पूर्वराजाका नातिको भोलि व्रतबन्ध



ईश्वरराज ढकाल, काठमाडौं
निर्मल निवासमा भ्याई नभ्याई छ। भोलि बिहीबार पूर्वराजा ज्ञानेन्द्रका नाति पारसपुत्र हृदयेन्द्रको उपनयन (व्रतबन्ध) का लागि सपरिवार व्यस्त छन्।

एक महिना अघिदेखि निर्मल निवासमा व्यापक तयारी भइरहेको समारोहमा पूर्वराजाले आफ्नो सम्बन्ध विस्तार गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वराष्ट्रपति डा. रामवरण यादवदेखि संवैधानिक निकायका प्रमुख, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुख, पूर्वउपराष्ट्रपति, उपप्रधानमन्त्री, विभिन्न दलका नेतालगायतलाई निम्तो दिनुभएको छ।

२४ गते होटल सोल्टीमा आयोजना हुने विशिष्ट अतिथि, अतिथि र विदेशी कूटनीतिक नियोगका प्रतिनिधिलाई दुईथरिका कार्ड वितरण गरिएको छ। विदेशी नियोगका पाहुनालाई साँझ साढे ५ देखि साढे ७ बजेसम्मको समय तोकिएको छ। १५ वर्ष उमेर पुगेका हृदयन्द्रको व्रतबन्धको निम्तोमा पूर्वराजा ज्ञानेन्द्र, रानी कोमल, पूर्वयुवराज पारस र पूर्वयुवराज्ञी हिमानीले संयुक्त कार्ड वितरण गर्नुभएको छ।

पूर्वनवयुवराजको हैसियतमा निर्मल निवासले करिब ३ हजारभन्दा बढी पाहुनालाई सोल्टीमा निम्तो दिएको छ। व्रतबन्धको दिन भोलि आफन्तलाई मात्र निम्तो दिइएको छ।

मुलुकमा हिन्दू राज्य र राजतन्त्रको विषयमा चर्को बहस चलिरहेको बेला पूर्वराजाले आफ्नो नातिको व्रतबन्धको अवसर पारेर राष्ट्रपतिदेखि उपप्रधानमन्त्री र मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, विभिन्न पार्टीका राजनीतिज्ञ, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, बुद्धिजीवी, पूर्वप्रधानसेनापति, कानुनविद् तथा पत्रकारलगायतलाई निम्तो बाँड्नुभएको छ।

बिहीबार आयोजना हुन लागेको व्रतबन्धमा भारतका समेत आफन्तहरू सहभागी हुने भएका छन्। ज्ञानेन्द्र, पारस र हिमानीले आ–आफ्नो निकटकालाई निमन्त्रणा दिएको उक्त समारोह हुने दिनभर सोल्टी होटलमा रमझम देखिने भएको छ।

निम्तोमा सबैलाई सालिन र औपचारिक पोसाकमा उपस्थित हुन आग्रह गरिएको छ। पूर्वराजा ज्ञानेन्द्रले देशभर रहेका आफू निकटलाई समेत निम्तो बाँड्नुभएको छ। निम्तो पाएको विषयमा जानकारी गराउँदै राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले पूर्वराजाको नातिको व्रतबन्धमा निम्तो आएको जानकारी दिनुभयो।

उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले पूर्वराजाबाट पत्र आएको तर जाने वा नजाने भन्ने विषयमा हालसम्म टुंगो लागिनसकेको बताउनुभयो।

राष्ट्रपति भण्डारीकी कान्छी छोरीको विवाहको निम्तो स्वीकार्न पूर्वराजा ज्ञानेन्द्र शीतलनिवास पुग्नुभएको थियो। पूर्वराजाले राष्ट्रपतिलाई नातिको निम्तो दिएपछि उहाँ सहभागी हुने सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्