राष्ट्रिय सभा निर्वाचनमा कसले मार्ला बाजी ?

आठ राजनीतिक दलका ५१ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा



काठमाडौं ।

राष्ट्रियसभाको १९ सदस्यका लागि आज बिहीबार हुने निर्वाचनमा ५१ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन्।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको पदावधि आगामी फागुन २० गते सकिन लागेकाले त्यसको पूर्तिका लागि यो निर्वाचन हुन लागेको हो।

पदावधि सकिन लागेका सदस्यहरू २०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेका थिए। कार्यकाल सकिनुभन्दा ३५ दिनअघि राष्ट्रियसभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक प्रावधान रहेकाले छ।

आज हुने मतदानमा राष्ट्रियसभाका लागि कोशी प्रदेशबाट दुई मधेस प्रदेशबाट दुई, वागमती प्रदेशबाट चार,गण्डकी प्रदेशबाट तीन लुम्बिनी प्रदेशबाट दुई, कर्णाली प्रदेशबाट तीन र सुदूरपश्चिम प्रदेशबाट तीन गरी १९ जना सदस्य निर्वाचित हुने छन्।

त्यसका लागि सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन्।

जसमा कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, वागमतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा छ जना उम्मेदवार रहेका छन्। कर्णाली प्रदेशमा र सुदूरपश्चिम प्रदेशमा छ/छ जना उम्मेदवार रहेका छन्।

दलगत रूपमा आठवटा राजनीतिक दलका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। सत्तासाझेदार दल गठबन्धन गरी र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) राप्रपा, जनमत र नेमकिपा एक्ला एक्लै चुनावी मैदानमा उत्रिएका छन्।

यसले गर्दा राष्ट्रियसभाको १९ सिटमै सत्तागठबन्धनले जित हात पार्ने निश्चित देखिएको छ। निर्वाचनमा गठबन्धनबाट कांग्रेसका १०, माओवादीका ६, एकीकृत समाजवादीका २ र जसपाका १ उम्मेदवार छन्।

आयोगका अनुसार सातवटै प्रदेशको सदरमुकाममा मतदानका लागि सम्पूर्ण तयारी मिलाइसकेको छ। मतदानका लागि आवश्यक सुरक्षा प्रबन्धदेखि, व्यवस्थापकीय र प्राविधिक तयारी मिलाइसकेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताउनुभयो।

बिहीबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुनेछ। मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगले जनाएको छ।

मतदान स्थल रहेको प्रदेशका जिल्लाहरूमा जिल्ला प्रशासन कार्यालयलाई निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका,२०७८ को दफा ५ बमोजिम गठित जिल्ला निर्वाचन सुरक्षा समितिलाई क्रियाशील तुल्याइएको आयोगले जनाएको छ।

त्यसै गरी मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदान स्थललगायतलाई ध्यानमा राखेर सुरक्षा मिलाइएको आयोगले दाबी गरेको छ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख—उपप्रमुख मतदाता रहन्छन् । मतदानका लागि प्रदेशका सांंसद र स्थानीय तहका प्रमुख र उपप्रमुखहरू बुधबार नै मतदान हुने सदरमुकाममा पुगिसकेका छन् ।

मतदाताहरू आफू रहेका स्थानीय तह वा जिल्लाबाट मतदान स्थल तोकिएको प्रदेश राजधानीसम्म र प्रदेश राजधानीमा निज बसेको स्थानबाट मतदान केन्द्रसम्म मतदान प्रयोजनका लागि आउने र जाने मार्ग तथा आवासीय क्षेत्रमा आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको पनि आयोगले जनाएको छ।

राष्ट्रिय सभाको निर्वाचनमा सातवटै प्रदेशका गरी ५ सय ४९ जना प्रदेशसभा सदस्य मतदाता रहेका छन्। त्यसै गरी ७ सय ५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ४ सय ९८ मतदाता रहेका छन्।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखको लागि अलगअलग मतपत्रको व्यवस्था गरिएको छ। ३८ प्रकारका ६ हजार ९ सय १० मतपत्र छपाइ गरेको छ।

प्रदेशगत रूपमा रहेका मतदाता सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा मतपत्र छपाइ गरेको थियो।

त्यसै गरी नगरपालिकाका मेयर उपमेयर तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्षले सेतो रंगको कागजमा रातो रंगको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रमा मतदान गर्नेछन्।

त्यसै गरी प्रदेश सभा सदस्यहरूले सेतो रंगको कागजमा हरियो रंगको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रमा मतदान गर्नेछन्।

प्रदेशगत रूपमा रहेका मतदाता सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा मतपत्रको व्यवस्था गरिएको छ।

सात वटै प्रदेशमा सात मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकिएको छ । प्रत्येक प्रदेशमा एक– एक वटा मतदानस्थल र सोही स्थानमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा मतदानकेन्द्र तोकिएको थियो।

कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर मोरङ, मधेस प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, वागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ‘ब्लक’ प्राविधिक भवन, हेटौंडा, मकवानपुरमा मतदानस्थल तोकिएको छ।

त्यसै गरी गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको निर्वाचन आयोगले जनाएको छ।

प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखले अलग अलग मतदान केन्द्रमा मतदान गर्ने छ।

कुल मतदातामध्ये प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रतिमतदाता मतभार १९ कायम गरिएको छ।

निर्वाचन प्रयोजनका लागि प्रदेश सभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४ सय ६२ गरी जम्मा ५७ हजार ५ सय ५९ मतभार रहेको छ।

प्रतिक्रिया दिनुहोस्