डिफेन्डिङ च्याम्पियनसँग न्युजिल्यान्डको बदला



काठमाडौं । डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डसँग न्युजिल्यान्डले मीठो बदला लिएको छ । आईसीसी विश्वकप क्रिकेटअन्तर्गत पहिलो खेलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई ९ विकेटले हराएको हो । यो जितसँगै न्युजिल्यान्डले इंग्ल्यान्डविरुद्ध गत विश्वकप २०१९ को फाइनलमा हारेको बदला लिन सफल भएको हो ।

अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा बिहीबार भएको खेलमा इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको थियो । टोलीका लागि जोए रुटले सर्वाधिक ७७ रन योगदान दिए । इंग्लिस टोलीका लागि यही एउटा मात्रै अर्धशतक थियो । न्युजिल्यान्डका बलरमा म्याट हेनरीले सर्वाधिक ३ विकेट लिएका थिए ।

यो २ सय ८३ रनको ठूलो लक्ष्य देखिए पनि न्युजिल्यान्डले यसलाई ३६.२ ओभरमा १ विकेटको क्षतिमा सहजै प्राप्त ग¥यो । त्यसो त ओपनर विल योंगलाई दोस्रो ओभरमा शून्यमा आउट गरेर इंग्ल्यान्डले राम्रो सुरुवात गर्ने छनक देखाएको थियो । यतिबेला न्युजिल्यान्डको स्कोर १० मात्रै थियो ।

तर, डेभन कोनवे र रचिन रवीन्द्रले दोस्रो विकेटका लागि दोहोरो शतकीय साझेदारी गरेपछि नै इंग्ल्यान्डको लागि खेलमा फर्कने सबै बाटो बन्द भएको थियो । इंग्लिस बलरको लागि यी दुवै बायाँ हाते खेलाडी समस्याको रूपमा नै उभिए । उनीहरूलाई कोही पनि इंग्लिस बलरले आउट गर्न सकेनन् । कोनवे र रवीन्द्रले शतक प्रहार गर्दै दोस्रो विकेटका लागि २ सय ७३ रन साझेदारी गरे ।

८३ बलमा शतकमा पुगेका कोनवेले करियरमा पाँचौं वान डे शतक प्रहार गर्दा यो विश्वकपमा उनी पहिलो शतक प्रहार गर्ने खेलाडी समेत बने । उनी १९ चौका र ३ छक्काको सहयोगमा १ सय ५२ रनमा नटआउट रहे । यो उनको वानडेमा उच्चतम रन पनि हो । यसअघि, उनको १ सय ३८ रनको उच्चतम प्रदर्शन थियो ।

यस्तै, रवीन्द्रले वानडे करियरमा पहिलो शतक प्रहार गर्न सफल भए । ८२ बलमा शतक प्रहार गरेका रवीन्द्रले १ सय २३ रन बनाएका थिए । रवीन्द्रले ११ चौका र ५ छक्का प्रहार गरेका थिए । उनी पनि नटआउट नै रहे ।

प्रतिक्रिया दिनुहोस्