विकास बजेट ७० प्रतिशत खर्च



विनोद सिंह विष्ट, बैतडी । बैतडीमा सुदूरपश्चिम प्रदेश मातहतका सरकारी कार्यालयहरुको गत आर्थिक बर्षको विकास बजेट ७० प्रतिशत बढी खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । १ अर्ब ८३ करोड ८९ लाख पूँजीगत बजेट मध्ये १ अर्ब २९ करोड ४३ लाख खर्च भएको छ । यो कुल बजेटको ७०.३८ प्रतिशत खर्च हो ।

विकास बजेट मध्ये भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको १ लाख बजेट मध्ये शतप्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी भाष्कर पन्तले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयको ९६ लाख ३५ हजार मध्ये ९२ लाख ३४ हजार खर्च भएको छ । यो कुल पूँजीगत बजेटको ९५.८३ प्रतिशत खर्च हो ।

यसैगरी सुख्खा फलफूल विकास केन्द्रको ५२ लाख ५० हजार मध्ये ३७ लाख ४५ हजार खर्च भएको छ । कृषि ज्ञान केन्द्रको ८३ लाख ५० हजार मध्ये ७५ लाख ३८ हजार खर्च भएको छ । यसैगरी सिंचाइ विकास डिभिजन कार्यालयको ३१ करोड ९३ लाख मध्ये १९ करोड ७२ लाख खर्च भएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नम्बर १ को ५९ करोड ९२ लाख मध्ये ४९ करोड ५७ लाख खर्च भएको छ ।

पूर्वाधार विकास कार्यालयको ७५ करोड १३ लाख मध्ये ४५ करोड ४८ लाख खर्च भएको छ । यो कुल बजेटको ६०.५३ प्रतिशत मात्रै खर्च हो । यसैगरी शहरी विकास तथा भवन निर्माण कार्यालयको १० करोड ३४ लाख मध्ये ९ करोड ३१ लाख रुपैया खर्च भएको छ । यस्तै स्वास्थ्य कार्यालयको १ करोड ४० लाख मध्ये १ करोड ३९ लाख खर्च भएको छ । जिल्ला अस्पतालको १ करोड २२ लाख मध्ये १ करोड ९ लाख खर्च भएको छ । शिक्षा विकास तथा समन्वय इकाइ बैतडीको १ करोड ७ लाख मध्ये ७३ लाख ८७ हजार खर्च भएको छ ।

गत आर्थिक बर्षमा विकास बजेटमा विनियोजन भएको रकम मध्ये खर्च नभएको रकम फ्रिज हुने कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । असारको पहिलो साता ३० प्रतिशतको हाराहारीमा खर्च गरेका कार्यालयहरुले एक महिनाको अवधिमा ४० प्रतिशत खर्च गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्