पानीको खानीमा व्यापार



कमल ढकाल

हरे राम⁄ हेर्दाहेदै कहाँको नेपाल कहाँ आइपुगेछ।

यही जेठ १ गते बिजुली आएको १ सय ८ वर्ष पुगेको छ। चाइनामा बिजुली नहुँदा नेपालमा बिजुली थियो। साउथ एसियामा नेपाल र तत्कालीन इस्ट इन्डिया कम्पनीमा मात्र बिजुली थियो। फर्पिङको बिजुली १ सय ८ वर्ष पगेको छ।

साँच्चै त्यो त उहिले मामाले घिउ खाए, अहिले मुखमा बास्ना आउँछ हेर भनेजस्तै भएछ। दरबारका लागिमात्र बिजुली भने पनि चन्द्र शमशेरले विकासको ढोका त खोलेका रहेछन्। आज जलस्रोतको अपार भण्डार भएको मुलुकमा पर्याप्त बिजुली छैन।

भुटान त्यही जलस्रोतबाट गरिबी हटाउँदै छ। उसको भन्दा ३ गुणा क्षमता भएको हामी भने हेर्दैछौं ट्वाल्ल परेर। आजका जलविद्युत्का टाइकुन मानिन्छन् ज्ञानेन्द्रलाल प्रधान। उनले पनि टुकीको उज्यालोमा पढेका रहेछन्। बन्दीपुरमा घुम्न गएका पर्यटकले ब्याट्रीबाट बिजुली निकालेको देखेर आकर्षित भएका उनलाई बिजुलीले सम्मोहन गर्यो। चितवन र काठमाडौंमा पढ्न आउँदा बलेको बिजुली देखेपछि झ्न उनी त्यसैमा फोकस भए। त्यसैले त इलेक्ट्रिकल इन्जिनियर पनि बने।

कुनै दिन अर्काको कम्पनीमा रातको २ बजेसम्म आफ्नो हाड घोंट्थे। डे ड्रिम खुला आँखाले देख्ने उनको स्वभावले नै उनलाई माथि पुर्यायो। सन् २००१ मा उनले भयानक सपना देखे। प्राधिकरणको जागिर ७ दिनमै लात मारे बुटवल पावर कम्पनी किन्न। ४ सय जनालाई गुहारे पैसाका लागि। ८ जना भेटे। थोरै शेयर राखेर किने।

सपना विपना भयो। ज्ञानेन्द्रले देखेको खुला आँखाको सपनाको छोटो अवधिमा उनको टाउकामा तातोपानी खनियो। माओवादीले बम पड्कायो बुटवल पावर कम्पनीमा।

भन्नलाई अरबको तेल सुके पनि नेपालको पानी सुक्दैन भनिन्छ। त्यही बगेको पानीबाट बिजुली निकाल्न भने किन गाह्रो भइरहेको छ मुलुकलाई? पैसा भएको मान्छेले पनि बुझ्न सकिरहेको छैन। देश बन्द होस् वा महामारी, जुन बेला पनि पैसा फलाउने मेसिन हो बिजुली। एकपटक लगानी गरेपछि वर्षौंवर्ष लटरम्म पैसा फल्ने यस्तो राम्रो कुरा जो आफ्नो देशमा छ, त्यसलाई देशको अभिभावक मानिने सरकारले पनि चिनेको छैन।

यो उनको जिन्दगीकै ठूलो पीडा थियो। दुःखसँगै सुख लुकेर आउँछ, त्यो देख्न सक्नुपर्दछ। उनले देखे। प्यूठान गएर कन्भिन्स गरे पड्काउनेलाई। त्यसपछि उनले पछाडि फर्केर हेर्न परेन, अगाडिमात्र बढे। जलविद्युत् देशका लागि हो भनेर छाती फुलाउँदै हिँडेका छन्। उनलाई १० वर्षमै जलविद्युत्ले मर्सिडिज चढ्न सक्ने बनायो। आफूसँगै देशलाई माथि लाने सेतो सुनका बारेमा प्रचार गर्न व्यस्त छन् ज्ञानेन्द्र आजकालका दिनमा।

गल्फ राष्ट्रले तेल ननिकालेर कार्पेट, पस्मिना वा अन्य काम गर्न थाल्यो भने के हुन्छ ? नेपालले पनि हाइड्रोको काम नगरेर अरू काम गर्नु त्यस्तै हो जस्तो लाग्यो उनको कुरा सुनिरहँदा। व्यक्ति विकास हुँदा समाजको पनि धेरथोर विकास हुन्छ। समाजसँगै राष्ट्र पनि उठ्छ। बन्दीपुरमा जन्मेर डेस्क बेन्च नदेखी सुकुलमा पढेको ठिटो आज हाइड्रोको विकासमार्फत राष्ट्रको विकास गर्ने सोच राखेर हिँडेका रहेछन्।

जन्मेको माटो बन्दीपुरमा उनले आमाको नाममा विद्यालय, छात्रावास, स्वास्थ्यका लागि एम्बुलेन्स र केही विद्यार्थीलाई पढाउन सकेका छन्। सबै यही सेतो सुनको कमाल हो, जसले उनलाई नाम, दाम, इनाम दिएको छ। नयाँ–नयाँ मान्छेको चिनजान अनि थप नयाँ व्यापार सबै यही हाइड्रोपावरले दिएको छ।

भन्नलाई अरबको तेल सुके पनि नेपालको पानी सुक्दैन भनिन्छ। त्यही बगेको पानीबाट बिजुली निकाल्न भने किन गाह्रो भइरहेको छ मुलुकलाई? पैसा भएको मान्छेले पनि बुझ्न सकिरहेको छैन। देश बन्द होस् वा महामारी, जुनबेला पनि पैसा फलाउने मेसिन हो बिजुली। एकपटक लगानी गरेपछि वर्षौंवर्ष लटरम्म पैसा फल्ने यस्तो राम्रो कुरा जो आफ्नो देशमा छ, त्यसलाई देशको अभिभावक मानिने सरकारले पनि चिनेको छैन।

सकारात्मक भएर हेर्ने अनि त्यहीअनुसार गरेमा आजको नेपालको गरिबी हटाउने राम्रो औषधि बन्न सक्छ हाइड्रोपावर। साउदीमा सन् १९४५ मा तेल पाइने थिएन। आज ६० वर्षमा उसले आफ्नो स्ट्रेन्थ चिन्यो र कहाँबाट कहाँ पुग्दैछ? हामी कता जाँदैछौं? सरकार वा मान्छे सकारात्मक भएर हेरेमा फेलरले छुँदैन। जब नकारात्मकताले ड्राइभ गर्छ सरकार वा व्यक्तिलाई, त्यसपछि कसैको केही लाग्दैन। उसले आफ्नो प्रगति चिन्न सक्दैन।

ज्ञानेन्द्रले आफ्नो क्षमता चिने त्यसैले त माथि लाग्दैछन्। बुटवल पावरको बेलामा जहाज डुब्यो भनेको भए १० वर्षमै उनी यति चाँडो आफूलाई चिनाउन सक्दैनथे। पानीको खानी भएको मुलुकमा यही व्यापार गर्नुपर्दछ भन्ने बुझे। लगातार लागेकाले आज सफल पनि भए।

महत्त्वाकांक्षी ज्ञानेन्द्रले अर्को महत्त्वाकांक्षी योजना अगाडि सारेका छन्, २ सय ५४ मेगावाटको कालीगण्डकी योजना बनाउने। हाइड्रो सोलुसनको कार्यलयमा एसीको चिसोमा कुल देखिएका उनी गर्न सकिन्छ भन्नेमा छन्। त्यसैको वर्कआउटमा उनले पब्लिक लिमिटेड कम्पनी बनाउँदै छन्। पैसाका लागि पनि भव्य गर्दै छन्।

बाटो, गाउँलेका आकांक्षा, चन्दा आतंक, ट्रान्समिसन लाइनजस्ता कुरा हाइड्रोपावरका समस्या भएका छन्। यसलाई चिर्न ज्ञानेन्द्रलाई कहिलेकाहीँ हम्मेहम्मे पर्दछ। यो उनको मनचिन्ते झोली हो साथै राष्ट्रको पनि। स्कुल, कलेज, बाटो सबै कुरा बन्न नेपालले बिजुली बेच्नुपर्दछ। ठूला–ठूला आयोजना ल्याएर आफ्नो खानीबाट निक्लेको सेतो सुनले कतै केहीमा टच गरेमात्र हुन्छ, देशको विकास भइहाल्छ। ‘साँच्चै देशको विकासमा पारसमणि हो हाइड्रोपावर। एसियाभर बिजुली बेच्न सक्ने नेपाल आफ्नै घरमा लालटिन बालेर बसेको छ।’ –यसै भन्छन् ज्ञानेन्द्र।

बगेको बाढी रोक्ने हो भने अहिले निक्लनेभन्दा डबल बिजुली आउँछ। बाह्रै महिना आउने भनेर प्लान गर्दा पनि नेपालमा ४२ हजार मेगावाट निकाल्न सकिन्छ भन्ने तथ्यांक छ। जम्मा बिजुली ८४ हजार मेगावाट निकाल्न सकिने तथ्यांकले बताउँछ। प्रत्येक नेपालीको भागमा २० हजार लिटर पानी छ। आफूलाई चाहिने पानी चलाएर अरू व्यापार गर्न सक्छौं। सरकारले गरे पनि के भो र जनतालाई धनी बनाउन? अझ ज्ञानेन्द्रको कुरा सुन्ने हो भने १ लाख मेगावाटभन्दा बढी निकाल्न सकिन्छ। जसले चाँडो हाइड्रोको कुरा बुझ्यो उ उती चाँडो करोडपति बन्न सक्छ तर बुझेर लाग्नुपर्दछ।

पहिले १ करोड झिक्न भनेपछि प्रलय होलाजस्तो मान्ने ज्ञानेन्द्र अहिले अर्बौैंअर्ब रुपियाँका प्रोग्राम बनाउँछन्। कार्यान्वयन गर्छन्, गरिरहेका छन्। जलविद्युत्को शेयर खोलेर उनी सर्वसाधरणलाई पनि आ≈वान गर्दैछन्। उनको पनि टिम छ। त्यो टिमले जलविद्युत्मै जीवन बिताउने उद्देश्य राखेको छ। त्यसैले ज्ञानेन्द्रले पानीलाई पिउने र निजी काममा मात्र सीमित नबनाई पैसा थुपार्ने माध्यमका रूपमा प्रयोग गरिरहेका छन्।

आजकाल उनी नेपालमा पानीबाट बिजुली निकाल्नेसँग मात्र होइन, सीमा काटेर क्यानडा अस्ट्रेलिया, युरोप, अमेरिकाका गोरा छालाहरू जसले ४० हजार मेगावाटसम्म निकालेका छन्, उनीहरूसँग दैनिक गफगाफमा व्यस्त हुँदा रहेछन्।

प्रतिक्रिया दिनुहोस्