आज घटस्थापना- दशैं शुरू



काठमाडौं । हिन्दूहरूको महान् पर्व बडादशैं आइतबारदेखि शुरू हुँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आइतबार बिहान घरघरमा जौ, मकै, गहँु आदिको जमरा राखी घटस्थापना गरेपछि यसपालिको दशैं शुरू हुनेछ ।

धेरैले बिहानको समयमा घटस्थापना गर्ने भए पनि साइतै खोज्नेहरूका लागि भने नेपाल पञ्चांग निर्णायक समितिले घटस्थापनाका लागि बिहान ११ बजेर २९ मिनेटको शुभसाइत तोकेको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म चल्ने यो पर्व दशैंलाई असत्यमाथि सत्यको विजयका रूपमा लिने गरिन्छ ।

घटस्थापनाको दिन पूजाकोठा, दशैंघर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रम्हाको पनि स्थापना गरिन्छ । घटस्थापनाका दिन पूजाकोठामा घंैटो अथवा घडामा जलभरि माथिपटि आँप, चाँप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडावरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँबाट ल्याइएको चोखो बालुवा या माटोमा जौ छरिन्छ । बिहानै उठेर नुहाइधुवाइ गरी चोखो भएर पूजाकोठामा बालुवा अथवा चोखो माटो राखी जौ र मकैको बीउ उमार्ने गरिन्छ । त्यहीनजिकै थालीमाथि सुनको प्रतिमा राखी नवदुर्गा थाप्दै १० दिनसम्म पूजा गर्ने गरिन्छ । कहीँकहीँ मकै र गहँुको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ ।

जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मनपर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको शास्त्रमा उल्लेख छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रूपमा लगाउने गरिन्छ । विभिन्न नौ देवीको पूजा अर्चनापछि दशमीका दिन त्यहाँबाट जमरा निकालिन्छ भने पूर्ण कलशको जलको अभिषेक पनि लिने चलन छ ।

यसै गरी, घटस्थापनादेखि नवरात्रभरि दुर्गा सप्तसती र चण्डी पाठ गर्ने चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बली दिई, हात हतियार र निशानको पूजा गरिन्छ । मैसासुर, रक्तविज, चण्डमुण्डलगायतका असुरको वध गरेकी दुर्गे भवानीको पूजा विसर्जन पूर्णपात्रो र दक्षिणा संकल्प गरी समापन गर्ने चलन रकिहआएको छ ।

प्रतिक्रिया दिनुहोस्