घरेलु उद्योग महोत्सवमा १० करोडको कारोबार



काठमाडौं, (नेस)
राजधानीमा जारी १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा तेस्रो दिन शनिबारसम्म सवा १० करोड रुपियाँ बराबरको कारोबार भएको छ। शनिबारसम्म मेलामा एक लाख ८७ हजार अवलोकनकर्ताले अवलोकन गरेका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा बिहीबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुरु भएको मेलामा बिहीबार २० हजारले अवलोकन तथा ५० सवा करोडको कारोबार भएको छ भने शुक्रबार ५० हजारले अवलोकन तथा चार करोड रुपियाँको कारोबार भएको छ।

शनिबार एक लाख १७ हजारले अवलोकन गरेका छन् भने छ करोड रुपियाँ बराबरको कारोबार भएको छ। आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी मंगलबारसम्म चल्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको छ।

महोत्सवको सहआयोजक अर्गानिक एसोसिएसन अफ नेपाल रहेको छ। नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं महानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगकोे सहकार्यमा यस प्रदर्शनी आयोजना गरिएको हो। मेलामा २०५ वटा स्टल रहेका, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योगहरू सहभागी रहेको, चीन, भारत र बंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेका छन्, मेलामा करिब १५ करोड रुपियाँको कारोबार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्