मुलुक दुई अतिवादको चपेटामा



मंसिर ७ गते राजधानीमा ठूलै घटना हुने भय अहिले सर्वत्र देखिन्छ । कतिपयले त्यस दिन ठूलो रक्तपात हुने गफ दिने गरेका छन् । नेपालको राजनीतिमा आफूलाई जबरजस्ती स्थापित गराउन विभिन्न स्टन्टबाजी गर्दै आएका मेडिकल माफियाको उपमा पाएका दुर्गा प्रसार्इंले राजधानी केन्द्रित आन्दोलन गर्ने र राजतन्त्र एवं हिन्दूधर्म कायम गर्ने भन्दै देशभरका युवाहरुलाई उराल्न सामाजिक सञ्जालको प्रयोग गर्दै आएका छन् ।

उनलाई मुलुक बनाउनेभन्दा पनि मुलुकलाई डामाडोल पार्ने अभियानमा सक्रिय हुँदै आएको आरोप लाग्ने गरेको छ । उनको अस्थिर चरित्रका कारण कुनै पनि दलको प्यारो बन्न नसकेपछि फेरि राजतन्त्र स्थापनाको नारा लिएर उनी सडकमा उत्रिएका छन् ।

बैंक तथा वित्तीय संस्थालाई ऋण नतिर्ने घोषणा गरेर जथाभावी भाषण दिँदै आएका प्रसाईं अहिले नेपालमा सदियौंदेखि व्यापार व्यवसायमा संलग्न रहेका माडवारी समुदायलाई मुलुकबाट खेद्नुपर्ने अभियानसमेत चलाएर मुलुकमाथि नै आक्रमण गर्ने योजना बनाएको टिप्पणी जानकारहरुले गर्न थालेका छन् । कहिले माओवादी, कहिले एमाले, कहिले नेपाली कांग्रेससँग नजिक भएको बताउने प्रसाईं अहिले राजावादी भनेर स्थापित गराउन खोजिरहेका छन् ।

अहिले प्रसाईंको विगतको कालो पाटोलाई नबुझेका केही समूह उनलाई मानक मानेर हिँडेका छन् । दलीय व्यवस्थामाथि प्रहार गर्ने समूह सक्रिय भएर लाग्दा पनि दलहरु भने मौन अवस्थामा रहेका छन् । उनीहरुको मौनताको फाइदा उठाएर प्रसाईंहरुले मुलुकमा थप अराजकता र अस्थिरता निम्त्याउन खोजिरहेको बेला नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको नाममा काठमाडौंमा आउँदो बिहीबार प्रसाईंलाई टक्कर दिने नाममा हुन लागेको भेलाले मुलुकमा दुई अतिवादले प्रश्रय पाउने हो कि भन्ने आशंका उत्पन्न भएको छ । त्यसैले कसैले पनि आफ्नो स्वार्थका लागि मुलुकलाई तहसनहस बनाउने काम गर्न खोजे त्यस्ता तत्वलाई सबै नेपाली मिलेर तह लगाउन सक्नुपर्दछ । मुलुक कुनै अमुक व्यक्तिको फाइदाको रुपमा प्रयोग गर्न पाइँदैन । त्यसको सबैले जुटेर सामना गर्न सक्नुपर्दछ ।

चरित्र भएका प्रसाईंजस्ता व्यक्तिले आफ्नो अभिष्ट पूरा गर्न व्यक्त गर्दै आएको अभिव्यक्तिले समाजमा विभाजन ल्याउने निश्चित छ । अहिले छिमेकी मुलुकहरु नेपालमा अस्थिरता ल्याएर आफ्नो स्वार्थ पूरा गर्ने दाउमा लागिरहेकै बेला प्रसाईं र युवा संघको नाममा हुन लागेको गतिविधि मुलुकको हितमा छैन । त्यसैले पूर्वराजा ज्ञानेन्द्रका नाममा मुलुकमा हुने गतिविधि र त्यसले पार्ने प्रभावको जिम्मेवारी कसले लिने ? यो अहं प्रश्न हो । सत्ता फर्काउने दाउमा रहेका पूर्वराजाले पनि यसमा सोच्नुपर्ने बेला आएको छ । होइन भने फेरि जनताले ढिलो–चाँडो जवाफ फर्काउनेमा दुईमत छैन ।

प्रतिक्रिया दिनुहोस्