पोखरा थन्डर्स शीर्षमा उक्लियो



काठमाडौं।

पोखरा थन्डर्स जारी नेपाल सुपर लिगअन्तर्गत अंकतालिकाको शीर्ष स्थानमा पुगेको छ । बुधबार दशरथ रंगशालामा भएको खेलमा स्पोर्टिङ्ग इलाम एफसी १–० ले हराएर पोखरा शीर्ष स्थानमा पुगेको हो । पोखराको ८ अंक भएको छ । पोखराको जितमा सन्जीव विष्टको एक् मात्र गोल नै जितको लागि पर्याप्त भयो । उनले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए ।

दोस्रो हाफको सुरुवातमै मोसेस ग्याबाले गोल गर्न निकट पुगेका थिए । उनको प्रहार पोस्टमा ठोक्किएको थियो । त्यो बल इलामका गोलकीपर विकेश कुथुको शरीरमा लाग्दै बाहिरिएको थियो । जबकी त्यो बल गोललाइनमा गुड्दै गर्दा पनि गोल हुन सकेन ।

तर, त्यसलगतै पोखराले गोल गरेको थियो । आयुष घलानले गरेको कर्नर प्रहार इलामका खेलाडीले राम्ररी क्लियर गर्न नसकेको अवस्थामा सन्जीबले गोल गर्न सफल भएको थियो । यसपछि दुबै पक्षबाट गोल नभएपछि पोखराको लागि ३ अंक सुरक्षित भयो र तेस्रो स्थानबाट पहिलो स्थानमा उक्लिन सफल भयो ।
स्पोर्टिङ इलामको यो चार खेलमा तेस्रो हार बनेको छ । इलामसँग ३ अंक रहेको छ । प्लेअफमा स्थान बनाउन बाँकी खेलमा जित हासिल गर्नैैपर्ने टोलीमाथि दवाव बढेको छ । आज चितवन र बुटवल लुम्बिनीबीच खेल हुनेछ । चितवनको ४ अंक छ भने लु्म्बिीनीको ३ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्