चीनको रक्षा बजेटमा ८ प्रतिशतले वृद्धि



बेइजिङ, (एजेन्सी)
चीनले नयाँ आर्थिक वर्षमा रक्षा बजेट ८ दशमलव १ प्रतिशतले वृद्धि गर्दै ११ खर्ब युआन अर्थात् १ खर्ब ७३ अर्ब डलर पुर्याएको छ। यस वर्ष चीनले देशमै निर्मित दास्रो विमानवाहक युद्धपोत थप्ने, उसको वायु सेनामा स्टिल्थ युद्धकविमानबाट लैस गर्ने भएको छ। त्यसैगरी हवाई तथा समुद्रमा अत्यधिक दूरीसम्म निसाना बनाउन सक्षम अत्याधुनिक क्षेप्यास्त्र तैनाथ गर्ने पनि तयारीमा रहेको छ।

उक्त बजेट आँकडा सोमबार नेसनल पिपल्स कंग्रेसको बैठक सत्रमा सार्वजनिक गरेको हो। यो वृद्धि दर गतवर्षको भन्दा धेरै हो। गतवर्ष रक्षा बजेटमा ७ प्रतिशतले वृद्धि भई १ खर्ब ५१ अर्ब डलर पुगेको अर्थ मन्त्रालयका अधिकारीहरूले बताए।

वर्षाैंसम्म दुई अंकको वृद्धिदर हासिल गरेको चीनको यो अमेरिकापछिको विश्वकै दोस्रो ठूलो रक्षा बजेट हो। अमेरिकाले अर्को वर्षका लागि ७ खर्ब १६ अर्ब डलर रक्षा बजेट प्रस्ताव गरेको छ।

‘हामी हाम्रा सशस्त्र बलको मजबुती, सैन्य तालिम र युद्ध तयारीमा सबै पक्षबाट अत्याधुनिक बन्न चिनियाँपथमा अडिग रहनेछौं।’ –ग्रेट हल अफ पिपुलमा उपस्थित करिब ३ हजार प्रतिनिधिसमक्ष एक प्रतिवेदन पढ्ने क्रममा प्रधानमन्त्री ली केकियाङले बताए।

सशस्त्र बल राष्ट्रिय सम्प्रभुता, सुरक्षा तथा विकासका चासोहरूको दृढतापूर्वक रक्षा गरिरहने लीले बताए। चीन सैन्य जवानको संख्या आधारमा विश्वकै सबैभन्दा ठूलो सेना भएको राष्ट्र हो। तर लीले सशस्त्र बलमा ३ हजार सैनिक कटौती गर्दै आकार सानो गर्ने लक्ष्यलाई आधारभूत रूपमा पूरा गरेको पनि बताए। अब चीनको पिपुल्स लिबरेसन आर्मीसँग २० लाख सैनिक बाँकी रहेको छ।

तर चीनको रक्षा खर्च जीडीपीको हिस्साका आधारमा अन्य प्रमुख देशहरूको तुलनामा अझै कम भएको विधायकका लागि प्रवक्त झाङ यसुइले बताए। यस वर्षको रक्षा बजेट गतवर्षको कुल गार्हस्थ्य उत्पादन १२४ खर्ब डलरको १ दशमलव ३ प्रतिशत मात्र हुन आउँछ।
विश्लेषकहरू सार्वजनिक रुपमा घोषणा गरिएको रक्षा खर्च पूर्ण तवरले सही नभएको बताउँछन्। रक्षा संयन्त्र परियोजनाका आधारमा उल्लेखनीय गोप्य खर्च हुने गरेको उनीहरूको धारणा छ।

केही विश्लेषकहरूले चीनको रक्षा बजेट वृद्धिले क्षेत्रीय असन्तुलन बढाएको बताएका छन्। चीनका छिमेकी भारले आफ्नो ताजा बजेटमा रक्षा क्षेत्रमा ४६ अर्ब डलर छुटइएको छ। भारतको तुलनामा चीनको रक्षा खर्च अत्यन्तै धेरै हो। हालैमात्र इन्टरनेसनल इन्स्टिच्युट अफ स्ट्रेटेजिक स्टडिज, आईआईएसएसका विशेषज्ञहरूले अब अमेरिकी सेनाले रुससँग नभएर चीनसँग स्पर्धा गर्नुपर्ने जनाएको थियो। विशेष गरी समुद्र र आकाशमा चीनका नौसैनिक तथा वायुसेना अमेरिकालाई टक्कर दिन तयार रहेको उक्त संस्थाले जारी गरेको प्रतिवेदनमा उल्लखे गरिएको बताए।

चीनले अर्को दुईवटा विमानवाहक पोत निर्माण गर्ने सोचमा रहेको विज्ञहरूले बताएका छन्। यसबाहेक नयाँ लडाकू विमान तथा स्टिल्थ फाइटर जे–२० लाई पनि आफ्नो सेनामा संलग्न गराउने तयारी छ।
चीनको सरकारी सञ्चारमाध्यमले गत दुई वर्षमा रक्षा बजेटमा वृद्धि जारी रहेको जनाएको छ। प्रधानमन्त्री लीले सन् २०१८ को लक्ष्य आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत राखिएको पनि जानकारी दिए। यो सन् २०१७ को ६ दशमलव ९ प्रतिशत आर्थिक वृद्धिको तुलनामा कम हो।

प्रतिक्रिया दिनुहोस्