आजदेखि अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला



काठमाडौं, (नेस)
नेपाली घरेलु तथा साना उद्योगका उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०७५ राजधानीमा शुक्रबारबाट शुरु भएको छ ।

‘‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मेहनत, सिर्जना, उत्पादन र वस्तु मैरै नेपालको’ भन्ने नाराका साथ मेला सोमबारसम्म सञ्चालन हुनेछ । ले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा घरेलु उद्योग महोत्सव र तेस्रो प्राङ्गारिक कृषि मेला–२०७५ आयोजना गर्न लागेको हो ।

समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अभियानका रुपमा सञ्चालन गर्ने उद्घोष गरेको वर्तमान सरकारको कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताउनुभयो ।

अध्यक्ष सिंहले भन्नुभयो– ‘परिणामतः यस्ता उद्योगमा पुस्ता हस्तान्तरणको समस्या रहेको छ । यस्तै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले नियमित रुपमा राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएको छ।’

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेशलगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ र प्रदर्शनीमा २ सय वटा स्टलको व्यवस्था हुने र दुई लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपियाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।

प्रतिदिन अर्गानिक उत्पादनमा मनिसको रुची बढ्दै गएको र अर्गानिक उत्पादन उपभोग गर्नेहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भइरहेको छ भने नेपाल सरकारले पनि अर्गानिक उत्पादनलाई प्रोत्साहन गरिरहेको अवस्थालाई मध्यनजर गर्दै तेस्रो प्राङ्गारिक कषि मेला – २०७५ पनि सोही मेलामार्फत गरिन लागेको हो । मेलको शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्