वीरगन्ज भन्सारको राजस्व संकलन सुधारोन्मुख



वीरगन्ज

मुख्य भन्सार नाका वीरगन्ज भन्सार कार्यालयमा राजस्व संकलनमा सुधार आएको छ । चालू आर्थिक वर्षको चार महिनामा राजस्व संकलन ७० प्रतिशत भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

चालू आर्थिक वर्षको साउन महिनामा वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलन लक्ष्य १५ अर्ब ६२ करोड रहेकोमा ११ अर्ब ८६ करोड राजस्व संकलन भएको छ । भदौ महिनामा १९ अर्ब ३८ करोड राजस्व असुली गर्ने लक्ष्य रहेकोमा १२ अर्ब ७१ करोड राजस्व संकलन भएको छ । त्यस्तै, असोज महिनामा २१ अर्ब ८४ करोड लक्ष्य रहेकोमा १४ अर्ब २७ करोड राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षको पहिलो ३ महिनामा ३९ अर्ब राजस्व असुली भएकोमा यस वर्ष कात्तिकको तेस्रो सातासम्म ४५ अर्ब राजस्व संकलन भइसकेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्म ७७ अर्ब राजस्व उठाउने लक्ष्य रहेकोमा करिब ७० प्रतिशत राजस्व संकलन भइसकेको भन्सार प्रमुख डिलाराम पन्थीले जानकारी दिनुभयो । चालू आवको पहिलो महिनामा ७६ प्रतिशत, भदौ महिनामा ६६ प्रतिशत र असोज महिनामा ६६ प्रतिशत राजस्व संकलन भएको छ भने कात्तिक महिनाको अन्तिम तथ्यांक भने आउन बाँकी रहेको भन्सार कार्यालयले जनाएको छ ।

वीरगन्ज भन्सार प्रमुख पन्थीले गत आर्थिक वर्षको पहिलो ३ महिनाको तुलनामा चालु आवमा राजस्व संकलन सुधार हुँदै गएको बताउनुभयो । वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनको मुख्य स्रोत सवारी साधनको जाँच पास, पेट्रोलियम पदार्थको आयात र उद्योगका लागि आवश्यक कच्चा पदार्थ नै हो । सवारी साधनमा सरकारले २ सय प्रतिशतसम्म मूल्य अभिवृद्धि कर लगाएको छ । पछिल्लो समय मुलुकमा देखिएको आर्थिक मन्दीका कारण गत वर्ष सवारी साधनको आयात ठप्प प्रायः थियो । चालू आर्थिक वर्षमा ४ सय सवारी साधनको जाँच पास भएको भन्सार प्रमुख पन्थीले बताउनुभयो । चालू आर्थिक वर्षको ४ महिनामा विकास निर्माणको काम शुरू नभएकोले पेट्रोलियम पदार्थको खपत भने सन्तोषजनक देखिएको छैन ।

प्रतिक्रिया दिनुहोस्