मधेशमा छठको रौनक, दुलही झैँ सिंघारिदै छठियाघाट



वीरगन्ज। 

तराई मधेशमा छठको रौनक छ । आइतबार अस्ताउँदो र सोमबार बिहान उद्याउँदो सूर्यलाई अर्ध दिएपछि यो वर्षको छठ समापन हुनेछ । छठ पर्व भने शुक्रबारबाट नै सुरु भइसकेको छ । छठका लागि अत्यधिक भक्तजनहरुको उपस्थिति रहने बीरगन्ज महानगरपालिकाको वडा नम्बर १० मा रहेको घडिअर्वा छठ पोखरी छठघाटको तयारी पूरा भएको व्यवस्थापन समितिले जनाएको छ ।

 छठ पूजा व्यवस्थापन समितिका सचिव लखनलाल साह कानुले छठघाट सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ‘ छठघाट व्यवस्थापन समितिका सचिव कानुले यो वर्ष छठघाटको सजावट र व्यवस्थापनमा करिब साढे १५ लाख ४१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । उनका अनुसार अहिलेसम्मको योजना अनुसार टेन्ट–पण्डाल, सजावट बत्ती, साउण्ड सर्भिसमा ७ लाख ५१ हजार, स्टेशनरी खर्च २२ हजार, अतिथि खर्च ७० हजार, सरसफाइ खर्च ६० हजार, प्रचार प्रसार खर्च ३५ हजार, भिडिओ ग्राफीमा ३५ हजार, पुरस्कारमा ४ लाख २८ हजार, बिजुली मिस्त्री १८ हजार, सूर्य मन्दिर कपडा सिलाई २ हजार ५ सय र चैती छठका लागि ७० हजार गरि कुल १५ लाख ४१ हजार ५ सय खर्च हुने अनुमान छ ।

सजावटसँगै सबैको सुरक्षामा भरपुर ध्यान दिइएको छ । व्रतालुहरुको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित अन्य स्वयंसेवक गरी करिब २ सय जना परिचालन गरिएको छठ पूजा व्यवस्थापन समितिको भनाइ छ । प्रत्यक्ष निगरानीसहित अन्य गतिविधिको निगरानीका लागि पनि छुट्टै सिसिटिभी जडान गरिएको छठ पूजा व्यवस्थापन समिति बताउँछ ।

 समितिका सचिव कानुका अनुसार यो करिब २० वटा सिसिटिभी क्यामेरा जडान गर्ने लक्ष्य लिइएको छ । यस्तै वीरगन्जका अन्य नदी तथा तलाऊहरुमा समेत छठको तयारी गरिएको छ । नगवा, मुर्ली लगायत ग्रामीण भेगमा रहेका पोखरी तथा नदीहरु दुलही झैँ सिंघारिएको छ । मधेशमा रहेका सबै समुदायले पछिल्ला दिनमा छठ पर्व मान्ने गरेका छन् । छठ सामाजिक,सांस्कृतिक सहित धार्मिक पर्वको रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्