पृथ्वी जयन्ती: कतै समर्थन, त कतै विरोध



सुनील महर्जन, काठमाडौं । पुस २७ को दिनलाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको रुपमा विहीबार मनाउँदा राजधानीका सडकमा कतै समर्थन त कतै विरोध प्रदर्शन गरेको देखियो ।

सरकारले ११ वर्ष पछि पुस २७ लाई पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा समेत दिएको थियो । दुई महिना अघि उर्जा मन्त्री समेत रहनुभएका उपप्रधानमन्त्री कमल थापाको दबाबमा मन्त्रिपरिषद्ले सो निर्णय गरेको थियो ।

सरकारले औपचारिक रुपमा सिहदबारको मुख्य गेट अगाडि रामशाह पथस्थित राजा पृथ्वीनारायण शाहको सालिकमा माल्र्यापण गर्नेसंगै राजावादीवादी विभिन्न संघसंस्थाहरुले त्यसको समर्थनमा राजधानीमा प्रदर्शन गर्दै माल्यार्पणमा सहभागी भएका थिए ।

गणतान्त्रिक नेपालको सरकारले राजा पृथ्वीनारायण शाहलाई सम्मान गर्दै राष्ट्रिय एकता दिवसको रुपमा बिदा दिने निर्णय गरियो, त्यसको समर्थन गर्दै सडकमा प्रदर्शन गरिएको राजसंस्था पुनःसंस्थापना संघर्ष समितिका संयोजक विश्वन्तर शाक्यले बताउनुभयो ।

२०६२ ÷०६३ पछि कार्यकारी प्रमुख र सरकार प्रमुख हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र गृहमन्त्री कृष्णप्रसाद सिटौलाले पृथ्वी जयन्ती नमनाउने गर्दै यस अघि सोही दिन दिँदै आएको बिदा कटौती गरेको थियो । सरकारले पृथ्वी जयन्तीको दिन बिदा कटौती गरेकोमा समितिले विगत ११ वर्षदेखि पुस २७ गते प्रदर्शन गर्दै आएको थियो ।

‘११ वर्षपछि गणतान्त्रिक सरकारले गरेको गल्ती सच्याउने निर्णयको सहर्ष स्वागत गर्दछौं ।’ संयोजक शाक्यले भन्नुभयो ।

गणतान्त्रिक सरकारले राष्ट्रिय एकताको नाउँमा बिदा दिएर मुलुकको निर्माणमा राजाको भूमिकालाई सिद्धान्ततः स्वीकार गरेको अर्थमा यसलाई लिन सकिने पनि संयोजक शाक्यको धारणा रहेको छ । फाल्गुण ७ को दिनलाई प्रजातन्त्र दिवसका रुपमा बिदा दिनुपर्ने पनि संयोजक शाक्यको माग रहेको छ ।

यसैबीच राजा पृथ्वीनारायण शाहको राज्य विस्तारसंगै विविध जातीयता, भाषाभाषीलाई राज्य संयन्त्रबाट दमन शुरु गरेको भन्दै राष्ट्रिय एकता दिवसको नाउँमा बिदा दिइएकोमा राजधानीको भोतोहिटी असन र किर्तिपुरमा प्रर्दशन गरिएको थियो । पृथ्वीनारायण शाह एकताको नभई विभाजनको प्रतीक रहेको भन्दै नेवाः जागरण मञ्चको संयोजन र नेपाः युथ अर्गनाईजेशले सो विरोध प्रदर्शन गरेको हो ।

‘आजको गणतान्त्रिक सरकारले राजा पृथ्वीनारायण शाहलाई एकताको प्रतीक मानेर विदा दिनु गणतान्त्रिक चेतनाको धज्जी उडाउनु हो ।’ मञ्चका अध्यक्ष सुजीब बज्राचार्यले विरोधमा सभामा भन्नुभयो । शाहवंशको शासन शुरुभएदेखि विविध भाषाभाषी, धर्मावलम्बी र जातजातिमाथि राज्यले क्रूर दमनदेखि वहिष्करण र विभेद गरेको उल्लेख गर्दै विरोध सभामा सहभागीहरुले मुलुकमा विभाजन, विभेदलाई बढाउने राजा कसरी राष्ट्रिय एकताका प्रतीक भनेर प्रश्न तेस्याएका थिए ।

यसैबीच नेपाल आदिवासी जनजाति महासंघले सरकारले राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको नाममा राष्ट्रिय एकता दिवसका रुपमा मनाउनु संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको उपहासका रुपमा लिएका छन् ।

बहुलता र विविधतायुक्त नेपाली समाजको यथार्थता बमोजिम परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा आमजनताको चाहना र भावनालाई चोट पुग्ने गरी षडयन्त्रपूर्ण ढंगले एकल जाति÷नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व झन् भन्दा झन् स्थापित गराउने उपजका रुपमा सरकारको सो निर्णयलाई लिएको महासंघको विज्ञप्तीमा भनिएको छ ।

एकल जातिवादी राज्यको पक्षपोषणमा सरकार र यसका संयन्त्रहरु पछिल्ला दिनहरुमा क्रमशः अघि बढिरहेको यस निर्णयले थप पुष्टि गरेको महासंघको नीष्र्कष रहेको विज्ञप्तीमा भनिएको छ । आम आदिवासी जनजातिको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक हकअधिकार, मूल्य र मान्यतालाई बलात् गर्दै आन्तरिक औपनिवेशीकरणको शैलीमा राज्य विस्तार गर्ने व्यक्तिको जन्मदिनमा दिइएको सार्वजनिक विदा अविलम्ब फिर्ता लिन पनि महासंघले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्