मोहन दुवाल
परिचय ः
सामाजिक रूपान्तरणको औजारका रूपमा परिभाषित हुँदै आएको साहित्यलाई सम्प्रेषित गरिने पत्रकारिता नै साहित्यिक पत्रकारिता हो। यसको प्रभावकारिता र महत्व आफ्नै खालको रहेर पनि साहित्यिक पत्रकारितालाई प्रभावकारी ढङ्गले प्रस्तुत गर्न नसक्नु आजको वास्तविकता हो। सिर्जनात्मक र बौद्धिकताकै साङ्गोपाङ्गो रूप मान्न सकिन्छ– साहित्यिक पत्रकारिता। साहित्य समायोजनको महत्वपूर्ण अङ्ग हो– साहित्यिक पत्रकारिता। साहित्यलाई र साहित्यकारहरूलाई परिचय गराउने सशक्त माध्यम हो– साहित्यिक पत्रकारिता। सिर्जनशीलतालाई अगाडि सार्ने अस्त्रकै रूपमा व्याख्या गर्न सकिन्छ– साहित्यिक पत्रकारितालाई। साहित्यलाई देश÷विदेश पुर्याइदिने सशक्त माध्यम पनि हो– साहित्यिक पत्रकारिता। सङ्क्षेपमा भन्न सकिन्छ– साहित्यको परिचयको माध्यम नै हो साहित्यिक पत्रकारिता।

इतिहास ः
नेपालको साहित्यिक पत्रिकाको इतिहास निकै लामो रहेर पनि दयनीय र कष्टप्रद देखिँदो छ। वि.सं. १९४३ मा नै युवाकवि मोतीराम भट्टले बनारसमा रहँदा ‘गोरखा–भारत जीवन’ प्रकाशन गरेको देखिन्छ। पछि वि.सं. १९५५ मा नेपालबाट प्रकाशित भएको ‘सुधासागर’ लाई साहित्यिक पत्रकारिताको पहिलो शृङ्खला मान्ने हो भने अहिलेसम्म साहित्यिक पत्रकारिताको आयु ११९ वर्ष पुगिसकेको तथ्य जगजाहेर छ। ११९ वर्षको आयुमा पनि साहित्यिक पत्रकारिताको रूपरङ्ग, स्वभाव अद्यावधिसम्म कहालीलाग्दो तथा अत्यासलाग्दो, तिरस्कृत र अपहेलित पत्रकारिताजस्तो देखिँदो छ। साहित्यलाई समाजमा फिँजाउने प्रमुख माध्यम नै साहित्यिक पत्रकारिता रहेको र वाङ्मयको प्रमुख सचेतक अङ्गकै रूपमा रहेको पत्रकारिता नै साहित्यिक पत्रकारिता भएकोले यसको इतिहासलाई समृद्ध र बलशाली तुल्याइदिने कार्य राज्यको पनि हो तर पुग्दो र भरपर्दो सहयोग अनि बल थपिदिने कार्य भएको पाइँदैन।

संसारको कुनै पनि क्षेत्रमा साहित्यिक पत्रिकाले समाजमा साहित्यकारहरूलाई परिचय गराउने, साहित्यको सुन्दर मुखाकृतिलाई सुन्दर ढङ्गले देखाइदिने कार्य गरेको इतिहास छ। जनचेतना दिने कार्यमा विचारलाई संश्लेषण÷विश्लेषण गरी कलात्मक शैलीमा मान्छेलाई बुझाएर राष्ट्र र समाजलाई रूपान्तरण गर्ने कार्यमा यसको भूमिका सर्वोपरि रहन्छ। त्यसैले भन्न सकिन्छ, नेपालको प्रगति र समाज रूपान्तरणका लागि साहित्यिक पत्रकारिताको भूमिका अग्रिम छ।

यस खालको ऐतिहासिकता नै साहित्यिक पत्रकारिताको इतिहास हो। स्रष्टाहरूलाई राष्ट्र र विदेशमा समेत परिचित गराउने सशक्त माध्यमका रूपमा रहेको साहित्यिक पत्रकारिता ओझेलमा पर्नु भनेको राष्ट्रकै गरिमामय शैली र अनुहारमा धमिलो एवं कालो धर्सो आफैंले आफूलाई कोरिदिनु हो। पत्रकारिताको जग बसालेको गरिमामय इतिहास बोकेको साहित्यिक पत्रिकालाई समाचार पत्रकारिताको छायामा पारेर जुन व्यवहार भइराखेको छ, त्यो राज्यपक्षबाट भइराखेको अनौठो लाग्दो अव्यावहारिक प्रचलन हो भन्न सकिन्छ।

साङ्गोपाङ्गो मुहारहरू ः वि.सं. १९५८ वैशाख २४ गतेदेखि निस्केको ‘गोरखापत्र’ले साहित्यिक सामग्रीहरू पनि प्रकाशन गरेको देखिन्छ। त्यसपछि ‘शारदा’ निस्क्यो। क्रमशः ‘रूपरेखा’, ‘रचना’, ‘रत्नश्री’, ‘भानु’, ‘नेपाली’ले आफ्नो सक्रियता देखाउन थाले। राणाकालीन अवस्थामा १९५८ सालदेखि ‘शारदा’ पत्रिका प्रकाशित भएर साहित्यिक पत्रकारिताको इतिहासमा स्वर्णिम नाम बनाउन सफल छ।

यही ‘शारदा’ पत्रिका नै साहित्यिक पत्रकारिताको इतिहासमा देखिँदो सबभन्दा सुन्दर नाम पनि हो। ‘रूपरेखा’ त्यसपछि उदय भएको साहित्यिक पत्रिका हो। जसको आफ्नो रूपरङ्ग स्तरीय ढङ्गले साहित्यिक पत्रकारिताको इतिहासमा देखाउन सफल छ। वि.सं. २००७ देखि २०१७ सालको अवधिमा ‘इन्दु’, ‘दर्पण’, ‘शक्ति’, ‘रूपरेखा’ आदि साहित्यिक पत्रिका प्रकाशन भएको देखिन्छ। दिगो, स्तरीय र यस युगै हाँकेर देखा परेको पत्रिकाको रूपमा ‘रूपरेखा’ मासिकले आफूलाई देखाइदियो। ‘शारदा’मा ऋद्धिबहादुर मल्लले सुन्दर ढङ्गको साहित्यिक पत्रकारिताको मुखाकृति कोरे भनेजस्तै पछिल्लो कालखण्डमा उत्तम कुँवरले ‘रूपरेखा’ कोरेर सुन्दर काम गरेको देखिन्छ। २०१८–२०२७ सम्ममा ‘बगैँचा’, ‘रचना’, ‘मुकुट’, ‘सिंहनाद’, ‘अरुणोदय बिहान’, ‘रत्नश्री’, ‘भानु’, ‘फूलपाती’, ‘कविता विम्ब’, ‘मधुपर्क’, ‘रमझम’ ‘हिमानी’, ‘सगुन’, ‘पारिजात’, ‘प्रतीक’, ‘प्रभात’, ‘अभिव्यक्ति’, ‘शिलान्यास’, ‘सुस्केरा’, ‘शृङ्खला’, ‘वेदना’, ‘सङ्कल्प’, ‘झिसमिसे’, ‘कलम’ आदि साहित्यिक पत्रपत्रिका निस्के पनि अद्यावधिसम्म ५७ वर्ष भयो ‘रचना’को नियमितता अग्रिम रह्यो।

‘अभिव्यक्ति’ यसपछि निस्केको पत्रिका हो। यसलाई पनि नियमित प्रकाशन गरेर साहित्यिक पत्रकारितामा एउटा नाम बनाउन सम्पादक÷प्रकाशक सफल रहेको देखिन्छ। यसर्थ भन्नुपर्छ– रोचक घिमिरे र नगेन्द्रराज शर्माले साहित्यिक पत्रकारितामा आफ्नो नाम बनाउन सफल छन्। संस्थानबाट प्रकाशित पत्रिकाहरूमा ‘मधुपर्क’ले बाजी मारेको छ। ‘गरिमा’ स्तरीय र नियमित छँदाछँदै त्यहीँभित्रको राजनीतिले हो वा केले हो नियमित भएको देखिँदैन। यसै गरी नेपाल प्रज्ञा प्रतिष्ठानबाट समकालीन साहित्य र कविता निस्कने र बन्द हुने क्रम जारी छ। नेपाल राष्ट्र बैंकबाट ‘मिर्मिरे’, कृषि विकास बैंकबाट ‘समष्टि’, नेपाल विद्युत् कर्पोरेसनबाट ‘ज्योति’ प्रकाशित भएर साहित्यिक पत्रकारितामा टेवा दिने काम भएको छ। अझ भनौं, साहित्यिक पत्रकारिताको इतिहासमा सबैभन्दा बढी पूर्णाङ्क ५०० भन्दा बढी अङ्क प्रकाशन गरेर आफूलाई ‘धन्य’ बनाएका छन्। ‘रत्नश्री’, ‘नेपाली’ले आफ्नो नाम साहित्यिक पत्रकारिताको इतिहासमा कोर्न सफल रहे तापनि पछि बन्द भए। भानुका भवानी घिमिरे दिवंगत भएपछि केही वर्ष स्थगित भएको ‘भानु’ साहित्यिक पत्रिका शिवानी घिमिरेको सक्रियतामा प्रकाशन हुन थालेर नियमित साहित्यिक पत्रिकाको रूपमा बिँडो थामेको छ।

भारतीय–नेपालीहरूले वा भारतमा बसोबास गरेका नेपालीहरूले पनि नेपाली साहित्यिक पत्रपत्रिका निकाले र साहित्यिक पत्रकारिताको विकासमा योगदान पुर्याएको देखिन्छ। भारतको दार्जीलिङ, बनारस, कलकत्ता, खरसाङ, आसाम, शिलाङ, सिक्किमबाट नेपाली साहित्यिक पत्रपत्रिकाहरू प्रशस्त प्रकाशन भएको देखिन्छ। ‘उपन्यास तरङ्गिणी’, ‘सुन्दरी’, ‘माधवी’, ‘चन्द्र’, ‘चन्द्रिका’, ‘आदर्श’, ‘गोर्खासेवक’, ‘गोर्खा’, ‘नेपालपुकार’, ‘गोरखा’, ‘दियालो’, ‘साहित्यसंगम’, ‘जागृति’, ‘उकाला’, ‘छात्र’, ‘छात्रवाणी’, ‘छात्रदूत’, ‘हिमाञ्चल’, ‘सगरमाथा’ आदि नामक थुप्रै साहित्यिक पत्रिकाहरू प्रकाशन भएको देखिन्छ। दार्जीलिङबाट प्रकाशित ‘भारती’ र बनारसबाट प्रकाशित भएको ‘उदय’ साहित्यिक पत्रकारिताको इतिहासमा आफ्नो नाम र धाम बनाउन सफल छन्। ‘उदय’ हालसम्म पनि मासिकका रूपमा प्रकाशित भइरहेका छ।

साहित्यिक पत्रकारिताको सन्दर्भमा भन्नुपर्दा हालसम्म प्रकाशित भइरहेका साहित्यिक पत्रिकाहरूमा ‘अन्तर्बोध’, ‘अभिव्यक्ति’, ‘अक्षयअक्षर’, ‘अक्षय ज्ञान’, ‘अक्षरमार्ग’, ‘अक्षलोक’, ‘उदय’, ‘उन्नयन’, ‘कल्पतरू’, ‘कलश’, ‘कालीको सुसेली’, ‘कौशिकी’, ‘गरिमा’, ‘गोलसिमल’, ‘चेतना सन्देश’, ‘जनमत’, ‘जमघट’, ‘तन्नेरी’, ‘दायित्व’, ‘दोभान’, ‘नयाँ सत्मार्ग’, ‘नव प्रज्ञापन’, ‘नारीश्वर’, ‘बगर’, ‘लहरा’, ‘वनिता’, ‘वैजयन्ती’, ‘शब्द संयोजन’, ‘शब्दाङ्कुर’, ‘शारदा’, ‘शाल्मली’, ‘शिवपुरी सन्देश’, ‘शृङ्खला’, ‘सगुन’, ‘सङ्गम’, ‘अभियान’, ‘सिर्जना’, ‘सुलेख’, ‘हाम्रो पुरुषार्थ’, ‘हाम्रो मझेरी’, ‘हाम्रो मातृभूमि’, ‘हाम्रो सिर्जना’, ‘हिमाली गुराँस’, ‘ज्ञानगुन’ आदि पत्रिकाहरू प्रकाशनमा आइरहेको देखिन्छ। १०० शताङ्क नघाउने पत्रिकाहरूमा ‘अभिव्यक्ति’, ‘उदय’, ‘गरिमा’, ‘जनमत’, ‘दायित्व’, ‘भानु’, ‘मधुपर्क’, ‘रचना’, ‘शब्द संयोजन’, ‘शब्दाङ्कुर’, ‘शारदा’, ‘ज्ञानगुनका कुराहरू’ आदि छन्।
स्थिति ः विज्ञापन नपाउनु, भरपर्दो बिक्री वितरण नहुनु, जति हुनुपर्ने सहयोग राज्यबाट नहुनु आदि समस्या साहित्यिक पत्रकारहरूका आफ्नै समस्या हुन्। ठूलो समस्या आर्थिक समस्या नै हो। लगानीकर्ताहरू यस क्षेत्रमा लगानी गरेर आएको पाइँदैन। आमपाठक साहित्यबाट प्रभावित नभएकै कारणले साहित्यिक पत्रिका किनेर पढ्ने पाठकहरूको कमी हुनु स्वाभाविक नै छ। यसर्थ, साहित्यिक पत्रकारिताको रूप र रङ्ग त्यति प्रभावकारी ढङ्गको देखिँदैन। त्यस्तै निजी क्षेत्रको साहित्यिक पत्रकारिता सेवाकै भावनाले मात्र प्रकाशित छन्। साहित्यिक पत्रिकालाई नियमित तुल्याउन सहज छैन, तर पनि सम्पादक÷प्रकाशकहरूको सेवाभावनाले उत्प्रेरित रहेर साहित्यिक पत्रकारिता गर्नेहरू क्रियाशील छन्। स्रोत, साधन, बौद्धिक, दक्ष जनशक्तिको अभावमा साहित्यिक पत्रकारिता गर्न गाह्रो विषय हो।

सङ्घको गठन ः साहित्यिक पत्रिका एवम् साहित्यिक पत्रकारहरूको हक, हित र संरक्षणका निम्ति स्थापित ‘नेपाल साहित्यिक पत्रकार सङ्घ’को स्थापना वि.सं. २०६३ मा भएको हो। यो संस्थालाई नेपालका साहित्यिक पत्रकारहरूको आधिकारिक साझा छाता संस्थाका रूपमा लिइन्छ। यसले साहित्यिक पत्रिकाहरूलाई वर्गीकरणमा पार्ने कार्यदेखि थुप्रै जिल्लामा पुगी साहित्यिक पत्रकारिताको परिचय दिने अभियानमा, साहित्यिक पत्रकारहरूलाई सम्मान गर्ने कार्यमा र साहित्यिक पत्रकारहरूलाई गोलबन्द गर्ने कार्यमा आफ्नो सक्रियता देखाउँदै आएको छ। ठाउँ–ठाउँमा जिल्ला सङ्घहरू स्थापना गर्ने कार्य पनि भएको छ। ‘आलेखन’को प्रकाशनमार्फत मोफसलका साहित्यिक पत्रपत्रिकाको इतिहास प्रकाशन गर्ने कार्यको शुभारम्भ भएको छ।

सरकारको नीति ः
– साहित्यिक पत्रकारिताको प्रवद्र्धन र संरक्षणका लागि सरकारले संरक्षण दिएको त छैन तर केही राहतजस्तो बनाएर वर्गीकरणसम्म गर्ने कार्य भएको छ।
– प्रेस काउन्सिल÷सूचना विभागबाट वितरण हुने सहुलियतहरूमा समाचार पत्रिका र साहित्यिक पत्रिकालाई तुलनात्मकरूपमा भेदभाव भएको स्थिति छ।

– प्रत्येक वर्ष एकजना साहित्यिक पत्रकारलाई ‘साहित्यिक पत्रकारिता पुरस्कार’ गर्ने कार्यक्रममा रू.३० हजारबाट रू.१० हजारमा पुरस्कार राशी झार्ने कार्य देखिँदो छ। – हुलाक सुविधा मासिकलाई बाहेक अरूलाई प्रदान गरेको देखिँदैन।
– सुविधामा दिइनुपर्ने कागजलगायत विज्ञापन, प्रतिनिधित्व साहित्यिक पत्रकारहरूलाई प्रतिष्ठित ढङ्गले समावेश गरेको देखिँदैन।

– सरकारले कुरोमा सबैथोक दिएजस्तो गर्छन् तर ‘न्यून सहुलियत’ पाएर अधमरो स्थितिमा साहित्यिक पत्रिकाहरू निस्किरहेको देखिन्छ।

अन्त्यमा ः 
साहित्यिक पत्रकारिताको महत्व, गरिमा उच्च रहेर पनि राज्यबाट जति सहयोग, वातावरण प्राप्त हुनुपर्ने हो, सो भएजस्तो मात्र देखिँदो छ। तर हुनुपर्ने जति सहज नभएको सबैले महसुस गरेकै विषय हो। साहित्य, कला, संस्कृतिको विकासमा टेवा पुर्याउन साहित्यिक पत्रपत्रिकाको संरक्षण हुनुपर्ने हो, सो हुने वातावरणको खोजीमा र सहयोगको अपेक्षा सबै वाङ्मयसेवीहरूले राख्दै आएका छन्।
(लेखक नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय महासचिव तथा जनमत मासिकका प्रधानसम्पादक हुनुहुन्छ।)

LEAVE A REPLY