मंसिर १४, २०७५ नेपाल समाचारपत्र

नेपाल किन बनेन ?



पुष्करलाल श्रेष्ठ

नेताहरूले मुलुकका लागि केही काम गरेनन् । त्यसैले यो मुलुक बन्न नसकेको हो भनेर हामीले धेरै लेखिसक्यौँ, बोलिसक्यौँ । तर, यसको उत्तर खोज्दै जाँदा हामीले चाहिँ आफ्नो तर्फ बाट मुलुकका लागि आजसम्म के गरेका छौँ त, अनि हामीचाहिँ कस्ता छौँ त ? कसैलाई सोधिरहनै पर्दैन । त्यो त हामीले हाँक्ने मोटरसाइकलको हँकाइबाटै सबै कुरा प्रष्ट हुन्छ ।

पाएसम्म सडकको नियम मिच्छौँ, त्यतिले पनि धित मरेन भने पैदल यात्रीका लागि छुट्याएको पेटीबाटै बाइक हुइँक्याउँछौैं । दुईजना मान्छे नछिर्ने गल्लीमा मोटरसाइकल हुइँक्याउन नपाए कानै खाने गरी हर्न बजाएर हिँडिरहेका मान्छेलाई तर्साउँछौं । त्यति गर्दा पनि मान्छेले बाटो नछोडे, खाउँलाझैं हेर्छौं । मिलेसम्म सडकमै बाइक पार्क गर्छौं । बायाँतिरबाट ओभरटेक गरेर बाइक हुँइक्याउनु त हाम्रो अधिकारजस्तै भइसक्यो । तैपनि हामी प्रधानमन्त्री ओलीले केही काम गर्दैनन् भन्न छाड्दैनौँ ।

हामीमध्ये धेरैलाई कुकुर पाल्ने सोख छ । जनावरमध्ये कुकुर मानिसका लागि सबैभन्दा असल र गुणी साथी मानिन्छ । त्यसैले, कुकुरका लागि हामी धेरै खर्च पनि गर्छौंं । हैसियतले भ्याएसम्म महँगो कुकुर किनेर पाल्ने हाम्रो चाहना हुन्छ । मर्निङ वाकमा जाँदा सकेसम्म कुकुरलाई सँगै लिएर हिँड्न मन पराउँछौं । कुकुरको एउटै खराब बानी भनेको दिसा–पिसाबले च्याप्यो नभनीकनै जहाँ मन लाग्यो त्यहीँ गरिदिने हो । आफ्नो कुकुरले बाटोमा गरेको दिसा सोहोरेर पन्छाइदिन हामीलाई मन पर्दैन । अझ आफूले पालेका कुकुरले दिसा–पिसाब फेर्ने समय थाहा पाएमा हत्त न पत्त आफ्नो कम्पाउन्डबाहिर लगेर मिलेसम्म छिमेकीको घरवरिपरि कुकुरलाई छोडिदिन्छौँ ।

फोहोर त सबैको घरमा दिनहुँ उत्पादन हुने कुरा हो । यो त भनिरहनै पर्दैन । तर, त्यो फोहोरलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा हामी नेपालीलाई जति अरु मुलुकका मानिसलाई थाहा होलाजस्तो लाग्दैन । दिनभरिको फोहोर प्लास्टिकको झोलामा हालेर अलि एकान्ततिर घर भए साँझ ७ बजेतिरै र अलि शहर वा बाक्लो बस्तीतिर घर परे बेलुकी १० बजेसम्ममा यसो दायाँ–बायाँ हेर्दै सडक वा कुनातिर फ्याँकेर घरभित्र कुलेलम ठोक्छौँ । बाहिर कतै जाँदा बीचबाटोमै पिसाबले च्यापेमा रूख वा बिजुलीको खम्बामा छेलिएर भित्तामा खोलै बगाइदिन्छौँ । अनि सुरुवालको इँजार वा पाइन्टको फस्नर मिलाउँदै सरकारलाई गाली गर्छौं ।

उता सडकमा ट्राफिक नियन्त्रण गर्न बसेका प्रहरी बर्दी लगाएर उभिएपछि आफू नागरिकका साथी हौँ भन्ने कुरा पनि बिर्सन्छन् कि के हो, अधिकांश ट्राफिक प्रहरी आफूलाई सडकको राजा नै सम्झेर सवारी चालकहरूसँग व्यवहार गरिरहेका देखिन्छन् । केही अपवादमा देखिएका बाहेक अधिकांश ट्राफिकहरू सवारी चालकहरूलाई हप्कीदप्कीको भाषामा व्यवहार गरिरहेका हुन्छन् । यो समस्या ट्राफिक प्रहरीमा मात्र होइन, अधिकांश पेसाकर्मीहरूको रोग नै बनेको छ ।

अदालततिर पस्दा वकिल र न्यायाधीशहरू आफूहरूबाहेक दुनियाँमा अरु कोही मनुष्य कानुनका ज्ञाता नै हुँदैनन् जस्तो गरी अर्ति–उपदेश दिइरहेका भेटिन्छन् । सरकारी कर्मचारीहरू त झन् छोई नसक्नु नै हुने रहेछन् । लामो समयदेखि सरकारी कर्मचारीहरूको हप्कीदप्कीबाट निराश बनेर बसेकी एकजना भाञ्जीको नागरिकता सच्याउनुपर्ने भएर केही समयअघि काठमाडौँ जिल्ला प्रशासनमा उनीसँगै सहयोगी बनेर जाँदा नागरिकता फाँटमा बस्ने एकजना सहायक सीडीओको हर्कत देख्दा जिल्लै परियो ।

उस्तै कमजोर मान्छे भए त मानसिक सन्तुलन नै गुमाएर फर्कनुपर्ने स्थिति थियो । उनको जङ्गली व्यवहार र चुरी–फुरी हेर्दा उनी आफूलाई स्थायी सरकारको पनि राजा नै सम्झेर बसेको भान हुन्थ्यो । सरकारी अस्पतालहरूका चिकित्सक–नर्सहरूको व्यवहारबाट आजित नहुने मुस्किलले कोही भेटे अर्कै कुरा भो ।

सार्वजनिक यातायातमा यात्रा गर्नुअघि लाइनमा बसेर सभ्य बन्दै गाडी चढ्नुपर्छ भन्ने कुरासमेत हामीलाई थाहा छैन । वृद्धवृद्धाहरूलाई समेत घचेट्दै ठेलमठेल गरेर सिटमा बसिसकेपछि ठूलै युद्ध जितेजस्तै गरी गमक्क पर्ने हाम्रो बानी नै परिसकेको छ । आफ्नो अगाडि थरथर काँपेर उभिरहेकी ८०–९० वर्षकी वृद्धालाई समेत नदेखेजस्तो गर्ने तर हुलमा कुनै युवती उभिरहेको देखेपछि भने ती वृद्धालाई ‘आमा बस्नुस्’ भन्दै आफू बिस्तारै तरुनीछेउ उभिन पुग्ने गर्छौं । यो लेख लेख्नुअघि बसभित्रको प्रत्यक्ष अनुभव गर्न काठमाडौंको रत्नपार्कबाट थानकोट जाँदा बसभित्र टेक्ने ठाउँ पनि थिएन । तर, सवारी चालकसँगैको एउटा सिट भने खालि रहेछ । सँगै उभिइरहेकी एकजना वृद्धालाई त्यहाँ ठाउँ दिन अनुरोध गर्दा चालकले खाउँलाभैmँ गरी झन्डै गाडीबाट ओरालेको ! एकछिनपछि सोल्टीमोडमा गाडी रोक्दा त्यहाँबाट चढेकी युवतीलाई ठाउँ दिन पो त्यो सिट खालि राखिएको रहेछ । कुन बस स्टेसनमा कतिखेर राम्री केटी गाडीमा चढ्छन् भन्ने कुरा लोकल बसका चालकहरूलाई कण्ठै हुने रहेछ कि क्या हो ? अहिले चलिरहेको ‘मी टु’ अभियानले उनीहरूलाई कतिको सजग गराएको होला, त्यो भने थाहा हुन सकेन ।

सार्वजनिक यातायात व्यवसायीबारे यति बुझेपछि ट्याक्सी ड्राइभर, ठेकेदार, म्यानपावर व्यवसायीहरूले देखाउने व्यवहारबारे धेरै शब्दहरू खर्च गरिरहनु आवश्यक पर्लाजस्तो लाग्दैन । इन्जिनियर, डाक्टर, प्राध्यापकजस्ता पढेलेखेका बौद्धिक व्यक्तित्वहरूबाट त आजकाल राम्रो व्यवहारको अपेक्षा गर्न सकिँदैन भने अन्य पेसाकर्मीको झन् कुरै भएन । समाजमा डरलाग्दो रूपमा पैmलिँदै गइरहेका यस्ता नकारात्मक व्यवहार र क्रियाकलापहरूलाई समयमै रोक्न सकेनौँ भने भविष्यमा यसले मुलुकलाई तबाह गर्न बेर लगाउँदैन । अरु त अरु, मीठो कुरा गरेर तालुखुइले ग्राहकलाई समेत काइँयो बेच्नुपर्ने व्यापारीहरूले पनि आजकाल ‘खाए खा नखाए घिच’ जस्तो व्यवहार गरिरहेका हुन्छन् भने अरुको के कुरा गर्ने ?

के उसो भए, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाभित्र हुने बेथितिहरूलाई इमानदारितापूर्वक उजागर गर्ने जिम्मेवारी बोकेका हामी पत्रकारहरू मात्र हाम्रो समाजका असल नागरिक हौँ त ? यो लेख लेखिरहँदा एउटा पुरानो सम्झना याद आयो । ‘पत्रकार आफ्नो पेसामा इमानदार र असल भइदिएका भए आज मुलुकको व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाजस्ता तीनवटै अङ्ग यसरी पङ्गु हुन्थे त ?’ भनेर नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास पुस्तकका लेखक स्वर्गीय ग्रीष्मबहादुर देवकोटाले यस स्तम्भकारसँग आफू बित्नु केही समयअघि प्रश्न गरेका थिए । उनी बितेको धेरै वर्ष व्यतित भइसक्यो । तर, आजका दिनसम्म आपैmँ पत्रकार भएर पनि यसको सही उत्तर खोजेर केही लेख्न सकिएको छैन ।

हामीले आजसम्म मुलकको राजनीति र वातावरण प्रदूषित भइरहेको कुरा मात्र देख्यौँ, लेख्यौँ । तर, हामी आफँैभित्र पैmलिरहेको प्रदूषणका बारे कहिल्यै बोलेनौँ, लेखेनौँ । अहिले हरेक व्यक्तिमा बढेको लोभलालच, मोह तथा व्यक्तिगत स्वार्थ, सुख–सुविधा भोगका कारण सिङ्गो मुलुककोे समाज प्रदूषित भइसकेको छ । आफूलाई फाइदा हुने वा आफ्नो स्वार्थ पूरा हुने भो भने हामी आफ्नै श्रीमतीलाई पनि धोका दिन पछि पर्दैनौँ । आफ्नै श्रीमान्लाई पनि गुमराहमा राख्न हिचकिचाउँदैनौँ ।

वृद्ध बाबा–आमालाई सन्तानले वृद्धाश्रममा लगेर राख्ने कुरा त फेसनजस्तो भइसकेको छ भने आफ्नो सन्ततिको भविष्यको बारेमा समेत हामीलाई चिन्ता हुन छाडिसक्यो । यति भएपछि समाजले के भन्छ, कसलाई के मतलब ? देख्छु, मान्छे भौतिक सुखका लागि बिहानदेखि पैसाको पछि लागेको लाग्यै छन् । असल र राम्रा कुरामा हैन, सम्पत्तिमा प्रतिस्पर्धा हुन थालेको छ, चाहे त्यो धन–सम्पत्तिको आर्जन गलत धन्दाबाट नै किन नहोस् । धन–सम्पत्ति मात्र पाउन पाए हामीलाई आफ्नै इज्जत–प्रतिष्ठाको समेत कुनै मतलब नहुने भइसक्यो ।

यी त भए जनताका कुरा ! त्यागी बनेर मुलुक र जनताको सेवामा समर्पित हुनुपर्ने अधिकांश नेताहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । आँखामा पट्टी बाँधेर न्याय–निसाफ दिनुपर्ने न्यायमूर्ति बिचौलियाको इसारामा न्याय–निसाफ दिन तम्सिन्छन् । सेनामा समेत भ्रष्टाचारका कुराहरू आइरहेका छन् । राष्ट्रको सेवक बनेर सेवाग्राहीको सेवा गर्नुपर्ने कर्मचारीहरूलाई २१औं शताब्दीमा पनि सरकारले ‘म भ्रष्टाचार गर्दिनँ’ भनी किरिया खुवाइरहनुपर्ने हो र ?

सबैतिरबाट पीडित भई आवाजविहीनहरूको आवाज बन्नुपर्ने पत्रकारितासमेत कि माफियाहरूको मुठ्ठीमा, कि राजनीतिक पार्टीको चङ्गुलमा परिसकेको छ । अरु त अरु, यी सबैलाई खबरदारी गर्दै हिँड्नुपर्ने नेपाली समाज याने कि बहुमत जनता नै देशको झन्डा नबोकी, राजनीतिक पार्टीको झन्डा बोकी आफ्नो कर्तव्य बिर्सेर खाली अधिकार मात्र खोज्दै हिँड्छन् भने कसरी बन्छ नेपाल ?

प्रतिक्रिया दिनुहोस्