सामाजिक सञ्जालको दुरुपयोग रोक



सामाजिक सञ्जालको प्रयोग नेपालमा कसरी हुने गरेको छ भन्ने विषयका बारेमा अहिलेसम्म कसैले पनि अध्ययन गरेको पाइँदैन । विभिन्न देशले सामाजिक सञ्जालको एप निर्माण गर्दा राखेको सोच र अहिले नेपालमा प्रयोग भएको सामाजिक सञ्जाललाई नजिकबाट हेर्ने हो भने आकाश–जमिनको फरक भएको पाइन्छ ।

नेपालमा सामाजिक सञ्जाललाई दुरुपयोग गर्नेहरुले बढी प्रयोग गरेको पाइन्छ । लोकतन्त्रमा जसलाई जे पनि भन्न छुट छ भन्ने नाममा अहिले राजनीतिक दलका नेता तथा आफूलाई मन नपरेका व्यक्ति वा समूहलाई बेपरबाह गालीगलौज गर्ने साधनको रुपमा सामाजिक सञ्जाल प्रयोग भएको पाइन्छ ।

नेपाली समाजले पचाउन नै नसक्ने खालका हर्कत र शब्दहरु अहिले सामाजिक सञ्जालहरुमा यत्रतत्र देखिने गरेका छन् । सरकार कमजोर हुँदा मनोरोगीहरुबाट यसको गलतरुपमा प्रयोग हुने गरेको छ । अहिले केही पात्रहरु यही सामाजिक सञ्जालको प्रयोग गरेर नेपालमा स्थापना भएको गणतन्त्रको घाँटी रेट्न उद्यत् हुँदा पनि सरकार भने चुप लागेर बसेको छ । यस्ता मनोरोगीहरुलाई समयमा नै कानुनी दायरामा नल्याउने हो भने यिनीहरुले गणतन्त्रको हत्या नगर्लान् भन्न सकिन्न ।

अहिले मुलुकमा स्थापित दलका नेताहरुलाई जे मन लाग्यो त्यही भनेर गाली गर्ने, पुष्टि नहुने संगीन आरोप लगाउनेहरुविरुद्ध ती दलका कार्यकर्ता तथा सरकार चुप बस्नुले पनि त्यस्ता तत्वहरुले प्रश्रय पाउँदै आएका छन् । दुर्गा प्रसार्इं, तारा बराल र डिल्लीराम खनालहरुजस्ता थ्ुप्रै व्यक्ति अहिले नेपाली जनताका आइकन बनेका छन् ।

उनीहरुले प्रयोग गर्ने गरेको शब्दले नेपाली समाजलाई कस्तो असर पारेको छ ? आउँदो पुस्तालाई हामीले के सन्देश दिन खोजेका छौं ? यस्ता विषयमा अहिलेदेखि नै गहनरुपमा छलफल हुन जरुरी देखिन्छ । अहिले सामाजिक सञ्जालमा प्रयोग भएका अश्लीलताले हाम्रो समाज कता जाँदै छ भन्ने प्रश्न उठेको छ ।

समाजलाई नै पाच्य नहुने हर्कत अहिले त्यस्ता सामाजिक सञ्जालबाट बेपरबाह प्रसारण हुनुले पनि सरकारलाई झकझक्याएको छ । आफ्नो अस्तित्व नभएकाहरु र समाजबाट बहिष्कृत भएकाहरुले सामाजिक सञ्जालको प्रयोगलाई दुरुपयोग गरी आफ्नो व्यक्तिगत कुण्ठा पूरा गर्ने कोशिश गरेको देखिन्छ । सामाजिक सञ्जालको प्रयोगलाई सरकारले समयमा नै नियमन नगर्ने हो भने यसले समाजमा पार्ने नकारात्मक असरले देशलाई नै विनाशको बाटोतर्फ लैजाने निश्चितप्रायः देखिन्छ ।

सरकारले समयमा नै सामाजिक सञ्जालको प्रयोगमा नियमन गर्नुपर्ने देखिन्छ । समयमा नै यसको प्रयोगमा नियन्त्रण नगर्ने हो भने यसले नेपाली समाजमा आर्थिक, सामाजिक, धार्मिक र जातीय द्वन्द्व निम्त्याएर नेपाली–नेपालीबीच फेरि विभाजन गर्ने तत्वहरुले टाउको उठाउने मौका पाउने भएकाले सामाजिक सञ्जाल प्रयोग गर्नेहरुले पनि संयमता अपनाउन जरुरी देखिन्छ । मिलेर बसेको नेपाली समाज भत्काउने अधिकार कसैलाई पनि छैन । त्यसरी समाजलाई नै असर गर्ने गरी सामाजिक सञ्जालको प्रयोग गर्नेहरुलाई सामाजिकरुपमा बहिष्कार गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्