नेपाल-चीन द्विपक्षीप सम्झौता सार्वजनिक



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ समकक्षी लि छियाङबीच भएको नेपाल–चीन द्विपक्षीप सम्झौता सार्वजनिक भएको छ । एक साता लामो चीनको औपचारिक भ्रमण गरी स्वदेश फर्कनुभएका प्रधानमन्त्री प्रचण्डले द्विपक्षीप सम्झौता शनिबार सार्वजनिक गर्नुभएको हो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले असोज ८ गते चिनियाँ समकक्षी लिसँग प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय भएको वार्ता र सहकार्यका विषयहरूमा छलफल भएको बताउनुभयो । भेटमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीन तर्फबाट प्रसारण लाइन निर्माण, नेपाल र चीनको सिमानामा रहेको भूभागमा केन्द्रीय विद्युत् प्रसारण प्रणालीबाट विद्युत्को पहुँच पु¥याउन नसकिने स्थानहरूमा सौर्य प्रणाली जडान, विभिन्न स्थानमा सडक निर्माण तथा सडक स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिडपछि अवरुद्ध भएका साथै परम्परागत सीमा नाकाको पुनः सञ्चालन, सीमा नाकामा नेपालतर्फ पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माणजस्ता पूर्वाधार विकासका बारेमा केन्द्रित भएको जानकारी दिनुभयो ।

समझदारी पत्रका मुख्य विषयहरू :

–हिल्सा–सिमीकोट सडक परियोजना र नेपाल–चीन पावर ग्रिड इन्टर कनेक्सन परियोजना
–शिक्षा, विज्ञान तथा नवीनताका क्षेत्रमा सहकार्य
–नेपालको राष्ट्रिय योजना आयोग र जनवादी गणतन्त्र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सहकार्य
–कृषि, पशुपन्छी तथा मत्स्यपालनका क्षेत्रमा सहकार्य
–शास्त्रीय महत्वका पुस्तकहरूको अनुवाद र प्रकाशनसम्बन्धी समझदारी
–हरित तथा न्यून कार्बन विकासका क्षेत्रमा सहकार्य गर्ने
–डिजिटल अर्थतन्त्रका क्षेत्रमा सहकार्य गर्ने
–नेपाली सरकारी कर्मचारीलाई तालिम प्रदान गर्ने
–नेपाल र चीनबीच परम्परागत नाकाका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार नाकाहरू चालू गर्ने
–नेपाल चीन व्यापार तथा भुक्तानीसम्बन्धी सहमतिको समीक्षा तथा परिवर्तनका लागि संयुक्त कार्यदल गठन गर्ने
–वनस्पतिमा आधारित औषधीजन्य सामग्री नेपालबाट चीनमा निर्यात गर्ने सम्बन्धमा बिरुवा स्वस्थता शर्तसम्बन्धी प्रावधान

समेटिएको प्रोटोकल :

–चिनियाँ पक्षबाट विपद् राहत सामग्री हस्तान्तरणसम्बन्धी पत्रको आदानप्रदान
–चिनियाँ सरकारबाट उपलब्ध गराइएका विभिन्न सामग्री हस्तान्तरणसम्बन्धी प्रमाणपत्र

सो भेटवार्तामा विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्विपक्षीय व्यापार विस्तार गर्ने, पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ शहरहरूबाट हवाई सेवा विस्तार गर्नेलगायतका विषयमा समेत गहन छलफल भएको प्रचण्डले बताउनुभएको छ ।

नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्गको मर्मत परियोजनाको चौथो चरण शुरू गर्ने, रसुवा स्याफ्रुबेँसी सडक मर्मतका लागि चिनियाँ पक्ष तयार हुनुका साथै हिल्सा–सिमीकोट सडकको सम्भाव्यता अध्ययन अघि बढाउन दुवै पक्ष सहमत भएको प्रधानमन्त्री दाहालले बताउनुभयो । दुवै पक्षले टोखा छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्र गतिका साथ अगाडि बढाउने कुरामा समेत सहमति जनाउँदै काठमाडौं चक्रपथ परियोजनाको दोस्रो चरणको कार्यान्वयनलाई तीव्रता दिने सहमति भएको जानकारी दिनुभयो । यसै गरी नेपाल–चीन रेलवे सहयोगका लागि कार्यदलको आठौं बैठक छिट्टै आयोजना गर्ने सम्बन्धमा छलफल भएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्