किम जोङद्वारा दक्षिण कोरियाली टोलीलाई रात्रिभोज



प्योङयाङ, (एजेन्सी)
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले वरिष्ठ दक्षिण कोरियाली प्रतिनिधि मण्डलको सम्मानमा रात्रिभोजको आयोजना गरेका छन्। सन् २०११ मा किमले सत्ता सम्हालेयता पहिलो पटक सोलका अधिकारीहरूले उनीसँग भेट्न लागेका हुन्।

दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्ल्यु हाउसले हिजो सो टाली प्योङयाङ पुगेको केही समयपछि नै तिनीहरूको किमसँग भेटघाट गर्ने कार्यक्रम रहेको पुष्टि गरेको छ।

प्योङयाङ पुगेको दस सदस्यीय प्रतिनिधि मण्डलको केही हदसम्म उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच पुनः वार्ता शुरू गराउने लक्ष्य पनि रहेको छ। दुई कोरियाबीचको सम्बन्ध गत महिना दक्षिण कोरियामा भएको हिउँदे ओलम्पिक्सदेखि न्यानो हुन थालेको हो।

अप्रत्यासित कदमका रूपमा दक्षिण कोरियाली प्रतिनिधि मण्डलमा दुईजना मन्त्रीस्तरीय दूत, गुप्तचर सेवा प्रमुख सुह हुन र राष्ट्रिय सुरक्षा सल्लाहकार चुँग इउइ–योङ पनि सरिक रहेका छन्। उत्तर कोरियाको सरकारी रेडियोले यस प्रतिनिधि मण्डललाई उत्तर कोरियाका एकीकरण मन्त्री रि सोन–ग्वोनले स्वागत गरेको जनाएको छ।

हिउँदे ओलम्पिक्स शुरू हुनु केही साताअघि भएको दुई कोरियाली वार्तामा रिले नै उत्तर कोरियाली टोलीको नेतृत्व गरेका थिए। दुई दिने औपचारिक भ्रमणको क्रममा प्योङयाङ आइपुगेको यस दक्षिण कोरियाली टोलीले उत्तरको विवादास्पद आणविक हतियार कार्यक्रम बन्द गर्ने र अमेरिका तथा प्योङयाङबीच वार्ता शुरू गराउन आवशयक शर्तहरूमाथि आफ्नो ध्यान केन्द्रित गर्ने अनुमान गरिएको छ।

यसअघि आयोजित पत्रकार सम्मेलनमा चुँगले आफूले राष्ट्रपति मुन जाय इनको दक्षिण र उत्तरबीचको सम्बन्धमा सुधार ल्याउने र कोरियाली प्रायद्वीपलाई आणविकमुक्त क्षेत्र बनाउने प्रस्तावबारे किमलाई जानकारी गराउने बताएका थिए। साथै उनले उत्तर र अमेरिकाबीचको वार्ताको पुनः थालनीका लागि समेत गहन छलफल गर्ने आफ्नो योजना रहेको बताएका छन्।

गत नोभेम्बरमा पछिल्लो पटक लामो दूरीको अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियामाथि संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले नाकाबन्दी लगाएको छ।

प्रतिक्रिया दिनुहोस्