दुई बिरामीको एकैचोटि शंकास्पद मृत्यु



काठमाडौं । 

ललितपुरको लगनखेलस्थित पाटन अस्पतालमा दुई बिरामीको एकैचोटि शंकास्पद मृत्यु भएको छ । अस्पताल भर्ना भएका दुई बिरामीलाई शनिबार दिउँसो ड्युटीमा रहेका नर्सले सुईमार्फत औषधि दिएको पाँच मिनेटभित्रै दुवैको मृत्यु भएको बताइएको छ ।

निमोनियाको उपचार गराइरहेकी ओखलढुंगाकी ९० वर्षीया जनमाया राई र निमोनियासँगै कलेजोको समस्याको उपचार गराइरहेका ललितपुरका ६८ वर्षीय कृष्णबहादुर नगरकोटीको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पताल प्रशासनका अनुसार मृत्यु भएका नगरकोटी कात्तिक १० मा र राई कार्तिक १६ मा उपचारका लागि अस्पतालको ज्येष्ठ नागरिक वार्डमा भर्ना हुनुभएको थियो । मृत्युपछि आफन्तहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीको लापरबाही भएको आरोप लगाउँदै आक्रोशित भएका छन् । सो क्रममा उनीहरुले डिउटीमा रहेका केही चिकित्सक तथा नर्सहरुमाथि हातपात तथा दुव्र्यहारसमेत गरेको बताइएको छ ।

अस्पतालका मेडिसिन विभागका प्रमुख प्राडा युवराज शर्माका अनुसार दुवै बिरामीलाई ‘सेफ्ट्रियाक्सोन’ र रगत पातलो गर्ने औषधि ‘हेपारिन’ चलाइएको थियो । दुवैलाई निमोनियाको गम्भीर संक्रमण भएकाले अक्सिजन दिएर उपचार भइरहेको थियो । नगरकोटीमा भने निमोनियासँगै कलेजोको समस्या देखिएको थियो । तर, उहाँको स्वास्थ्य अवस्था सुधार आउँदै गएकाले अक्सिजनसहित डिस्चार्ज गर्ने तयारी थियो ।

प्राडा शर्माले बिरामीको मृत्यु हुनुमा इन्जेक्सन नै मुख्य कारण नहुने भन्दै संयोग हुन सक्ने बताउनुभयो । उहाँका अनुसार यी दुवै औषधि सुरक्षित र भर्ना भएका बिरामीलाई सबैभन्दा बढी प्रयोग हुने औषधि हुन् । आइतबार ललितपुरको प्रहरी प्रशासनको रोहबरमा अस्पताल प्रशासन र बिरामीको आफन्तबीच छलफल भएको थियो ।

जुन छलफलबाट औषधि परीक्षण र मृत्युको कारण पत्ता लगाउनका लागि पोस्टमार्टम गरिने भएको थियो । सोही अनुसार सो ब्याचको औषधि परीक्षणका लागि पठाइएको प्रा.डा. शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ९० वर्षीया राईका आफन्तले आइतबार नै शव बुझेका छन् भने नगरकोटीको शव भने पोस्टमार्टम लागि अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्