संगीतमा यो जीवन



गीतकार विष्णुकुमार इङ्नामले आधुनिक गीतहरूको डीभीडी एल्बम यो जीवन बजारमा ल्याएका छन्। प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा कवि बैरागी काइँलाले शनिबार राजधानीमा आयोजित कार्यक्रममा सो एल्बम सार्वजनिक गरेका हुन्।

एल्बमको समीक्षा गर्दै शान्तिरामले एल्बममा रहेका गीतहरू जीवन्त भएको बताए। एल्बममा रहेका केही गीतमा विष्णु स्वयंले मोडलिङ गरेका छन्। तेह्रथुममा जन्मेर हङकङलाई कर्मथलो बनाउँदै आएका गीतकार इङ्नाम सानैदेखि गीति लेखनमा रुचि राख्थे। त्यही आफ्नो रुचि र रहरलाई पूरा गर्ने क्रममा यो जीवन तयार भएको उनले बताए। एल्बममा नाता तोड्यौ, यही हो मेरो तेह्र्रथुम जिल्ला, यो माया हो, चासोक तङ्नाम, पहाडकी रानी र यो जीवन बोलका ६ गीत र म्युजिक भिडियो छन्। जसमा मनोज सेवा, दीपक लिम्बु, सञ्जय तुम्रोक, मिलन अमात्य, मेलिना राई र सुनीता ठेगिम लिम्बुको स्वर रहेको छ भने संगीत मविन्द्र राई सञ्जय तुम्रोक र धनु घ्याङ्मीको छ।

यी म्युजिक भिडियोको निर्देशन रणवीर लिम्बु (रवि सेर्मा), कमल एक्चैमगर र मविन्द्र राईले गरेका छन् भने विष्णुकुमार इङ्नाम, बबिता फोम्बो, रेखा फागो, सिर्जना निङ्लेखु, याङ्जोम शेर्पा, मीना मादेन ‘नुमाफुङु, टीआर सुब्बा, सुजाता ढकाल, सुल्तान इदिङ्गो, विशाल सेनेहाङ, राम इङ्नाम, सविना सेर्मा, तान्छोहाङ इङ्नामलगायतका कलाकारले अभिनय गरेका छन्। कार्यक्रममा गायिका मिलन अमात्य र मविन्द्र राईले एल्बमको शीर्षक गीत गाएका थिए। उनले एउटा लिम्बु भाषाको गीत पनि सुनाइन्।

प्रतिक्रिया दिनुहोस्