क्रिकेटको महाकुम्भ शुरु, उदघाटन खेलमा इंग्ल्यान्ड विजयी



लन्डन, (एजेन्सी)
१२औं संस्करणको क्रिकेट विश्वकपको उदघाटन खेलमा आयोजक राष्ट्र इंग्ल्यान्डले जित हात पारेको छ ।

ओभल मैदानमा बिहीबार भएको खेलमा इंग्ल्यान्डले दक्षिण् अफ्रिकालाई १सय ४ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ३ सय १२ रनको लक्ष्य तेर्साएको थियो । जुन लक्ष्य भेटाउन दक्षिण अफिकाले सकेन । हसिम अमला चौथो ओभरमा टाउकोमा चोट लागेर रिटायर्ड हर्ट भएपछि नै दक्षिण अफ्रिका दवावमा परेको थियो । त्यसपछि १० ओभरभित्र जोफ्रा आर्चरले कप्तान फाफ डु प्लेसिस र अमलाको स्थानमा आएका एडेन मार्करामलाई पवेलियन फर्काएपछि इंग्ल्यान्डले खेलमा नियन्त्रण बनाउँदै लगेको थियो ।

त्यसो त यी दुई विकेट पतनपछि क्विन्टन डी कक र भान डेर डुसेनले दक्षिण अफ्रीकाको ब्याटिङ उकास्न प्रयास गरेका थिए । दुबैले तेस्रो विकेटका लागि ८५ रनको साझेदारी गरे पनि । तर डिकक २३औं ओभरमा लायम प्लन्केटको शिकार भए । उनले ६ चौका र २ छक्कासहित ६८ रन बनाएका थिए । लगतै जेपी डुमिनी (८ रन) पनि मोइन अलीलाई विकेट दिएर छिटै पवेलियन फर्के भने अर्धशतक पुरा गरेका डुसेनलाई आर्चरले पवेलियन फर्काइदिए । शीर्ष खेलाडी आउट हुँदै टोली कमजोर भएको अवस्थामा घाइते अमला पुन ब्याटिङ सम्हाल्न आए ।

यसअघि इंग्ल्यान्डले शुरुमै विकेट गुमाएपनि शानदार ब्याटिङ प्रस्तुत गरेको थियो । इमरान ताहिरको पहिलो ओभरमै जोनी बेयरस्टो गोल्डेन डकआउट भएका थिए । यसपघि जेसन राय र जोए रूटले १ सय ६ रनको शतकीय साझेदारी गर्नु र कप्तान आयन मोर्गान र बेन स्टोक्सले अर्धशतक बनाउँदा इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षेतिमा ३ सय ११ रन बनाएकोे थियो ।

रायले ५४ रन र रूटले ५१ रन जोडे भने मोर्गान ५७ रनमा पवेलियन फर्केका थिए । स्टोक्सले भने सर्वाधिक ८९ रनको योगदान दिएका थिए । योसँगै विश्वकपअन्तर्गत एउटै खेलमा चार इंग्लिस ब्याटसम्यानले अर्धशतक पहिलो पटक प्रहार गरेका छन् । यसअघि इंग्ल्यान्डको तर्फबाट विश्वकपमा एउटै खेलमा ३ व्याटसम्यानले अर्धशतक प्रहार गरेका थिए ।

दक्षिण अफ्रिकाको बलिङमा युवा बलर लुंगी नगीडी सबैभन्दा सफल बलर साबित भए । उनले १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै ४० वर्षीय ताहिरले ६१ रन दिएर दुई विकेट हात पारेका थिए । बेयरस्टोको विकेट लिएसँगै उनी विश्वकपमा विकेट लिने पहिलो पाको बलर बनेका हुन् । यसैगरी कागिसो रगाडाले पनि दुई विकेट हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्