लक्ष्मणपुर बाँध भत्काउन माग, कि बाँध फोर्नु पर्यो होइन भने उठिबास लाग्नुपर्यो



नेपाल समाचारपत्र, बाँके
धेरै लामो समयपछि आइतबार यस क्षेत्रमा पानी प¥यो। पहिलो पटक परेको पानीले नै जिल्लाको पूर्वी–दक्षिणी क्षेत्र नरैनापुरका आधा दर्जनगाउँ डुबानमा परे। यी गाउँहरू आफ्ना कारणले नभई भारतले दशगजामा बनाएको सडकजस्तो बाँधका कारण डुबानमा परेका थिए। सडकजस्तो बाँधले पानीको प्राकृतिक बहाब रोकिदिएपछि नेपाली गाउँहरू डुबानमा परेका हुन्।

बर्खाको पहिलो झट्कामै आधा दर्जन गाउँका डेढ सय बढी घर डुबेपछि सोमबार जिल्लाका सुरक्षा अधिकारी घटनास्थलमा पुगेका छन्। प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी प्रमुख एसपी अरूण पौडेल, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र प्रमुख गौरी बुढाथोकीको टोली नरैनापुरको डुबान क्षेत्रमा पुगेको थियो।

नेपालगन्जबाट गएको टोली नरैनापुर–१, महतनिया र बनियागाउँमा पुगेको थियो। जुन गाउँ नेपालगन्जदेखि ४४ किलोमिटर टाढा पर्छ भने जिल्लाको पूर्वी–दक्षिण अन्तिम बिन्दु पनि हो। घटनास्थल पुगेर हेरेपछि प्रमुख जिल्ला अधिकारी भुजेलले भन्नुभयो– ‘भारतले बनाएको सडकजस्तो बाँधको उचित निकास नहुँदा नेपाली गाउँहरू डुबानमा परेका रहेछन्। धेरैजसो घरमा २÷३ फिट पानी पसेको पाइयो।’

प्रजिअ भुजेलले भारतीय समकक्षीलाई सडकजस्तो बाँधमा उचित ठाउँमा कल्भर्टको संख्या बढाउन आग्रह गर्ने जानकारी दिनुभयो। उहाँका अनुसार, पहिला–पहिलाका सीमावर्ती अधिकारीको बैठकमा सडकजस्तो बाँधबाट पानीको निकास दिन आग्रह गरे पनि भारतीय अधिकारीले ‘हुन्छ’ भनेर टार्ने गरेका छन्।

भारतले एकतर्फीरूपमा दशगजामा सटाएर सडकजस्तो पक्की बाँध बनाउँदा नेपाली अधिकारीहरूले कुनै चासो नै दिएनन्। बाढीपीडितहरूले यस विषयमा पटक–पटक ज्ञापनपत्र बुझाउदा नेपाली अधिकारीहरू कानमा तेल हालेर सुते। बर्खाको पहिलो पानीले नै धेरै नेपाली गाउँ डुबानमा परेपछि अधिकारीहरू झस्किएका त छन्, तर यस्ता अवलोकन र निरीक्षणले केही हुनेवाला छैन।

डुबानमा क्षेत्रमा पुगेका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख बुढाथोकीले केही दिन लगातार पानी परेमा सीमावर्ती नेपालीगाउँको स्थिति भयावह हुने बताउनुभयो। ‘भारतले दशगजामा दिवाल लगाएको जस्तो पक्की बाटो बनाएको छ। पानीको निकास थोरै ठाउँमा सानो छ। ठूलो पानी पर्नेबित्तिकै सबैजसो नेपालीगाउँ डुवानमा पर्ने निश्चित छ’, बुढाथोकीले भन्नुभयो– ‘कि बाँध फोर्नु प¥यो होइन भने उठिबास लाग्नु प¥यो।’

आइतबार परेको पानीले नरैनापुर गाउँपालिकाको बनियागाउँ, महतनियाँ, मझेरटी, मियाँपूर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपूर्वा, रोशनपूर्वा गाउँहरू डुवानमा परेका छन्। यी गाउँका सय बढी घर डुबानमा परेको र एक दर्जन भत्किएको गाउँपालिकाका अध्यक्ष मो। इस्तियाक अहमद शाहले जानकारी दिएका छन्।

भारतले दशगजामा एकतर्फी बनाएको सडकजस्तो बाँधले पानीको उचित निकास दिएको छैन। राख्नुपर्ने ठाउँमा कल्भर्टहरू राखिएको छैन। नेपालतर्फबाट बग्ने पानीको निकास रोक्ने नै भारतीयको उद्देश्य देखिन्छ।

भारतले सन् १९८५ मा राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँध र सन् २००० मा दशगजामा बनाएको कलकलवा तटबन्धले जिल्लाको राप्ती तटीय क्षेत्रका आधा दर्जन गाउँहरू डुबानमा पर्दै आएका थिए। पछिल्लो वर्षमा भारतले फेरि दशगजासँगै जोड्याएर सडकजस्तो पक्की बाँध बनाएपछि डुबानको क्षेत्र फैलिएको छ। लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले जिल्लाको आधा दर्जन गाउँहरूमात्रै डुबानमा पर्थे भने बिस्तार गरिएको सडकजस्तो बाँधले जिल्लाको दक्षिणी सबै गाउँमा डुबानमा पर्ने भएका छन्। सडकजस्तो बाँधका कारण नेपालगन्ज बजार पनि डुवानको चपेटामा रहेको छ। नेपालगन्जबाट बग्ने पानीको निकास पनि सडकजस्तो बाँधले थुन्ने गरेको छ।

सन् १९८५ देखि भारतले बनाएको बाँध र कलकलवाका कारण डुबानमा पर्दै आएका बाढीपीडितले नेपाल सरकारलाई पटक–पटक सडकजस्तो बाँधको विबस्तार रोक्न आग्रह गरे पनि सरकारले कुनै सुनुवाइ गरेको छैन। पानीको निकास रोक्ने संरचना निर्माण बन्दा रोक्न नसक्ने र त्यसका कारण नेपाली गाउँहरू डुबानमा परेपछि त्यसको अवस्था अवलोकन गर्न जाने नेपाली अधिकारीहरूको पुरानो परम्परा बर्खाको पहिलो झट्कामै देखिएको छ।

यसैबीच सांसद पूर्णाकुमारी सुवेदीले राप्ती नदीको दुवै किनारमा पक्की बाँध निर्माण गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधिसभाको सोमबारको शून्य समयमा बोल्दै सुवेदीले भारतीय पक्षले निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण बाँकेको १० हजार विगाह जमिन डुबानमा पर्ने गरेको बताउनुभयो। सांसद प्रेम सुवालले बाँके जिल्लाको सीमानामा निर्माण गरिएको लक्ष्मणपुर बाँध तत्काल भत्काउन सरकारको ध्यानाकर्षण गराउनुभयो।

भारतले लक्ष्मणपुर बाँध, कलकलवा तटबन्ध भन्दा पछिल्लो समयमा पूर्वदेखि पश्चिमसम्म दशगजामा बिस्तार गरेको सडकजस्तो पक्की बाँधले पूर्णरूपमा पानीको निकास थुनेको छ। लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धले जिल्लाका साविकका होलिया, बेतहनी, कम्दी, गंगापुर, नरैनापुर, फत्तेपुर गाविस डुवानमा पर्ने गरेका थिए। सडकजस्तो बाँध बनाएपछि जिल्लाका दक्षिणका सबै गाउँहरू डुबानमा पर्ने जोखिम बढेको छ। भारतले नेपालको दक्षिण सीमाको एक हजार सात सय ५१ किलोमिटरमै सडकजस्तो बाँध बनाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्