राष्ट्रिय सभा निर्वाचनको मतदान सुरू



काठमाडौं ।

राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ। अहिले सातवटै प्रदेशहरूमा मतदान चलिरहेको छ। बिहान नौ बजेदेखि दिउँसो तीन बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ।

मतदान सकिएपछि आजै मतगणना गर्ने आयोगको तयारी छ। राष्ट्रिय सभाको १९ सदस्यका लागि ५१ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको पदावधि आगामी फागुन २० गते सकिन लागेकाले त्यसको पूर्तिका लागि यो निर्वाचन हुन लागेको हो।

आज हुने मतदानमा राष्ट्रियसभाका लागि कोशी प्रदेशबाट दुई मधेस प्रदेशबाट दुई, बागमती प्रदेशबाट चार,गण्डकी प्रदेशबाट तीन लुम्बिनी प्रदेशबाट दुई, कर्णाली प्रदेशबाट तीन र सुदूरपश्चिम प्रदेशबाट तीन गरी १९ जना सदस्य निर्वाचित हुने छन्।

त्यसका लागि सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन्। जसमा कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, वागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार रहेका छन्।

कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छ/छ जना उम्मेदवार रहेका छन्। दलगत रूपमा आठवटा राजनीतिक दलका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

सत्तासाझेदार दल गठबन्धन गरी र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) राप्रपा, जनमत र नेमकिपा एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका छन्।

यसले गर्दा राष्ट्रियसभाको १९ सिटमै सत्तागठबन्धनले जित हात पार्ने निश्चित देखिएको छ। निर्वाचनमा गठबन्धनबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका २ र जसपाका १ उम्मेदवार छन्।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख—उपप्रमुख मतदाता रहन्छन्। राष्ट्रिय सभाको निर्वाचनमा सातवटै प्रदेशका गरी ५ सय ४९ जना प्रदेशसभा सदस्य मतदाता रहेका छन्। त्यसै गरी ७ सय ५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ४ सय ९८ मतदाता रहेका छन्।

सात वटै प्रदेशमा सात मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रत्येक प्रदेशमा एक–एक वटा मतदानस्थल र सोही स्थानमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदानकेन्द्र तोकिएको थियो।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर मोरङ, मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, वागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ‘ब्लक’ प्राविधिक भवन, हेटौंडा, मकवानपुरमा मतदानस्थल तोकिएको छ।

त्यसै गरी गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ।

प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखले अलग अलग मतदान केन्द्रमा मतदान गर्ने छ।

कुल मतदातामध्ये प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रतिमतदाता मतभार १९ कायम गरिएको छ।

निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४ सय ६२ गरी जम्मा ५७ हजार ५ सय ५९ मतभार रहेको छ।

प्रतिक्रिया दिनुहोस्