संविधानको दोस्रो संशोधन एमालेको कारणले असफल भयो, पूरा गर्न बाँकी छ : रक्षामन्त्री खड्का 



भक्तपुर ।
उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनको चुनौती बाँकी रहेको बताएका छन्।

बागमती प्रदेश कार्यसमितिको प्रशिक्षण विभागले आज भक्तपुरमा आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी संगठनबीचको अन्तरसम्बन्ध एवं वर्तमान राजनीतिक चुनौती र भविष्य विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

संविधान जारी गर्दा दलहरुले संविधान सभामार्फत सिंगो नेपाली जनता र संसारका लोकतन्त्रवादीलाई दिएको विश्वास पूरा गर्ने प्रक्रिया बाँकी रहेको उनको भनाइ छ ।

उपप्रधानमन्त्री  खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार हुने हो कि भन्ने चिन्ता रहेको बताउँदै  संविधान संशोधन मार्फत संविधानलाई पूर्णता दिन सकिने उल्लेख गरे ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण विश्वास गर्ने दलहरूको अगाडि संविधान संशोधनको चुनौती बाँकी रहेको बताउँदै संविधानको दोस्रो संशोधनको प्रक्रिया नेकपा एमालेका कारण रोकिएको आरोप लगाए ।

उनले एमालेकै कारण संविधान संशोधनको दोस्रो प्रस्ताव असफल भएपछि संशोधनको प्रक्रिया आज पनि थाँती नै रहेको बताए ।  उनले भने ,‘संविधानको दोस्रो संशोधनको प्रक्रिया पनि शेरबहादुर देउवाको नेतृत्वमा तयारी गरेर प्रतिनिधि सभामा प्रस्ताव लिएर गएका थियौँ । त्यो प्रस्ताव अरू कसैको कारणले होइन एमालेको कारणले असफल भयो । त्यो असफल भएको संशोधनको प्रक्रिया आज पनि बाँकी छ,’ उपप्रधानमन्त्री खड्काले भने ।‘संविधानलाई विभिन्न बहानामा हल्लाउने कोसिस भइरहेको छ, त्यसप्रति सजग हुन आवश्यक छ,संविधानलाई भड्काउने कोसिस भएको संकेत देखिएकाले यसमा काँग्रेस जिम्मेवार बन्नु पर्दछ ।’

उपप्रधानमन्त्री खड्काले नेपाली कांग्रेसको काँधमा स्थानीय तहदेखि केन्द्रसम्मै मुलुकको नेतृत्व गर्ने र जनतामा छाएको निराशलाई आशा र विश्वासको वातावरणमा बदल्ने चुनौती रहेको बताए ।

जनप्रतिनिधिले स्वार्थभन्दा माथि उठेर काम गरे देखापरेका चुनौतीमाथि जीत हासिल गर्न सकिने बताउँदै अरुलाई दोष दिएर मात्र दोषमुक्त हुन नसकिने उल्लेख गरे ।

पार्टीभित्र संवाद र छलफलबाट बिभिन्न प्रकारले उत्पन्न भएका द्धैष र रीस रागलाई समाधान गर्न सकिने उनको भनाई थियो ।
काँग्रेस उपसभापति समेत रहेका उपप्रधानमन्त्री खड्काले पद प्राप्ति पछिको घमन्ड र अहङ्कार गर्न नहुने बताए ।

उनले कांग्रेसप्रति जनताको गुनासो बढ्न नदिन प्रत्येक नेता र जनप्रतिनिधिको व्यवहार र बोलीवचनमा सुधार गर्न आवश्यक रहेको बताए ।
हरेक दिन पार्टीका गतिविधि आम जनताले नियाली रहेको र मतदाताले हरेक पल परीक्षा लिइरहेको भन्दै पार्टीपंक्ति सच्चिन आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँ,काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा लगायतले पार्टीको गौरवपूर्ण विगत र भरोसायुक्त भविष्य रहेको बताए ।

बागमती प्रदेश अन्तर्गत १३ जिल्लाका पार्टी सभापति,प्रदेश समितिका पदाधिकारी ,प्रदेश सांसद,प्रदेश प्रतिनिधि र प्रदेश अन्तर्गतका स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागिता रहेको छ ।
एक दिने प्रशिक्षण कार्यक्रममा सहभागीलाई प्रशिक्षकहरु डा.सुरेश आचार्य,प्रा.कृष्ण खनाल ,डा.खिमलाल देवकोटा,डा.बुद्धिमान श्रेष्ठले प्रशिक्षण दिँदै छन्।

प्रतिक्रिया दिनुहोस्