राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा



नेपाल समाचारपत्र, काठमाडौं

राजधानीमा बुधबारदेखि आयोजना हुन लागेको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ को तयारी पूरा भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा यही जेठ २२ देखि २६ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने सोमबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिइएको थियो।

‘आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगीकरणका लागि सबै जुटौं’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिनुभयो। २०४२ सालमा १६ वटा जिल्लाका १६ जना उद्यमीहरूलाई भृकुटीमण्डपमा भेला पारी घरेलु तथा साना उद्योग विकास समितिले सरकारी तबरबाट केन्द्रीयस्तरमा शुरू गरेको सानो औद्योगिक प्रदर्शनी विभिन्न आरोह अवरोह पार गर्दै ३०औं श्रृंखलामा आइपुगेको उहाँले बताउनुभयो।

विगतमा घरेलु तथा साना उद्योग विकास समितिले राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार कार्यक्रमका नामबाट मुलुकभर छरिएर रहेका लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई राष्ट्रिय बजारमा मूल प्रवाहीकरण गर्ने र उद्यमीलाई सम्मान तथा पुरस्कृत गरी हौसला प्रदान गर्दै आएकोे छ। २०४६ सालदेखि कार्यक्रममा उत्कृष्ट उद्यमी पुरस्कारसमेत समावेश गरी सञ्चालन हुँदै आएको कार्यक्रमले अहिलेसम्म आइपुग्दा सयौं लघु घरेलु तथा साना उद्यमीलाई पुरस्कृत भइसकेका छन।
महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले हालसम्म ४ लाख १८ हजार ५२ घरेलु र साना उद्योग दर्ता भएको भए तापनि आर्थिक वर्ष २०७४/०७५ सम्मको तथ्यांक हेर्दा मुलुकभर दर्ता कायम रहेका घरेलु तथा साना उद्योगहरूको संख्या ३ लाख २१ हजार १३ देखिएको बताउँदै तीमध्ये घरेलु उद्योगको संख्या १७ हजार २ हजार ८९ रहेको जानकारी दिनुभयो।

विभिन्न तथ्यहरू हेर्दा लघु घरेलु तथा साना उद्योगको उत्पादनको विविधिकरण र प्रवद्र्धनबिना स्वतन्त्र र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सम्भव नदेखिएको भन्दै अध्यक्ष गिरीले स्वदेशी वस्तुको उत्पादन बढाई रोजगारका अवसरसमेत सिर्जना गरी आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

महासंघले लघु घरेलु तथा साना उद्योगका उत्पादनलाई प्रदर्शनीको माध्यमबाट क्रेता विक्रेताबीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्ने, राष्ट्रियस्तरमा मागअनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीहरूको सीप, प्रविधि र उद्यमशीलताको कदर गरी राष्ट्रियस्तरमा सम्मान र पुरस्कृत गर्ने उद्देश्यका साथ यो प्रदर्शनीको आयोजना गरिँदै आएको बताउनुभयो।

प्रदर्शनीमा २ सय लघु घरेलु तथा साना उद्योगका उत्पादनहरूको स्टल रहनेछन्, जसमध्ये ७७ जिल्लाबाट कम्तीमा एक उद्यमीको सहभागिता सुनिश्चिता गरिएको छ। प्रदर्शनी अवधिभर १ लाख ५० हजारले अवलोकन गर्ने र ५ करोडभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्