देविकाको माया घटेन



सुमधुर स्वरकी धनी गायिका देविका वन्दनाले हालै आफ्नो नयाँ गीत माया घटेन सार्वजनिक गरेकी छिन्। दीपक शर्माको शब्द तथा संगीत रहेको गीतको संगीत संयोजन राजन ईशानले गरेका छन्। गीतमा सञ्जीव बराइलीको गितार र सञ्जीव मैनालीको बाँसुरी रहेको छ।

गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ। यसको आकर्षक भिडियोमा इन्स्टाको फोटो बोलको गीतको म्युजिक भिडियोबाट चर्चामा आएकी मोडल रेश्मा घिमिरेले नृत्य तथा अभिनय गरेकी छिन्। गीतमा एक प्रेमिकाले आफ्नो प्रेमीप्रतिको माया कहिल्यै नघटेको भाव व्यक्त गर्दै भनेकी छिन्, पोखरीको सबै पानी घैलामा अटेन, खुसीहरू बाँड्दा बाँड्दै आफैसँग बचेन, मन घट्यो जीवन घट्यो तर तिमीलाई दिने माया घटेन। विभिन्न आर्कषक आउटडोर र इनडोर लोकेसनमा खिचिएको गीतको भिडियोमा मोडल रेश्माले आकर्षक नृत्य गरेकी छिन्।

भिडियोमा सन्तोष राजबाहकको कोरियोग्राफी रहेको छ भने रामकुमार केसीको छायांकन रहेको छ। टेकेन्द्र शाहले निर्देशन गरेको भिडियोमा सम्पादन पनि उनकै रहेको छ। यस्तै रहेछ यहाँको चलन बोलको गीतमार्फत गीतसंगीत प्रेमीको मनमा बस्न सफल दर्जनौं लोकप्रिय गीतकी गायिका देविकाले यसअघि हिन्दी गीत पनि गाएकी थिइन्। उनले धेरै नेपाली फिल्मका गीतहरूमा पाश्र्व गायन गरेकी छिन् भने उनका धेरै आधुनिक तथा फिल्मी गीतहरू लोकप्रिय छन्।

प्रतिक्रिया दिनुहोस्