनुसार उनले आफूलाई सहयोग गर्ने थप प्रहरीको समेत पहिचान खुलाएका छन् । तर, समितिले त्यसलाई सार्वजनिक गरेको छैन । समितिले यसअघि डायरीमा लेखेर पैसा बाँडिएका प्रहरीमाथि मात्र छानबिन गरेको छ । उनीसँग धेरै प्रहरी अधिकारीहरुको फोन सम्पर्क देखिएकाले अब उनीहरुतर्फ पनि अनुसन्धान अघि बढ्ने स्रोत बताउँछ।
गोरेले बयानमा ३३ किलो सुन भुजुङ गुरुङको समुहले लुटेकोसमेत बताएका छन्। उनले सुनमा लगानी एम के अग्रवालको समेत रहेको बताएका छन्। ३३ किलो सुन हराएपछि अग्रवालले आफुलाई यातना समेत दिएको खुलाएका थिए।

समितिले गोरे तथा उनका सहयोगीहरूले बितेको पाँच वर्षमा ४ सय २१ पटक गरी ३ हजार ७ सय ९९ किलो ५९ ग्राम सुन भित्र्याएको तथ्य फेला पारेको थियो। जसको नेपाली बजार मूल्य १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ३१ रुपैयाँ हुन आउँछ।

सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना फरार छन्। प्रहरीले मुख्य अभियुक्त गोरेसहित फरार सबैको खोजी गरिरहेको जनाएको थियो।

जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत बुधबार १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बिगो माग दाबी गर्दै उनीहरुविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो। गोरेलाई सार्वजनिक गरेलगत्तै मोरङ जिल्ला अदालतमा पेश गर्न पठाइएको छ। अब गोरेको मुद्दा कसरी अगाडि बढ्छ र सुन प्रकरणमा को–को तानिने हुन् त्यो भने पर्खाइको विषय बनेको छ ।

को हुन् गोरे ?
गोरे अवकाशप्राप्त नेपाल प्रहरीका पूर्व असई नेत्र उप्रेतीका जेठा छोरा हुन्। विद्यालय शिक्षा सकेपछी गोरे नेपाली सेनामा भर्नाका लागि आवेदन दिए । आवदेन पछी उनले नाम समेत निकाले तर तालिमका दौरानमा भने उनी सेनाबाट भागे । भागेर लगत्तै दुबइ पुगे । केही बर्ष दुबइ बसेपछि उनी परिवर्तित स्वरुपमा देखिए ।
त्यतिबेलासम्म उर्लाबारी– ७ स्थित पशुपति मार्गमा उनको २ तले घर मात्र थियो। सामान्य आर्थिक हैसियतका गोरे विदेश गएर फर्किएपछि काठमाडौंको गौरीघाटमा बस्न थाले। नजिकबाट चिन्नेहरू भन्छन्— त्यसपछि उनको हैशियत एकाएक बदलियो, गोरे नव–धनाढ्यका रूपमा उदाए।

वैदेशिक रोजगारीबाट कुस्त पैसा कमाएकाले आर्थिक हैसियत फेरिएको भनिएका गोरेको आर्थिक समृद्धिको रहस्य अहिले आएर उदांगो भएको छ। दुबई गएलगत्तै उनको भेटघाट सुन तस्करहरूसँग भयो। गोरे सुन तस्करीको भरियाका रूपमा यो क्षेत्रमा प्रवेश गरेका हुन्। गोरे भरियाको काम गर्दागर्दै आफैं सुनको अवैध कारोबारमा संलग्न भए।

उनले आफ्नो कारोबारलाई संगठित रूपमा अघि बढाउँदै गएका थिए। उनले प्रहरीसँग ‘मामा’को साइनो लगाई सेटिङ मिलाउने गरेका थिए। गोरेले उर्लाबारीमा हुने धार्मिक कार्यक्रम तथा स्थानीय चुनावमा पनि मनग्गे पैसा खर्च गरेको विषयमा यस अघि नै समाचार आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्